राजनीति पेसा होइन। राजनीति मुनाफाको निम्ति गर्ने धन्दा होइन। यो देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने काम हो। कति राजनीतिक दलका नेताहरू राजनीति जोगी बन्न होइन भन्छन्।
सरकारी कर्मचारी भन्ने बित्तिकै झट्ट जताका सेवक हुन भन्ने ठान्छौं। तर त्यो हुन सकिरहेको छैन। ‘मेरो सरकारी जागिर हो, तैँले दिएको हो? के लछर पाटो लाउँदैनस्,’ जस्ता घुर्की लाएका उदाहरण व्याप्त छन्।
साधारण जनताले आवश्यक काम परेको बेला फोन गर्दा प्राय फोन अफ हुने, लागीहाले पनि फोन नउठ्ने सरकारी कर्मचारी र जनप्रतिनिधिको आम रोग नै हो। अर्को कुरा ग्रामीण क्षेत्रतिर संचार सुविधा नभएर सम्पर्क हुनै मुस्किल हुन्छ। फोन लागीहाले उठ्दैन।
फोनको अर्थ नबुझेर नै हो या जे गरेपनि हुन्छ भन्ने सोचेर हो, त्यो कुरा बुझ्न सकिरहेको छैन। अर्को कुरा पार्टीको जुनसुकै तहमा रहेका कार्यकर्ताहरू जनताका सेवक हुन्। कार्यकर्ताको काम जनताको सेवा गर्नु हो। राजनीतिक कार्यकर्ताहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ।
पार्टीको नीति, काम जनताको हितसित सम्बन्धित हुनुपर्छ र गल्ती भएमा सच्याउनुपर्छ। लडाइँमा हतियार महत्वपूर्ण हुन्छ, तर निर्णायक होइन। निर्णायक त जनता हुन।
कुनै सरकार या दल आफ्नो विचार र सिद्धान्तको आधारमा चलेको हुनुपर्नेमा कानुन विपरीत पार्टी र सरकार चलेको देखिन्छ। यो सबै व्यक्तिगत स्वार्थ बाहेक अरु देखिँदैन। नेपालमा जति दलहरु छन्। ती दलका सबै वर्गीय संगठन, राजनीतिक गतिविधि सिद्धान्त र विचार अनुसारमा चलेका छैनन्। यसकारण, मुख्य कुरा विचार नै हुन्छ। विचारमा खिया लाग्यो भने दल जतिसुकै ठुलो भए पनि त्यसले देशलाई दिशा निर्देश गर्न सक्दैन।
जनता नै इतिहासका निर्माणकर्ता हुन् भन्ने कुरा बुझ्न जरुरी देखिन्छ। वर्ग भएको समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ। वर्गीय समाजमा नौला र पुराना, सत्य र असत्य बीचको सङ्घर्ष कहिल्यै अन्त्य हुने छैन।
हामीले प्रत्येक कुरामा होसियारीपूर्वक सधैँ आफ्नो दिमाग या बुद्धि खियाउनुपर्छ र विचार गर्नुपर्छ भन्ने चलन छ।। निधार खुम्च्याइएमा जुक्ति फेला पर्नेछ। विचारको राजनीति जनताको निम्ति हो। राजनीति गर्नु भनेको भागबण्डा, पद र पैसाको निम्ति होइन भन्ने कुरा हेक्का राख्नु पर्नेमा राजनीतिक दल बेखबरझैं छ्न्।
राजनीति पेसा होइन। राजनीति मुनाफाको निम्ति गर्ने धन्दा होइन। यो देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने काम हो। कति राजनीतिक दलका नेताहरू राजनीति जोगी बन्न होइन भन्छन्।
हो, राजनीति देश र जनताको सेवा गर्न हो। अप्ठ्यारोमा परेका असाह्य अशक्त बेरोजगारलाई सहयोग गर्ने राजनीति गर्ने आम पार्टी कार्यकताको धर्म हुनु पर्ने हो। त्यो ठ्याक्कै विपरित छ। राजनीतिलाई आयआर्जन गर्ने पेसा या माध्यम ठानेसम्म त्यो शुद्ध राजनीति हुनेछैन।
शुद्ध राजनीति नभएकै कारण हाल राजनीतिप्रति जनताको विश्वास गुम्दै गएको हो। ठुला दलका विरुद्ध साना दलले बाजी मार्ने स्थिति बनेको होकि भन्ने मेरो ठम्याइ छ। ठुला दलले जनतामा मुद्दा सहजै लिन सकेनन् भने जनताले सत्ता र शक्तिलाई उल्टाइदिने गरेका कयौं उदाहरण छन्।
परिवर्तन गर्न र परिवर्तित समाज टिकाउन राजनीतिक चेतना र सांस्कृतिक स्तर महत्वपूर्ण हुन्छ। राजनीतिक चेतना भएन भने एकपटक बनेको ठुलो दल अर्कोपटक सानो हुने पक्का छ।
शासकहरूले जनतालाई राजनीतिक चेतना नदिएकाले देशमा कहिले नेपाली काँग्रेस, कहिले एमाले त कहिले माओवादी ठुलो दल बने। यसरी दलले प्राप्त गरेको सांसद या जनप्रतिनिधिको सिटमा धेरै थपघट हुनुको कारण जनतामा राजनीतिक चेतनाको कमी हो।
जनतामा राजनीतिक चेतना नभएकै कारण कति सर्वसाधारण जनता लोभ, भोज भतेरमा भुल्छन् र आफ्नो वर्गशत्रुलाई मतदान गर्न पछि पर्दैनन्।
हालसम्मकै खास कम्युनिस्टको विधि सिद्धान्ततिर हिँडेको नेपालमा एउटा पार्टी मात्रै लाग्छ। त्यो हो, नेपाल मजदुर किसान पार्टी। नेमकिपाले सिद्धान्त र विचारलाई जोड दिँदै आएको यथार्थ हो। समाजवाद र पुँजीवाद बीचको भेदबारे जनतालाई सुसूचित पार्दै आएको छ। नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा विचारको खण्डन पहिले देखि गर्दै आएको छ।
हालसम्म सत्ताको लागि लम्पसार गरेको देखिँदैन। उसलाई कुनै पद चाहिएको छैन। सिद्धान्त र विचार ठिक या सही भयो भने देश सही ढङ्गले अघि बढ्छ। दल पनि ठीक ढङ्गले अघि बढ्छ। तर, सत्तासीन दलका नेताहरूले सिद्धान्त र विचारको ख्याल नै गरेनन्। देशलाई मार्ग निर्देशन गर्ने दलका नेताहरू पद, पैसा र भागबण्डामा पल्केपछि देशमा कसरी सुशासनको अनुभूति हुन्छ?
हामी देश विकास भएन भन्छौं। मान्छेको चेतनाना विकास हुन जरुरी छ। एउटा योजनामा लाखौं कुम्ल्याउने मात्र विकास भएको देखिन्छ। राणा शासन देखि गणतन्त्र आयो। लोकतन्त्र आयो। घर घरमा सिंह दरबार आयो भनियो। तर दरबार काठमाडौंमै रह्यो, गाउँमा सिंह मात्रै आए।
देशको पक्षमा नेमकिपाको भूमिका कम छैन। नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रकाशस्तम्भको रूपमा बाटो देखाइरहेको छ। कम्युनिस्ट पार्टीको भूमिका निर्वाह गर्ने काम नेमकिपाले गरिरहेको छ।
समाजवादउन्मुख राज्य निर्माण गर्नेतर्फ सत्तासीन दलका नेताहरूको ध्यान गएन। लागु गर्नेतर्फ लागेको पनि देखिँदैन। सिद्धान्तहिन चुनावी गठबन्धन र सिद्धान्तहिन गठबन्धन, सरकार गठन, सिद्धान्त र विचारमा अडान नहुँदाको परिणाम हो। छलफल, बहस, अन्तरक्रिया र आन्दोलन गर्नु आवश्यक छ।
सिद्धान्त र विचारमा ध्यान नपुर्याउँदा देशको सिमा असुरक्षित भइरहेको छ। विदेशीको भरमा विकास गर्ने कुरा भइरहेको छ। देशलाई राम्रो बनाउने, नबनाउने, विकास गर्ने, नगर्ने सबै काम विचारमा भरपर्छ। यसकारण, देशमा वैचारिक सङ्घर्ष या अभियान आवश्यक छ।
सबै आन्दोलन या सङ्घर्ष आन्दोलन भए त्यहाँका जनता क्रियाशील हुन्छन्। आन्दोलनमा सहभागी हुन्छन् र सुसूचित हुन्छन्। हरेक नेपालीमा देशभक्तिको भावना आवश्यक छ। जनता सचेत र सङ्गठित नभइकन व्यवस्था खोक्रो भए पनि, बदनाम भए पनि अन्त्य गर्न सकिँदैन। अतः सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ। जनतालाई सचेत र संगठित गर्नुपर्छ।