बिहीबार, ५ चैत्र, २०८२

कर्णालीमा डिजिटल प्रविधिबाट सामुदायिक स्वास्थ्य अनुसन्धानको थालनी

कर्णाली जस्ता दुर्गम भेगमा प्रविधिको यस्तो प्रयोगले स्थानीय स्वास्थ्य नीतिहरू निर्माण गर्न र समुदायको स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्नेछ।

नेपालमा पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य स्नातक (बी.पी.एच) र चिकित्सा स्नातक (एमबीबीएस) का विद्यार्थीहरूले सामुदायिक स्वास्थ्य निदान परियोजनाका लागि तथ्याङ्क सङ्कलनको डिजिटल विधि अपनाएका छन्।

विद्यार्थीहरूले मोबाइल एप ‘कोबोटुलबक्स’ को प्रयोग गरेर डेटा सङ्कलन गर्न थालेका हुन। जसले परम्परागत तरिकाको तुलनामा समय र स्रोतको बचत गर्दै अनुसन्धान प्रक्रिया सहज बनाएको छ।

सामुदायिक स्वास्थ्य अनुसन्धानका क्रममा विद्यार्थीहरू फिल्डमा गएर तथ्याङ्क सङ्कलन गर्छन्। अघिल्ला वर्षहरूमा यो प्रक्रिया कागजी फारमहरूमा भर पर्थ्यो, जसले गर्दा डेटा प्रविष्टि, भण्डारण र विश्लेषणमा धेरै समय लाग्ने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक उमेश अर्यालले बताए।

उनका अनुसार कोबोटुलबक्स एपको प्रयोगपछि अनुसन्धान सहज र प्रभावकारी बनेको छ। यो एप अफलाइन मोडमै पनि काम गर्न सक्ने भएकाले दुर्गम क्षेत्रमा समेत तथ्याङ्क सङ्कलनमा कुनै समस्या पर्दैन।

“यो प्रविधि तीन वर्षदेखि विद्यार्थीहरूले प्रयोग गरिरहेका छन्,” उनले भने, “उनीहरूले स्वास्थ्य, सरसफाइ, पोषण, बाल विकास, मातृ स्वास्थ्यजस्ता विभिन्न विषयमा तथ्याङ्क सङ्कलन गरी समुदायको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन तयार पार्ने गरेका छन्।”

कोबोटुलबक्सको प्रयोगले तथ्याङ्क सङ्कलन मात्र नभई विश्लेषण र प्रतिवेदन तयार पार्ने प्रक्रियालाई पनि सहज बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक ओम प्रकाश काफ्लेले बताए।

उनले भने, “यो प्रविधिको प्रभावकारीता देखेर हालै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा अध्ययन संस्थान (चअअसं) ले पनि यसको प्रयोग सुरु गरेको छ।”

उनका अनुसार यसले सार्वजनिक स्वास्थ्य क्षेत्रको अनुसन्धानलाई डिजिटल प्रविधिमा अघि बढाउने विश्वास गरिएको छ। सामुदायिक स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा अनुसन्धानकर्ताहरूलाई थप सहज हुन्छ।

कर्णाली जस्ता दुर्गम भेगमा प्रविधिको यस्तो प्रयोगले स्थानीय स्वास्थ्य नीतिहरू निर्माण गर्न र समुदायको स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण योगदान दिने सहप्राध्यापक अर्यालको बुझाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार