आईतवार, ७ बैशाख, २०८२

हिमपात र पहिरोले अवरुद्ध नाग्म-गमगडी सडक सुचारु, पर्यटक र स्थानीयलाई राहत

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए।

लगातारको हिमपात र वर्षापछि अवरुद्ध बनेको नाग्म-गमगडी सडकखण्ड संयुक्त प्रयासबाट पुनः सञ्चालनमा आएको छ। यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो।

सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो। तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले भने, “हामीले मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटायौं। निरन्तरको प्रयासपछि सडक सुचारु भएको छ।”

उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठूलो सहजता भएको छ।

प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए।

डिएसपी छेदिलाल कामतीले भने, “सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठूलो राहत मिलेको छ। हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ।”

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए। सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार