शनिबार, २८ कार्तिक, २०८३

‘आधा अध्याय’ : काठमाडौँलाई वैचारिक चुनौती दिने कृति

जुम्लाको युवाले लेखेको वा जुम्लाको कुटीरो रिसर्च सेन्टरले प्रकाशन गरेको कारणले यो कुनै कुनाको पुस्तक होइन; बरु काठमाडौँलाई केन्द्र मान्ने हो भने काठमाडौँमै लेखनको हमला बोल्ने एउटा सशक्त पुस्तक हो।

जसरी हिमा नदीको बहाव एउटै खालको हुँदैन, कहिले वारि, कहिले पारि, कहीँ थुनिने त कहीँ अगाडि बढ्ने गर्छ; कहिले अर्कै सञ्चारभाव लिएर आउँछ, कहिले विपद् त कहिले धेरै खालका सन्देश लिएर आउँछ, त्यसैगरी म छोटोमा, तर हिमाको प्रवाहजस्तै गरेर आफ्नो भनाइ राख्नेछु। मेरो बोलाइको सुरुवात शुभकामना र बधाईभित्रै टुङ्गिने जस्तो देख्छु। किताबभित्र कहिले पस्छु थाहा छैन, तर पस्ने कोसिस गर्नेछु।

बधाई म दुई पक्षलाई दिन चाहन्छु। पहिलो बधाई लेखक लक्ष्मणजीलाई, किनकि उहाँ अब एउटा नेता, कांग्रेसको कार्यकर्ता, हिमा गाउँपालिकाको अध्यक्ष अथवा गाउँपालिका राष्ट्रिय महासङ्घको उपाध्यक्षका रूपमा मात्र होइन, आजदेखि एक सिद्धहस्त लेखकको लस्करमा समेत उभिनुभएको छ। दोस्रो, भर्खरै महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसलाई पनि म बधाई दिन चाहन्छु, किनकि उसले यस्तो लेखक र भर्भराउँदो युवा नेता निर्माण गरेको छ।

व्यक्तिगत रूपमा त मैले उहाँलाई चिनेकै थिएँ, तर यो किताब पढेपछि के जानेँ भने, गाउँ-गाउँसम्म सिद्धान्तप्रति प्रतिबद्ध र एकदमै व्यावहारिक यस्ता युवा कार्यकर्ता हुने हो भने नेपाली कांग्रेसको सिद्धान्त र व्यवहारमा विभिन्न चरणमा उतारचढाव आए पनि पार्टी आफ्नै गति र प्रवाहमा अगाडि बढिरहनेछ। केही समयअगाडि चलेको ‘जरा अभियान’ जस्तै जराबाटै यस्तो व्यक्तित्व निर्माण गरेकोमा र महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली कांग्रेसलाई पुनः बधाई दिन्छु।

आज आदरणीय सभापतिज्यूसँग भेट हुन्छ कि भन्ने अपेक्षा थियो, व्यस्तताले आउनुभएन होला। ठुलो खटनपटनका कारण यो बिचमा उहाँ बिरामी हुनुभयो भन्ने सुनेँ, उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

वास्तवमा यी दुई बधाई र शुभकामनाभित्रै मेरो मन्तव्य टुङ्गिसक्यो जस्तो लाग्छ। तर अगाडि उपस्थित साथीहरूको अनुहार र ड्यासमा आदरणीय नेतृत्वलाई देखिरहँदा, विशेषगरी लेखन क्षेत्रका धेरै साथीहरूसँग आज पुनः भेट हुँदा, मैले यसलाई हाम्रो पुनर्मिलनको अवसरका रूपमा पनि बुझेको छु।

तीनवटा अध्यायमा संरचित यो किताब मैले कुटीरोबाट अलि ढिलो प्राप्त गरेँ। महेशजीले अस्ति नै पीडीएफ पठाइदिनुभएको थियो, तर पीडीएफभित्र छिरेर पढ्नै मन नलाग्ने रहेछ। पुस्तकलाई सिरानीमा राख्न बानी परेका हामीलाई पीडीएफ पढ्न असहज हुँदो रहेछ। सूचना प्रविधिको यो जमानामा म प्रविधिमैत्री छैन भन्नु मेरो अज्ञानता त होला, तर मलाई यसरी भौतिक पुस्तक सिरानीमा राखेर, सुत्दै-ब्युँझँदै पढ्न नै एकदमै आनन्द लाग्छ।

भौतिक पुस्तक हिजो साँझ साढे आठ बजेतिर मात्र मेरो हात लाग्यो। विविध व्यावहारिक कामले गर्दा हिजो साँझ गतिलोसँग पढ्न भ्याइनँ। मध्यरातिसम्म अलिकति पढेँ, आज बिहान अलिकति पढेँ र मध्यबिहानदेखि अर्को कामको दौडधुप सुरु भएर म सिधै यहाँ आइपुगेँ। मैले अघि सुरुमै भनेजस्तै, हिमा नदीको गडगडाहटजस्तै गरी हतारमा सरसर्ती एक खालको ‘स्पिड रिडिङ’ गरेँ।

अब मलाई उहाँलाई आदरणीय लेखकज्यू भन्न मन लाग्छ। लक्ष्मणजीमा मैले व्यावहारिक गम्भीरता देखेकै थिएँ, ठाउँ-ठाउँमा उहाँको काम हेरेकै थिएँ र संवाद पनि राम्रै भएकै थियो। तर लेखन हेर्दा कुटीरोले यसमा राम्रो जलप लगाइदिएको र सम्पादनको गहिरो कला प्रयोग गरेको देख्छु। सँगसँगै, लेखकसँग त्यस्तो भावना, विचार र चिन्तन नभएको भए, जसरी खानीभित्र गतिलो धातु छैन भने जतिसुकै खने पनि केही निकाल्न सकिँदैन, उहाँभित्र लेख्ने गहिरो हुटहुटी र भित्री अभिव्यक्ति क्षमता रहेछ र त्यसैबाट उहाँले यो कृति तयार पार्नुभएछ।

कहीँ-कहीँ विषयवस्तु अलि अगाडि-पछाडि भएको र एउटै कुरा दोहोरिएको जस्तो पनि देखिन्छ। पहिलो अध्यायका केही कुरा अघिल्लैमा टुङ्ग्याएर अन्तिम अध्यायसम्म नपुर्‍याएको भए हुन्थ्यो कि जस्तो लाग्छ। पुस्तकको नाम ‘आधा अध्याय’ भए पनि मलाई भने यो पूरै अध्यायजस्तो लागिरहेछ। सायद ४० वर्ष नपुग्दैको जीवन भोगाइ भएकाले उहाँले यसलाई ‘आधा अध्याय’ भन्नुभएको होला।

२०४२ सालमा जन्मिएको, २०५२ सालतिरको भीषण आन्दोलन देखेको-बेहोरेको र २०६२/६३ को आन्दोलनमा सहभागी भएको एक युवाका रूपमा लक्ष्मणले आफूलाई आफै राजनीतिक कार्यकर्ताका रूपमा निर्माण गरेका रहेछन्। अघि हाम्रो नवनिर्वाचित महामन्त्रीज्यूले उहाँलाई नेतृत्वमा स्थापित गर्न पुर्‍याएको योगदानको चर्चा त गर्नुभयो, तर यो किताब पढ्दै गर्दा मैले के पाएँ भने लक्ष्मणले आफूलाई आफै नेतृत्वमा स्थापित गर्नुभएको रहेछ।

यसअघि मैले उहाँलाई गाउँपालिका अध्यक्ष वा नेपाली कांग्रेसको जिल्ला नेतृत्वका रूपमा मात्र चिनेको थिएँ। तर यो किताब पढ्दा उहाँले आन्दोलनको मैदानबाटै आफ्नो मेहनत, बुद्धि, बर्कत, इमानदारी र निरन्तरताले आफूलाई नेतृत्वका रूपमा निर्माण र विकास गर्नुभएको रहेछ भन्ने गहिरो बोध भयो। उहाँलाई आन्दोलनको मैदानमा पुग्न उत्प्रेरणा दिने विद्यालय, यहाँ उपस्थित शिक्षकहरू, अघिल्लो बा-आमा पुस्ता र त्यहाँको भूगोल तथा परिवेश नै मुख्य आधार रहेछन्।

