पिठो निकासी गर्ने
घट्टको फन्कोभन्दा बढी
बेगन्ती फन्को लगाउँदै
अबेलाको खुसी टिप्न
बेगन्ती फन्कोसँगै
बैँस बरोबर दौडधुपमा छ।
पिठो निकासी गर्न
वेगमा दौडिरहेको
फन्कोभन्दा अतीव
खुसी टिप्न दौडधुप गरिराख्ने
बेहिसाब फन्को बेस्सरी वेगले फन्किन्छ।
बैँसको फन्को नडुब्दै
पिठोको बिस्कुन उखेर्न
हतपत अग्लो पगार उठाउँदा उठाउँदै
होचो भइसकेको बैँस
उब्जनीको बिस्कुन सुकाउँदा सुकाउँदा
अझ बुरालो भइदिन्छ।
अब कदापि सकिने छैन
उब्जनीको अग्लो पगार उठाउन,
सायद पगार उठाउँदा उठाउँदै
फेरि उठाउन नसक्ने गरी
बाढीसँग सती पुग्न सक्छ
पहिरोसँगै बग्न सक्छ
आगोसँगै खरानी बनिदिन सक्छ।
पिठो निकासी गर्ने फन्को
बुरालो बिस्कुन उखेर्न
फन्को लगाउँदा लगाउँदै
अग्लो नपुगी ढलिदिन सक्छ
बैँसको पगार।















