गाडीको इन्जिनको घर्रघर्र आवाज वर्षौँदेखि थिचिएको गाउँको चाहना थियो। पहिलो गाडी गाउँमा पुगेपछि, मानिसहरू विस्मयको आँखाले त्यसलाई हेरिरहेका थिए, अचम्म, अनौठो र अविश्वसनीय।
कर्णालीका डाँडाकाँडामा कैयौँ यस्ता गाउँ छन्, जसले विकासको सपना देखिरहे पनि भौगोलिक कठिनाइहरूले त्यसलाई परिपूर्ति गर्न दिएका छैनन्। तिनैमध्ये एक हो, तातोपानी गाउँपालिका -८ थलाले।
हिमालका उकाला घुम्तीहरू काटेपछि भेटिने यो गाउँ समयसँगै परिवर्तन हुँदै थियो, तर त्यो परिवर्तनलाई जोड्ने कुनै सहज बाटो थिएन।
मानिसहरू पैदलै दिनहुँ घण्टौँ यात्रा गर्न बाध्य थिए। बिरामी पर्दा भरिया खोज्नुपर्थ्यो, बजार जान दिनभरि लाग्थ्यो र हिउँदे याममा गाउँ नै थुनिन्थ्यो।

तर मंगलबार बिहान भने थलाले बासिन्दाका लागि छुट्टै थियो। गाउँका अग्ला बुट्यानहरूबाट धुलाम्मे भएर पहिलो गाडी उकालो चढ्दा, मानौँ थलालेको मुटु नै धड्किएको थियो।
त्यस गाडीको इन्जिनको घर्रघर्र आवाज वर्षौँदेखि थिचिएको गाउँको चाहना थियो। पहिलो गाडी गाउँमा पुगेपछि, मानिसहरू विस्मयको आँखाले त्यसलाई हेरिरहेका थिए, अचम्म, अनौठो र अविश्वसनीय।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईं गाडीबाट ओर्लिएर नजिकैका बृद्धबृद्धासँग हात मिलाउँदै रिबन काटे।
चुनाव प्रचारको क्रममा थलालेमा आफू पुग्न नसकेको प्रसँग सुनाउँदै गाउँपालिका अध्यक्ष चौलागाईंले भने, “थलालेमा गाडी नपुगुन्जेल म भौतिक रूपमा उपस्थित हुन्न भनेको थिएँ। त्यो पूरा भएको छ। थलाले विकासका लागि म प्रतिबद्ध छु।”

गाउँका बृद्धहरूले उनको हात समाउँदै टाउको हल्लाए, उनीहरूको आँखामा असिनपसिन हिँडेर बिताएका वर्षहरूको स्मृति उर्लिएको थियो।
सोही गाउँका नवराज शाही आफ्ना बाल्यकालका दिन सम्झन्छन्। जब स्कूल जानका लागि बिहानै उठेर भीरपाखा चढ्नुपर्थ्यो।
“बुबाले खसी बेच्न बाह्र घण्टाको बाटो पैदल हिँड्नुहुन्थ्यो। आमा बिरामी हुँदा अस्पताल लैजाने गाउँले खोज्नुपर्थ्यो,” उनले भने।
थलालेको यात्रा जहिल्यै पीडाले भरिएको थियो।

९ कक्षामा पढिरहेकी मञ्जु शाहीलाई त आफ्नै गाउँमा गाडी आउला भन्ने विश्वास नै थिएन। “यो त सपनाजस्तै लाग्यो,” उनले मुस्काउँदै भनिन्।
गाडीको आवाजले उनका भविष्यका सपनाहरूलाई पनि नयाँ ऊर्जा दिएको थियो।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले भने, “निकै ढिलो भए पनि अब स्थानीयबासीलाई सहज हुने र आवागमन सरल विश्वास छ। अब बाटो राम्रो बनाउन हामी कोसिस गर्नेछौं।”
सडक खोल्नु सजिलो थिएन। बीचमा उपभोक्ता समितिहरूको स्वार्थ टकराएको थियो।

“थलाले सडक ढिलो पुग्नुमा स्थानीय स्तरमा राजनीतिक नेताहरूको स्वार्थ पनि थियो। उपभोक्ता समितिमा स्वार्थ बढी देखियो,” तातोपानी–६ का वडा अध्यक्ष विशाल खड्काले भने।
तर अब, जब धुलाम्मे बाटोमा पहिलो गाडी पुग्यो, तातोपानी गाउँपालिकाका सबै गाउँहरू सडक सञ्जालमा जोडिए।
वडा अध्यक्ष नर बहादुर रावतले खुसी हुँदै भने, “आजसम्म थलालेबासी पछुतोमा थिए। अब आफूलाई भाग्यमानी सम्झिनेछन्।”
स्थानीय लाल बहादुर शाहीले गह्रुँगो सास फेर्दै भने, “दुःखका दिन गए।”
बाटो खुलेको छ, तर यात्रा अब बल्ल सुरु भएको छ। गाउँमा विकासका नयाँ सम्भावनाहरू खुलेका छन्।
व्यापार, रोजगारी, शिक्षा— यी सबै सहज हुनेछन्। थलालेमा पुगेका गाडीतिर हेरिरहेका बालबालिकाका आँखामा खुशी मात्रै थिएन, सपना पनि थियो।
सडक आएर मात्रै गाउँ बदलिँदैन। परिवर्तनको पहिलो पाइला तय भएको हो। अब थलालेको यात्राको अर्को गन्तव्य सुरु हुँदैछ, एक विकसित र आत्मनिर्भर गाउँतिर।