पुस्तकका अन्य पक्षहरूमा अघि महेन्द्रजीले भन्नुभएका कुरामा म पूरै सहमत छु। पहिले मलाई लाग्थ्यो, यति ठुलो र पुरानो पार्टी, अलिअलि विरासत भएको पार्टीमा कतै ‘हुक’ लागेर वा ‘लिफ्ट’ चढेर उहाँ अगाडि आउनुभएको हो कि! तर होइन रहेछ, उहाँ त आफ्नै तरिका र परिश्रमले बनेको व्यक्तित्व हुनुहुँदो रहेछ।

त्यस बेलाको माओवादी जनयुद्धका बारेमा उहाँले पुस्तकमा त्यति धेरै उल्लेख गर्नुभएको छैन; केवल एउटा प्रसङ्गमा ‘गृहयुद्ध’ शीर्षक राख्नुभएको छ। माथि शीर्षकमै ‘जनयुद्ध’ शब्द राखेको भए म अझ खुसी हुन्थेँ। यही अवसरमा भनिहालौँ, जनयुद्ध कुनै एउटा पार्टी वा प्रचण्डले नेतृत्व गरेको समूहले मात्र लडेको लडाइँ थिएन; त्यो जनताले राजतन्त्रविरुद्ध लडेको लडाइँ थियो र त्यसको एउटा हिस्सा लक्ष्मण शाहीजस्ता युवाहरू पनि हुनुहुन्थ्यो।

कुनै न कुनै रूपले जनताका रूपमा उहाँको पनि त्यसमा योगदान थियो भन्ने मलाई लाग्छ। त्यसैले शीर्षकमा ‘गृहयुद्ध’ ठीकै भए पनि ‘जनयुद्ध’ भएको भए झन् राम्रो हुन्थ्यो। यद्यपि, भित्र लेखनमा भने लेखकले इमानदारीपूर्वक ‘जनयुद्ध’ शब्द नै प्रयोग गर्नुभएको छ। युद्धप्रतिको मेरो कुनै विशेष मोहले होइन, इतिहासको सत्यलाई सत्य नै भन्नुपर्छ भनेर मैले यो कुरा राखेको हुँ।

त्यसै क्रममा २०६२/६३ को आन्दोलनताका उहाँ कर्णाली प्राविधिक शिक्षालयमा पढ्दै हुनुहुन्थ्यो। केवल ओभरसियर बन्ने रहर मात्र लिएर सदरमुकाम खलङ्गा पुगेको भए सायद त्यतै लाग्नुहुन्थ्यो होला। तर हिमाको राजनीतिक रूपले मलिलो माटो र बुवाको काखको वातावरणले उहाँमा पहिल्यै राजनीतिक चेतना भरिसकेको थियो।

खलङ्गा गएपछि उहाँ आन्दोलनमा सक्रिय सहभागी भएको पुस्तकमा देखिन्छ। २०६२/६३ को संयुक्त जनआन्दोलनमा काठमाडौँमा जसरी गगन थापाहरूको गर्जन थियो, जुम्लामा लक्ष्मणजस्ता युवाहरूको गर्जन भएकै कारण शान्तिपूर्ण र सशस्त्र संघर्ष एकै ठाउँमा जोडिएर आजको लोकतन्त्र सम्भव भएको हो। यसमा उहाँको महत्त्वपूर्ण योगदान मैले पुस्तकमा देखेँ।

२०६२ देखि २०७२ सालसम्मको शान्ति प्रक्रिया पूरा गर्ने चरणमा पनि उहाँले आफूलाई राजनीतिक रूपले परिपक्व बनाउँदै लगेको अर्को अध्यायमा देखिन्छ। सम्पादकको इच्छा वा लेखकको योजना के हो, पुस्तकको उठान नै ४५ भोटले हारेको प्रसङ्गबाट गरिएको छ। म लेखकसँग सल्लाह गर्न चाहन्छु, सोझै जितबाट सुरु गरेको वा सरल रेखामा बगाएको भए पनि हुन्थ्यो कि! तर सरल रेखामा नबगाएकैले यो कृति साँच्चै मौलिक र हामीले पढेका अन्य संस्मरण तथा जीवनीहरूभन्दा फरक बनेको छ।

जुम्लाको युवाले लेखेको वा जुम्लाको कुटीरो रिसर्च सेन्टरले प्रकाशन गरेको कारणले यो कुनै कुनाको पुस्तक होइन; बरु काठमाडौँलाई केन्द्र मान्ने हो भने काठमाडौँमै लेखनको हमला बोल्ने एउटा सशक्त पुस्तक हो।

म पुनः नेपाली कांग्रेसको आदरणीय नेतृत्वलाई भन्न चाहन्छु, यदि तपाईँहरूसँग देशभरि लक्ष्मणजस्ता नेता हुने हो भने हामी अरू विचार बोक्नेहरूका लागि ठुलो चुनौती हुनेछ। यस्तो चुनौती दिन सक्ने युवा हुर्काउनुभएकोमा म फेरि पनि बधाई दिन चाहन्छु। उहाँले लेखेका कुराहरू यति अनुभवसिद्ध छन् कि कांग्रेसप्रतिको मेरो पुरानो धारणा नै बदलियो।

वामपन्थी आन्दोलनभित्र हुर्किएको हुनाले मलाई लाग्थ्यो, कांग्रेसमा सिद्धान्तको छलफल, तालिम-प्रशिक्षण र सङ्गठन नै हुँदैन; यो त केवल महाधिवेशन वा चुनाव आउँदा मात्र जाग्छ। तर होइन रहेछ, त्योभन्दा अगाडि नै जनतासँग भिजेर मेहनतपूर्वक काम हुँदो रहेछ। औपचारिक प्रशिक्षणभन्दा पनि जनतालाई प्रशिक्षित गर्ने र जनतासँग जोडिइरहने काम जरासम्मका नाति पुस्ताका युवा साथीहरूले गरिरहनुभएको रहेछ। त्यसैले पो कांग्रेसको रुख टक्क हरियो भएर आउँदो रहेछ भन्ने कुरा मैले बुझेँ।

श्रद्धेय सभापतिज्यूसँग भेट भएको भए मलाई यही कुरा भन्न मन थियो, लक्ष्मण शाहीको यो किताब यहाँबाट सोझै बस चढेर कर्णाली र जुम्लाका ६० वटा वडातिर मात्र नपुगोस्; बरु देशभरिका सबै वडा र कांग्रेसको जरा-जरासम्म पुगोस्। बीपीको नाति-पनाति पुस्ताको एउटा युवाले पार्टी र सङ्गठन निर्माणका क्रममा हार्दा निराश नहुने र जित्दा अहङ्कारी नहुने अनुभवसिद्ध कुराहरू यसमा लेखेका छन्।

यदि देशभरि कांग्रेसको जरा पुगेका ठाउँसम्म यो पुस्तक पुग्ने हो भने यसले ‘कसरी सङ्गठन गर्ने र कसरी कांग्रेस भइरहने’ भन्ने बारेमा राम्रो प्रशिक्षणको काम गर्नेछ। अर्को कित्तामा उभिएर मैले कांग्रेसलाई धेरै भन्नु त होइन, तर किताब पढेपछि इमानदारीपूर्वक लागेको सत्य मैले व्यक्त गरेको हुँ।

अस्ति चुनावको समयमा म पनि घुमफिर र अध्ययनका क्रममा जुम्ला पुगेको थिएँ, जहाँ मैले यस्तै हार्दिकता पाएँ। त्यतिबेला नेपाली कांग्रेसका तर्फबाट आदरणीय दीपबहादुर शाही उम्मेदवार हुनुहुन्थ्यो। लक्ष्मणजी र साथीहरूले मलाई ‘चुनावमा नआइदिनुस्’ भन्ने अनुरोध पनि गर्नुभएको थियो। तर म कसैलाई असर पार्न होइन, आफ्नै अध्ययनका लागि गएको थिएँ र आफ्नो तरिकाले अध्ययन गरेँ। त्यतिबेला छुट्न गएका कतिपय सन्दर्भहरू बल्ल यो किताबमार्फत पढ्न पाएँ।

राजनीतिमा रुचि राख्ने र अझै ‘आधा अध्याय’ बाँकी रहेका हामी सबैका लागि यो पुस्तक अत्यन्तै उपयोगी छ। जसरी बाइबल, त्रिपिटक र वेद ज्ञानका स्रोत हुन्, त्यसैगरी निरन्तर राजनीति गरिरहन चाहनेहरूका लागि लक्ष्मण शाहीको यो पुस्तक पनि अनुभवसिद्ध राजनीतिक शास्त्रको एक महत्त्वपूर्ण स्रोत हो।

आज बिहान किताब पढ्दै गर्दा एउटा क्षणमा म एकदमै भावुक भएँ, साँच्चै मेरो आँसु नै झर्‍यो। गौरव भाइ त यहीँ हुनुहुन्छ, उहाँको पनि सम्झना आइरहेछ। सँगै म भाइ सुरेन्द्रलाई पनि सम्झिरहेछु, जसको दसैँमा घर जाँदै गर्दा निधन भएछ। अघिल्लो चुनाव हार्दा सँगै भएका भाइ पछिल्लो चुनाव जित्दा सँगै नहुँदा, जितको खुसियालीबिच भाइको अभावमा लेखक लक्ष्मणमा परेको संवेदना मलाई आफ्नैजस्तो लाग्यो। म लक्ष्मणको ठाउँमा उभिएर निकै भावुक भएँ।

अहिले पनि म यहाँ सुरेन्द्र भाइको अनुहार खोजिरहेछु, तर देखिरहेछैन; उनको अभाव सधैँ खड्किरहनेछ। तैपनि पीडा र संवेदनालाई थामेर अगाडि बढ्नु हाम्रो बाध्यता र आवश्यकता दुवै हो। त्यसैले सिंगो परिवारलाई त्यही संवेदनाबाट शक्ति लिन आग्रह गर्दछु।

तपाईँहरू सबैले यो किताब नछुटाउनुहोला र बाहिर रहनुभएका साथीहरूलाई पनि पढ्न खबर गर्नुहोला। लक्ष्मण शाहीले लेखेको कारणले मात्र होइन, बरु बीपीको सिद्धान्तलाई पुस्तौँपुस्तासम्म जीवित राख्न चाहने र राजनीतिबाट सिक्न चाहने हरकोहीले यो पुस्तक पढ्नुपर्छ। मैले यसमा धेरै व्याख्या वा परम्परागत समीक्षाजस्तो ‘यहाँ गल्ती छ, यहाँ कमजोरी छ’ भनेर केलाउनेतिर लागिनँ, किनकि म हिमा नदी कुदेजस्तै सरसर्ती कुदेँ। किताब पढ्दा मभित्र जे स्वाभाविक भावना जाग्यो, त्यही व्यक्त गरेको हुँ।

कर्णाली तथा समग्र नेपाली साहित्यमा गतिलो योगदान गर्न सक्ने कुटीरोको सिद्धहस्त सम्पादकीय टिमसँग लेखकको राम्रो सहकार्य भएको रहेछ। पुस्तक गतिलो बन्छ भन्ने विश्वास त थियो, तर कस्तो बन्ला भन्ने अलिकति आशंका पनि थियो; पढेपछि त्यो आशंका हरायो, कृति साँच्चै स्तरीय बनेको छ। खालि तीनवटा अध्याय ठीकै भए पनि त्यसभित्रका छोटा-छोटा उपशीर्षक र उप-अध्यायहरूको सङ्ख्या अलि कम गरेर उस्तै-उस्तै प्रसङ्गलाई एकै ठाउँमा गाँसेर अलि लामा बनाएको भए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ।

जसरी बीपी कोइरालाका साहित्य पढ्दा त्यहाँबाट राजनीतिक चेतना ग्रहण गरिन्छ, लक्ष्मणजीको यो पुस्तक पढ्दा पनि म जीवनी पढ्दैछु कि कुनै वैचारिक किताब पढ्दैछु भन्ने अनुभूति हुन्छ। त्यसैले यो पुस्तक हामी सबैका लागि एउटा राम्रो प्रशिक्षण गाइड बन्न सक्छ।

पुस्तक लोकार्पणसँगै चाडबाडको शुभकामना आदानप्रदान गर्ने यो पुनर्मिलन समारोहका लागि लेखक र कुटीरो परिवारलाई पुनः शुभकामना दिन चाहन्छु। लक्ष्मणजीको लेखकीय जीवनको यो ‘आधा अध्याय’ मात्र भएकाले बाँकी अध्यायमा एउटा मात्र होइन, अरू धेरै पुस्तकहरू जन्मिने सम्भावना मैले देखेको छु।

अन्त्यमा, लक्ष्मणजीसँगको मेरो एउटा सानो प्रसङ्ग सुनाउन चाहन्छु। गत वर्ष मेरा एकजना विदेशी मित्रले ‘तिमी जुम्लाको कुरा गरिरहन्छौ, एकचोटि जुम्ला गएर शिक्षामा केही सानो काम गरौँ’ भन्नुभयो। खर्च र यातायातको झन्झटले प्रायः साथीहरू गुगल हेरेरै जुम्ला जान हिचकिचाउँछन्।

तर ती प्राथमिक तहका शिक्षक साथी अनौठा छन्, शुक्रबारको घण्टी बज्नेबित्तिकै टिकट काटेर नेपाल आइपुग्छन् र सोमबार बिहान स्कुल सुरु हुनुअगावै फर्किसक्छन्। उहाँले जुम्लामै केही गर्ने अठोट गरेपछि हामी सबै मिलेर विशेषगरी बालशिक्षासँग सम्बन्धित सयौँ पुस्तकहरू सङ्कलन गर्‍यौँ र ती पुस्तक काठमाडौँ आइपुगे।

जुम्लाको कुन ठाउँमा पुस्तकालय स्थापना गर्ने भनी सोच्दा मलाई ‘जुम्ला पस्ने ढोकैमा’ गरौँ भन्ने लाग्यो। त्यतिबेला म कुनै राजनीतिक दलमा थिइनँ र मलाई राजनीतिक पक्षपात गर्न पनि मन लागेन। शिक्षामा राम्रो रुचि भएको र व्यावहारिक रूपमा काम गरिरहेको व्यक्ति खोज्दै मैले लक्ष्मणजीलाई फोन गरेर सहकार्यको प्रस्ताव राखेँ। उहाँले अवसर जुटाइदिनुभयो र हामीले हिमामा एउटा राम्रो पुस्तकालय निर्माण गर्‍यौँ।

धेरै साथीहरूले नाग्मतिर वा हिमाको केन्द्रतिर राखेको भए हुन्थ्यो भन्थे, तर ‘गतिलो कुरा प्राप्त गर्न अलिकति कठिन पनि हुनुपर्छ’ भन्ने सोचले आधा-एक घण्टा हिँडेर जानुपर्ने अलि माथिकै ठाउँमा पुस्तकालय बनाएका छौँ। कोही जुम्ला जानुभयो भने लक्ष्मणजीसँग सम्पर्क गरेर त्यो पुस्तकालय अवलोकन गरिदिनुहोला। त्यहाँ बालशिक्षाका साथै समग्र ज्ञानका धेरै पुस्तक छन्, र अब ‘आधा अध्याय’ पनि त्यहाँ थपिनेछ भन्ने कामना गर्दछु।

अर्को एउटा स्मरण पनि सुनाइहालौँ, मेरो पुस्तक प्रकाशित भएपछि सबैभन्दा पहिले लक्ष्मणजीले नै फोन गरेर ‘दाइ, तपाईँको किताब निस्केको रहेछ, म केही सेट आफै किन्छु’ भन्नुभयो। राजनीतिक तथा अन्य हिसाबले टाढा रहे पनि उहाँ नै मेरो पुस्तकको पहिलो ग्राहक बन्नुभयो र उहाँले तिर्नुभएको रकमबाटै मैले प्रेसमा पहिलो चेक बुझाउन पाएको थिएँ।

त्यसपछि सोलुखुम्बुका असिम राईजीले एकमुस्ट धेरै प्रति किनिदिनुभएको थियो, जसले मलाई ठुलो आडभरोसा दियो। लेखकका पीडा कति हुन्छन् भन्ने कुरा अब स्वयं लेखक बनेपछि लक्ष्मणजीले अझ नजिकबाट अनुभूति गर्नुहुनेछ।

जुम्लामा शिक्षाको क्षेत्रमा उहाँले आफ्नै ठाउँबाट गतिलो काम गर्न खोज्नुभएको छ र त्यस अभियानमा थोरै भए पनि जोडिने अवसर दिनुभएकोमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार