बुधबार, ४ असार, २०८२

बालविवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया: कान्छि प्यानलिष्टको रुपमा सहभागी हुँदा

मैले बङ्गलादेश र कर्णालीको तुलनात्मक अध्ययन प्रस्तुत गर्दै भनेँ, “हामीले यहाँ बालविवाह रोक्नका लागि कानुन मात्र बनाएर पुग्दैन, यो कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनाको जरुरी छ। हाम्रा बालबालिकाको हातमा किताब हुनुपर्छ, बिहेको माला होइन।”

जीवनमा कहिलेकाहीँ यस्ता अवसरहरू आउँछन्, जसले हामीलाई आफ्नो पहिचान र जिम्मेवारीको गहिरो बोध गराउँछ। मेरा लागि यस्तै एउटा अविस्मरणीय क्षण बन्यो, कर्णालीमा बालविवाह न्युनिकरणका लागि आयोजित अन्तरक्रिया कार्यक्रम।

प्यानल छलफलमा मसँगै संघीय सांसद सन्तोष परियार, प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, स्वास्थ्य निर्देशनालयका प्रतिनिधि करुणा भट्टराई र सहजकर्ता टेकराज आचार्य हुनुहुन्थ्यो।

त्यसैगरि राष्ट्रिय दलित आयोगका विज्ञ सुशील विक, प्रदेश सभाका सदस्य रणसिंह परियार, कलबहादुर हमाल, सन्तोषी शाही, तुलसा मल्ल, चुन्नी लामा, प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव पुष्पराज शाही, स्थानीय सरकारका प्रतिनिधिहरु, प्रहरी तथा अन्य सरकारी निकायका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु साझेदार प्लान ईन्टरनेशनल नेपालका ईर्शद अन्सारीलगायतको सहभागिता थियोे।

कार्यक्रम राष्ट्रिय दलित आयोगले आयोजना गरेको थियो, जहाँ म सबैभन्दा कान्छो प्यानलिस्टको रूपमा सहभागी हुने अवसर पाएँ। यो अवसर केवल एउटा औपचारिक सहभागिता मात्र थिएन, यो मेरो जीवनको एक यस्तो अध्याय बन्यो जसले मलाई मेरो विगत, वर्तमान र भविष्यको एउटा सुन्दर सङ्गममा पुर्‍यायो।

जुम्लाको एउटा सानो गाउँमा जन्मिएकी म, दलित समुदायको एउटी छोरी, जसको जीवन शुरुमा निकै सङ्घर्षमय थियो। सानै उमेरमा मैले समाजमा व्याप्त विभेद र असमानताको कठोर यथार्थ देखेकी थिएँ।

मेरो परिवारको आर्थिक अवस्था कमजोर थियो, तर मेरो मनमा सधैँ एउटा सपना थियो— आफ्नो समुदायका लागि केही गर्ने, आफ्नो गाउँका बालबालिकाको जीवनमा परिवर्तन ल्याउने। यो सपनाले नै मलाई जुम्लाबाट बङ्गलादेशसम्मको यात्रामा डोर्‍यायो।

बङ्गलादेशमा मैले त्यहाँको समाज, बालबालिकाको अवस्था र उनीहरूको जीवनशैलीलाई नजिकबाट नियाल्ने मौका पाएँ। त्यहाँको अनुभवले मलाई जीवनको अर्को आयाम देखायो र यो अनुभव नै कर्णालीको कार्यक्रममा मेरो सबैभन्दा ठूलो सम्पत्ति बन्यो।

कार्यक्रमको दिन म निकै उत्साहित थिएँ। कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा उत्क कार्यक्रम आयोजना गरिएको थियो। आज म यहाँ फरक भूमिकामा थिएँ। एउटा प्यानलिस्टको रूपमा, जसले यहाँका बालबालिकाको भविष्यका लागि आवाज उठाउनुपर्ने थियो।

कार्यक्रममा विद्यमान कानुन व्यवसायीहरू, सरोकारवालाहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरू सबै कर्णालीमा बालविवाहको समस्या समाधान गर्न र यहाँका बालबालिकाको संरक्षणका लागि प्रतिबद्ध देखिन्थे।

शुरुमा मलाई अलिकति डर लागेको थियो। मभन्दा धेरै अनुभवी र उमेरले ठूला व्यक्तिहरूको बीचमा म कसरी प्रस्तुत हुन्छु होला भन्ने चिन्ता मनमा थियो। तर जब मञ्चमा उभिएर बोल्ने पालो आयो, मैले मेरो डरलाई शक्तिमा बदलेर आफ्नो अनुभवहरु साँट्न थालेँ।

मैले बङ्गलादेशको अनुभव सुनाउन थालेँ। त्यहाँ मैले देखेको बालविवाहको स्थिति, बालश्रमको समस्या र ती समस्याले बालबालिकाको जीवनमा पारेको प्रभावबारे मैले विस्तृत रूपमा कुरा गरेँ। बङ्गलादेशमा धेरै बालबालिकाहरू गरिबी र सामाजिक दबाबका कारण सानै उमेरमा विवाह गर्न बाध्य छन्।

त्यहाँ मैले देखेँ, कसरी एउटी सानी बालिकाको हातमा किताबको सट्टा घरायसी जिम्मेवारी थमाइन्छ। कसरी उनको सपना र बालापन एकैचोटि खोसिन्छ। यो कुरा सुनाउँदा मेरो मन भक्कानिएको थियो, किनभने यो दृश्य मेरै गाउँका बालबालिकासँग पनि जोडिन्थ्यो।

त्यसपछि मैले कर्णालीको अवस्थाबारे बोलेँ। कर्णालीमा पनि बालविवाहको समस्या गहिरो रूपमा जरा गाडेर बसेको छ। यहाँको भौगोलिक कठिनाइ, शिक्षाको पहुँचमा कमी र परम्परागत सोचले यो समस्यालाई झन् जटिल बनाएको छ।

मैले बङ्गलादेश र कर्णालीको तुलनात्मक अध्ययन प्रस्तुत गर्दै भनेँ, “हामीले यहाँ बालविवाह रोक्नका लागि कानुन मात्र बनाएर पुग्दैन, यो कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनाको जरुरी छ। हाम्रा बालबालिकाको हातमा किताब हुनुपर्छ, बिहेको माला होइन।”

मेरो प्रस्तुति सुनेर त्यहाँ उपस्थित सबैले ताली बजाए। मलाई लाग्यो, मेरो कुराले उनीहरूको मन छोयो। त्यहाँका कानुन व्यवसायीहरूले मेरो कुरालाई समर्थन गर्दै यो समस्याको समाधानमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा मैले आफ्नो जन्मभूमि जुम्लाबाट बङ्गलादेशसम्मको यात्राको कथा पनि सुनाएँ। सानै उमेरमा दलित समुदायको एउटी छोरी भएर जुम्लामा हुर्कनु र त्यहाँबाट बङ्गलादेश पुगेर फर्कनु मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि थियो।

यो कुराले सबैलाई आकर्षित गर्‍यो। उनीहरूले मेरो कथामा आफ्नै समाजको प्रतिबिम्ब देखे। त्यसले मलाई अब हामीले समाजका लागि नयाँ दृष्टिकोण दिने तयारीमा लाग्न उत्साहित गरायो। हामीले बालविवाहलाई केवल समस्याको रूपमा मात्र होइन, हाम्रा बालबालिकाको भविष्यसँग जोडिएको मुद्दाको रूपमा हेर्नुपर्छ भन्ने लाग्यो।

कार्यक्रम सकिएपछि मलाई धेरैले बधाई दिए। कसैले मेरो साहसको प्रशंसा गरे, कसैले मेरो प्रस्तुतिको तारिफ गरे। तर मेरो लागि सबैभन्दा ठूलो पुरस्कार त्यो क्षण थियो।

हाम्रो बहसपछि धेरै अभिभावकले छोरीलाई पढाउँछु, उसको सपना पूरा गर्न दिने वपषयमा गहिरिएर सोच्नुहुनेछ भन्ने लाग्यो। हाम्रो यो सानो प्रयासले एउटा बालिकाको जीवनमा परिवर्तन ल्याउन सक्छ भने मेरो यो यात्रा सार्थक हुने ठानेकी छु।

यो कार्यक्रमले मलाई धेरै कुरा सिकायो। मैले बुझेँ, हाम्रो समाजमा परिवर्तन ल्याउनका लागि हामी सबैको सहकार्य जरुरी छ। कानुन व्यवसायीहरूले कानुनको पालना गराउनुपर्छ, सरोकारवालाहरूले नीति निर्माणमा जोड दिनुपर्छ र हामी जस्ता युवाहरूले आवाज उठाउनुपर्छ।

यो एउटा यस्तो मञ्च थियो, जहाँ मैले मेरो अनुभव मात्र साँटिनँ, मैले त्यहाँ उपस्थित र छलफलमा सहभागी भएका धेरैजनाबाट धेरै कुरा सिकेँ। उनीहरूको उत्साह, उनीहरूको प्रतिबद्धता र उनीहरूको आशाले मलाई थप हौसला दियो।

कर्णालीको यो यात्रा मेरो जीवनको एउटा सुनौलो पाना बन्यो। यहाँ मैले आफूलाई एउटा नयाँ रूपमा चिनेँ। म एउटी सानी छोरीबाट एउटा आवाज बनेकी थिएँ, जो आफ्नो समुदाय र बालबालिकाको भविष्यका लागि लड्न तयार छ।

यो अनुभवले मलाई मेरो जिम्मेवारीको गहिरो अहसास गरायो। मलाई थाहा छ, यो यात्रा लामो छ, तर यो शुरुवातले मलाई विश्वास दिलाएको छ कि हामी सही बाटोमा छौँ।

अन्तमा, यो कार्यक्रम मेरो लागि अन्तरक्रिया मात्र नभई मेरो जीवनको एउटा नयाँ अध्यायको शुरुवात थियो। कर्णालीका ती हिमालहरु, पहाडहरु, त्यहाँ बस्ने मानिसहरू र उनीहरूको आशाले मलाई सधैँ प्रेरणा दिइरहनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार