बिहीबार, १९ कार्तिक, २०८३

जुम्लामा संचालित भुवनसिंह–दीर्घबहादुर स्मृति भलिबलको उपाधि सशस्त्र प्रहरीलाई​

पूर्व भलिबल खेलाडी स्व. भुवनसिंह खत्री र स्व. दीर्घबहादुर खत्रीको स्मृतिमा आयोजित प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ। सरस्वती युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सुर्खेत उपविजेता बनेको छ।

जुम्लामा ​कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरीले १ लाख ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी र मेडल हात पार्‍यो। उपविजेता बनेको सुर्खेतको टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो। प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो।

​प्रतियोगिताको व्यक्तिगत विधातर्फ रमेश वि.क. सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, भरत वि.क. उत्कृष्ट सेटर, दीपेन्द्र शाह उत्कृष्ट डिफेन्डर, जीवनकुमार शाही उत्कृष्ट स्पाइकर तथा पृथ्वी तिरुवा उत्कृष्ट ब्लकर चुनिए।

​समापन समारोहका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ अघि बढाउने बताए। उनले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिताले टेवा पुर्‍याउने धारणा राखे।

​आयोजक सरस्वती युवा क्लबका अध्यक्ष भीमराज रावलले प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीबीच आपसी सद्भाव बढाउन मद्दत पुर्‍याएको बताए। क्लबका संरक्षक चेतन रावलले पूर्व खेलाडीद्वयको योगदानलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार