बचपन उतैकतै
बसेको छ जस्तो लाग्छ
गिट्टीबल र टाँगेलौरोसँग
कबड्डी दौडको होडबाजी हेर्दै।
गिट्टीबल हानेर भत्किएका
भग्नावशेष पुनर्निर्मित गर्न
बचपन खेलाउँदा खेलाउँदा
जिन्दगीको सुदूर यात्रा
त्यतै कतै थामिन पुगेछ।
समय फेरि फर्केर पुग्दैन भन्ने
जानकार हुँदाहुँदै
बेगिन्ती अभिलाषा
उतैउतै भागिरहन्छन्।
अब फर्केर पनि पुग्न छैन
गिट्टीबलसँगको जमातमा
टाँगेलौरोको बग्गी सवार गरेर
कबड्डीको दौडमा।
किनकि सौँराइका अल्पपला
गोठेरी पार्दै बचपनलाई पुगाउनु छ
नासो बनाएर गिट्टीबलहरू
नाम्जोमा बेरे जसरी
जिन्दगीको सुदूर यात्रामा
कोही कसैलाई भेटाउन।
















