बुधबार, १४ आश्विन, २०८३

अक्षर वार्ता ‘नेपाली गजललाई नेपाली बनाउने कुरा स्थानीय विम्ब, प्रतीक र संस्कृति हो’

जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्।

गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचनाभित्र लुकेका अनुभूति, विचार, संघर्ष, सपना र सिर्जनायात्रासँग पनि संवाद गर्नेछौँ।

महिनाको १५ र ३० गते प्रकाशित गर्ने भनिएको अक्षर वार्ता यहाँहरूको सल्लाह, सुझाव र प्रेमले प्रत्येक मंगलबार प्रकाशित गर्ने निर्णय गरेका छौँ। यो प्रेमका लागि हाम्रा पाठक स्रोताहरूमा धेरै प्रेम अनि आभार।

लामो समयदेखि गजलको खेती गरिरहनुभएका आदरणीय टक गुरुङसँग आज गजल गन्थन गर्नेछौँ।

अक्षर वार्ता With Madan मा यहाँलाई हार्दिक स्वागत छ। सुरुवातमै तपाईंलाई मन परेको तपाईंको गजल।

नमस्कार एवं धन्यवाद। म सिधै गजलमा गएँ!

मैले सोचे जस्तै गरे तिमीले के हुन्थ्यो
मेरै निमित्त गन्तव्य एक पल फेरे हुन्थ्यो

सम्झेर मलाई चिप्लो बाटो छेउको बुटा
पल्टिन खोज्दा कमसेकम हात समाते हुन्थ्यो

के बाध्यता थियो तिम्रो खोला नै त थिएनौ
बोलाउँदा तिमी एक पटक फर्किदिए हुन्थ्यो

को हौ भन्यौ मलाई दुनियाँको सामु तिमीले
मौन बसे के जान्थ्यो तिम्रो क्वै भन्ने हुन्थ्यो

टक लामो नङले आफैलाई गाह्रो पार्छ
ऊ त्यस्तै भ्रम हो तिम्रो लागि नपाले हुन्थ्यो

१. कसैले गजललाई प्रेमको भाषा भन्छ, कसैले पीडाको, कसैले शास्त्रीय संरचनाको। कसैले काफिया रदिफ मिलेपछि गजल भयो भन्छ, कसैले भाव र शिल्पको गहिराइ खोज्छ। तपाईंको नजरमा गजल के हो र के होइन?

गजललाई यसरी परिभाषित गर्नु भनेको मानिस भनेको हात मात्र हो वा कुनै अमूक अंग मात्र हो वा प्राण मात्र हो भने जस्तै हो। गजल खास संरचना भएको प्रत्येक शेरले भिन्न भिन्न कथा कहने बहुकथात्मक लघु काव्य हो। यसको अर्थ यसको आफ्नै विशेष किसिमको संरचना हुन्छ। जसमा काव्य तत्त्वले प्राण भर्छ। तसर्थ संरचना वा भावले मात्र गजल गजल हुँदैन। यी दुवैको समुचित मिलनबाट मात्र गजल बन्छ। अथवा काफिया, रदिफ, बहरका साथै भाव, शिल्प, विचार, आदि गजलका अपरिहार्य तत्त्व हुन्। गजललाई कविताको उपविधा मानिन्छ। अझ रोचक कुरा त गजलका प्रत्येक शेर आफैँमा पूर्ण कविता हो।

२. गजल लोकप्रियताको शिखर छोइरहेको छ। महफिल छन्, महोत्सव छन्, सामाजिक सञ्जालहरूमा गजल छन्, श्रोता छन्, नयाँ गजलकारको बाढी नै छ। तर एउटा असहज प्रश्न गरौँ—गजलको लोकप्रियता बढ्नु र गजलको साहित्यिक उचाइ बढ्नु एउटै कुरा हो?

साहित्य दुई प्रकारका हुन्छन्। एउटा बेस्ट सेलर र अर्को लिटरेरी जिनियस। यी दुवै भएको साहित्य लेख्न सके त्यो चमत्कारिक मानिन्छ। अर्को तिर कतिपय साहित्य समयमा बाँधिएका हुन्छन् भने कतिपय सर्वकालिक हुन्छन्। केही दिन अगाडि एक जना पाकिस्तानी दर्शनशास्त्रका विद्यार्थीले भनेको कुरा यस प्रश्नको उत्तरमा सान्दर्भिक हुनसक्छ। उनले ७–८ सय वर्षभन्दा लामो उर्दू शायरीको इतिहासमा दार्शनिक तवरले औँलामा गन्न सकिने शायर वा कविले मात्र योगदान दिएका छन् भनेका थिए। गजल धेरै लेखिँदैमा गजलको उचाइ बढ्दैन। अर्थपूर्ण, कालजयी र सर्वव्यापी भाव बोकेको हुनुपर्छ। यद्यपि जसरी फुटबल मनोरञ्जन, स्वास्थ्य र व्यावसायिक तवरले खेलिन्छन्। त्यसरी नै साहित्यमा पनि यो लागू हुन्छ। फुटबलमा दर्शक मात्र होइन, कनिष्ठ स्तरमा खेल्ने खेलाडीले नै वरिष्ठ स्तरकालाई हिरो बनाउँछन्।

३. हामीले नेपाली गजल लेखिरहेका छौँ कि नेपाली भाषामा उर्दू गजलको नक्कल गरिरहेका छौँ? हाम्रो कमजोरी कहाँ छ, अध्ययनमा, साधनामा, शिल्पमा, विषयमा कि मौलिक दृष्टिकोणको अभावमा?

भनिन्छ एउटा छोरा समाजमा स्थापित हुन बुबालाई मार्नुपर्छ। यसको अर्थ बुबालाई भौतिक रूपमा समाप्त गर्नु होइन। अपितु एउटा छोराको पहिचान बुबाबाट हुन्छ वा बुबाको कर्मबाट हुन्छ। छोराले आफ्नो छुट्टै पहिचान स्थापना नगरेसम्म सधैँ समाजले टोकिरहन्छ। यही हाल नेपाली गजलको छ। नेपाली भाषामा गजल उर्दू परम्पराबाट आएको हो। साथै नेपाली भाषामा विशेष गरेर अदालती भाषामा उर्दू/फारसी शब्दको ठूलो प्रभाव छ। यसकारणले पनि हामीलाई नेपाली गजलकारले उर्दूको नक्कल गरेको भान हुन्छ। अर्को तिर हाम्रा अग्रजहरूले आफ्नो कमजोरी लुकाउन नेपाली भाषामा असली गजल लेखिएकै छैन भन्ने तर्क गर्ने गरेकोले पनि भ्रम उत्पन्न भएको हो। हामीलाई राम्रो नेपाली भाषामा लेखिएको गजलका शेर कोट गर्न हीनताबोध हुन्छ। उर्दू परम्पराका शेर कोट गर्दा विशेष हुँ भन्ने जनमानसलाई लाग्छ भन्ने सोच छ। एक ठाउँमा आदरणीय जावेद अख्तरले भनेका थिए, गालिब भारतमा मात्र बन्न सक्छ। किनकि चिताको खरानीमा केही खोज्दै भन्ने पंक्ति लेख्न भारतमा मात्र सम्भव छ। यसैले नेपाली गजललाई नेपाली बनाउने स्थानीय विम्ब, प्रतीक, अलंकार, परम्परा, संस्कृतिले हो। नत्र भाव त सर्वव्यापी हुन्छ। प्रेम जहाँ पनि प्रेम नै हो। पीडा पीडा नै हो।

४. गजललाई स्वतन्त्र छोड्ने नाममा हामीले गजलको अनुशासन नै मारिरहेका त छैनौँ? अर्कोतिर शास्त्रीयताको नाममा गजललाई यति कठोर बनाइरहेका त छैनौँ कि नयाँ पुस्ता त्यसको ढोकामै पुगेर फर्कियोस्?

यो बडो सान्दर्भिक प्रश्न उठाउनु भयो। तर यो गजलमा मात्र लागू हुँदैन। समाज, राजनीति, धर्म, व्यक्तिगत स्वतन्त्रता सबैमा लागू हुन्छ। भर्खरै जेनजी आन्दोलनको वार्षिकी मनाइयो। यो आन्दोलन हुनुमा सामाजिक सञ्जालमाथि सरकारको नियन्त्रण एउटा प्रमुख कारण थियो। तर एक वर्ष नबित्दै सामाजिक सञ्जालमा यति अश्लील र अभद्र टिप्पणी आउन थाले कि मानिसहरूले सञ्जाललाई कडाइका साथ नियमन गरिनुपर्छ भन्न थालेका छन्। यसको अर्थ सबै खाले परिवर्तनले भलाइ गर्दैन। दर्शनशास्त्रमा एउटा पजल छ, जसलाई ‘सोरिटिज प्याराडक्स’ भनिन्छ। जसलाई हिप अफ स्यान्ड प्याडक्स पनि भनिन्छ। एउटा बालुवाको थुप्रोबाट एउटा बालुवाको कण झिकेर केही दुरीमा राख्यो भने बालुवाको थुप्रोलाई फरक पर्दैन। तर क्रमशः कणहरू झिक्दै गएमा बालुवाको थुप्रो एकदिन सकिन्छ। गजलको मामिलामा पनि यस्तो दिन आउन सक्छ। भन्न खोजेको कुरा परिवर्तन र प्रयोगको पनि सीमा हुनुपर्छ। यसो भन्दैमा गजलमा प्रयोग नभएका होइनन्। गजल प्रेमबाट ममता र क्रान्तिसम्म पुगेको छ। परिवर्तनको अर्थ पूर्णतया मेटाउनु होइन। गजल लोकगीत जस्तो सरर आउने विधा होइन, यसमा थोरै मेहनत गर्नुपर्छ नै। यसले अध्ययन, चिन्तन, साधना माग्छ। अहिलेको समाज द्रुत गतिमा चल्छ। मान्छेहरूलाई प्रवाहसँगै हिँड्न नसके बेकामे भइने चिन्ता छ। तसर्थ आँखा चिम्लेर कुदिरहेका छन्। यसैले थोरै मात्र अड्चन आए गुनासो गर्न थाल्छन्। केही नगरी पाएको उपलब्धि होइन। भिख पाउन पनि माग्नुपर्छ। मेहनतलाई दुःख भनेर परिभाषित गर्नु हुँदैन।

५. आजभोलि गजलका कार्यक्रम धेरै छन्। एउटै पुस्ताका, एउटै समूहका र एकअर्कालाई प्रशंसा गर्ने गजलकारहरू बारम्बार एउटै मञ्चमा देखिन्छन्। के हामीले गजलको उत्सवलाई गजलकारहरूको नेटवर्किङमा सीमित गरिरहेका छौँ?

अहिलेको जमाना मिडिया र मार्केटिङको छ। साथै हिजोका दिनमा केही सीमित व्यक्तिहरू पढेलेखेका हुन्थे। ज्ञान बेचिने होइन बाँडिने कुरा थियो। त्यति बेला सही चिजको मात्र प्रवर्द्धन गरिन्थ्यो। आजकल खानामा मिलावट छ। खाना स्वास्थ्य र पोषणभन्दा स्वादका लागि खाइन्छ। या बसिबियाँलो नै खाने पनि हुन्छ। भ्यूजका लागि खाने पनि प्रशस्त छन्। वास्तविकभन्दा देखावटी बढी छ। सामाजिक सञ्जालमा भ्युज पाउन भर्खर त्रिशूलीमा आएको बाढीको भिडियोमा ज्यानै जोखिम हालेको पनि देखियो। त्यसकारणले एक अर्काको आङ कन्याउने यो प्रवृत्ति देख्दा नौलो लाग्दैन। उदेकलाग्दो त कतिपय पुराना, ठूला, अग्रजहरू नै यस्तो गर्न अग्रपंक्तिमा देखेको छु। अर्को कुरा अहिले सहीभन्दा कसको समर्थन बढी छ भन्ने हेरिन्छ। अर्को कुरा विभिन्न कार्यक्रममा गजलकारले ताली बजाऊ भनेको देखिन्छ। हाम्रा साथीहरू एक कदम अगाडि बढेर २०–३० जनालाई तोकेर काम दिने पनि गर्छन्। समयानुकूल थोरै मार्केटिङ ठिकै हो तर भद्दा प्रदर्शन ठिक होइन। यसका लागि तपाईँहरूजस्ता सचेत वर्गले यसरी नै कानसिरीको रौँ तानिराख्नुपर्छ।

६. अझ सीधा प्रश्न—नेपाली गजलमा ‘गुट’ छ? यदि छ भने, त्यसले सर्जक जन्माइरहेको छ कि सर्जकलाई छानिरहेको छ?

सोझै भन्दा नेपाली गजलको क्षेत्रमा तीन प्रकारका प्रवृत्तिहरू छन्। १) स्वच्छ साहित्य सेवा २) व्यक्तिगत मनोरञ्जन ३) स्वप्रवर्द्धन

अब तपाईँले ठ्याक्कै भन्न सक्नुहुन्छ गुट जन्माउने प्रवृत्ति कुन हो। आफू चर्चाको केन्द्र बनोस् भनेर गजल लेख्ने वा कार्यक्रम गर्ने वा नेपाली गजलमा यो फलानोले भित्र्याएको भनाउन प्रयोग गर्नेहरूबाट गुट बनेका छन्। गुटको शाब्दिक अर्थ नै निश्चित स्वार्थका लागि बनाइने समूह हो। तर साहित्यलाई सेवाको रूपमा अगाडि बढाउने जमात पनि ठूलो छ।

७. गजलमा विकृति कसले जन्माइरहेको छ? हामी बहर मिल्यो कि मिलेन, काफिया शुद्ध भयो कि भएन, रदिफ ठीक छ कि छैन भनेर लामो बहस गर्छौँ। तर गजलभित्रको मान्छे, उसको वर्ग, लैङ्गिकता, श्रम, पीडा, अपाङ्गता, बुढ्यौली, विस्थापन र सीमान्त जीवनबारे कति बहस गर्छौँ?

गजलमा विकृति कसले जन्माइरहेको छ भन्नु सही प्रश्न होइन किनकि गजलमा जे हुँदैछ त्यो गजलको कुरा होइन। यो दार्शनिक/सांस्कृतिक कुरा हो। सन् ६०–७० को दशकमा ज्याक डेरिडाले विनिर्माणको कुरा गर्न थाले। जसले पुराना स्थापित मान्यतामाथि प्रश्न गर्ने, समालोचना गर्ने नयाँ परम्परा स्थापित गर्‍यो। यसको प्रभाव राजनीति, कानुन, लैङ्गिकता, व्यक्तिगत सम्बन्ध, धर्म सबैमा परेको छ। फलस्वरूप गजलमा पनि नयाँ नयाँ प्रयोग भए। प्रश्नको दोस्रो भागको सम्बोधन गर्छु। पहिलो कुरा हाम्रा जति पनि गजल लेख्न सिकाउने पुस्तक मैले पढेँ। ती प्राविधिक पक्ष केन्द्रित पाएँ। अथवा गजलको संरचना केन्द्रित छन्। अथवा काफिया/रदिफ/बहरबाट माथि उठ्न नसकेको भेटेँ। त्यसैले नयाँ गजलकारहरूलाई धेरै समय अल्मल्याएको छ। थोरै जानकारी हुनासाथ गुरु बनाईन्छ। गजलले गजलभन्दा बढी गुरु उत्पादन गरेको छ। बहर/काफिया/तकाबुललाई हाउगुजी बनाइएको छ वा बनेका छन्। यो परिस्थितिबाट छिटो नवशिकारुहरूले पार पाओस् भनेर मैले ‘गजलाभूषण’ पुस्तक लेखेको हुँ। जसमा गजलमा प्रयोग हुने अधिकाधिक पक्षबारे चर्चा गर्ने प्रयास गरेको छु।

८. गजलको शिल्प सुन्दर भएर मात्रै पुग्छ कि त्यसले संसारलाई हेर्ने दृष्टि पनि सुन्दर बनाउनुपर्छ?

शिल्प र दृष्टिकोण अलग अलग होइनन्। एउटै सिक्काका दुई पाटा हुन्। शिल्प मूर्त हुन्छ भने दृष्टिकोण अमूर्त हुन्छ। कल्पनालाई शब्दको माध्यमबाट मूर्तरूप प्रदान गर्ने काम शिल्पले गर्छ। शिल्प जति राम्रो भयो प्रस्तुति त्यति नै सुन्दर बन्छ। मूल कुरा तपाईँको प्रश्नले भन्न खोजे जस्तै साहित्यले समाजलाई सकारात्मक बाटोतर्फ लैजाने प्रयास गर्नुपर्छ। यसमा सोचलाई साकार पार्न उच्च स्तरको शिल्प आवश्यक पर्छ। यो कोरा मनोरञ्जनको माध्यम मात्र बन्नु हुँदैन।

९. असहज प्रश्न; रूढीवादी सोच बोकेको उत्कृष्ट शिल्पको गजल र कमजोर शिल्पमा लेखिएको प्रगतिशील गजलमध्ये तपाईं कुनलाई साहित्यिक रूपमा उत्कृष्ट मान्नुहुन्छ? किन?

हामीले बुझ्नुपर्ने कुरा के हो भने हरेक रूढीवादी कुरा नराम्रो हुँदैन र हरेक प्रगतिशील भनिने कदमले मुक्ति दिँदैन। सन्तुलन जरुरी छ। जस्तो : हाम्रो नेपाली परम्परामा बाबुबाजे वा मान्यजनलाई ढोगिन्छ। पश्चिमी देशमा यो प्रचलन छैन। मान्यजनलाई सम्मान गर्नु खराब हो ? होइन। सतीप्रथाको विरोध प्रगतिशील हो तर लैङ्गिक द्वन्द्व होइन। तसर्थ पहिला हामीले रूढीवादी र प्रगतिशीलको शल्यक्रिया गर्नुपर्छ। अनि मात्र शिल्पको कुरा आउँछ। निश्चित रूपमा खराब कुरालाई उत्कृष्ट शिल्पमा लेख्दैमा असल हुँदैन। किनकि प्रधान कुरा उद्देश्य हो। वास्तविकता के हो अहिले यति धेरै गलत जानकारी फैलाइएको छ कि सही र गलत छुट्याउन कठिन छ।

१०. असहज प्रश्न: तपाईं देश छोड्नुभएको हो, कि देशले तपाईंलाई छोड्न बाध्य बनाएको हो? तपाईँका प्रकाशित सङ्ग्रह कुन–कुन छन् ? प्रकाशन गर्न कत्तिको सहज रहेछ? सङ्ग्रह प्रकाशन गर्दाका कथा सुनाउनु हुन्छ? र गजल ।।

यो मेरा लागि सरल प्रश्न हो। यो देशले मलाई छोड्न बाध्य पारेको होइन। मेरो बुबा ब्रिटिसे लाहुरे हुनुहुन्थ्यो। तथापि बुबाले मलाई सधैँ विदेश जानु हुँदैन। नेपालमा नै बस भन्नु हुन्थ्यो। तीन सन्तानमध्ये म एक्लो छोरा हुँ। नेपालमा जागिर थियो। मेरा साथीहरूले धेरैजसो नेपालमा नै हुनुहुन्छ। कतिपय उच्च तहमा छन्। सन् १९९० पछि परिवेश नै विदेशिने थियो। तर विदेश जान्छु भनेर सोचेर गएको होइन। म नियतिलाई मान्ने मान्छे होइन तर यसलाई त्यो क्याटेगोरीमा राख्न सकिन्छ। फर्किन किन सकिएन भन्ने प्रश्न चाहिँ सान्दर्भिक हुन्छ। आउन जति सजिलो छ फर्किन त्योभन्दा कठिन। यसबारे कुनै दिन चर्चा गरौँला।

मेरो अहिलेसम्म तीनवटा पुस्तक प्रकाशित भएका छन्। अनाहत (२०७५) र टक (२०८२) गजल संग्रह हुन् भने गजलाभूषण (२०८२) : सैद्धान्तिक र अभ्यास पुस्तक हो।

मेरा पुस्तक व्यक्तिगत खर्चमा प्रकाशित भएका हुन्। तसर्थ त्यस्तो समस्या भएन। यद्यपि आजकल फाट्टफुट्ट प्रकाशकहरूले प्रकाशित गर्ने पनि गर्छन्। मेरो पहिलो पुस्तक अनाहत प्रकाशन गर्ने बेला धेरै लेखियो अब किताब प्रकाशन गर्नुपर्छ भनियो। तर कसले गर्ने भन्ने प्रश्न खडा भयो। समाधानस्वरूप हामीहरू गजल लेख्नेमध्ये सबैभन्दा कलमले होइन उमेरले दिन खाएको म हुनाले मैले प्रकाशन नगरी अरूले के गर्ने भन्ने तर्क आएपछि प्रकाशित गरेको हुँ। पछाडि फर्केर हेर्दा ठिकै गरेछु जस्तो लाग्छ। मेरो पछि धेरै भाइहरूका किताब प्रकाशित भए।

गजल :

भन्दै भन्दैन ज्यान जाला उसले ऊ को हो
मैले पनि जानाजानी सोधेको साँचो हो

उही कुरा ऊ सुनाइरहन्छ भेटेकै पिच्छे
मैले पनि भन्दिन्छु सधैँ ए ! यो यस्तो पो हो

एउटा विवेक अर्को जिब्रो बेच्नेमा पर्छौ
आपसमा यस्तो उस्तो नभनेकै राम्रो हो

सस्तो तरकारी ठिक रे सस्तो साहित्य बेठिक
मान्छेको मापदण्ड पनि कस्तो हो कस्तो हो

मेरो अनुहारमा समयले यसरी हिँडेको छ
मेरो फोटोलाई सोध्छन् मेरै फोटो हो ?

११. नेपाली गजलमा प्रेम, विरह, धोका र सम्झना अत्यन्त लोकप्रिय छन्। तर देशमा बेरोजगारी छ, श्रमिक छन्, परदेश छ, वर्गीय विभाजन छ, राजनीति छ, हिंसा छ, पहिचानका प्रश्न छन्। हामी गजलमा संसार लेखिरहेका छौँ कि अझै प्रेमिकाको आँखामै संसार खोजिरहेका छौँ? अनि गजललाई सामाजिक दस्तावेज बनाउने जिम्मेवारी छ कि छैन?

साहित्य सर्वप्रथम निजी अनुभवको प्रस्तुति हो। त्यसैले पहिले आफ्ना कुराहरू आउँछन्। प्रेम, विरह, धोका र सम्झना युनिभर्सल कुरा हुन्। यसले सबैलाई छुन्छ। आफ्नो मनको कुरा भन्न सहज पनि हुन्छ। गजलको विकास नै कसीदा विधाको तश्वीवबाट सुरु भएको मानिन्छ। जसमा प्रेम र प्रकृतिको चर्चा गरिन्छ। यति भन्दै गर्दा नेपाली गजल धेरै अगाडि पुगेको छ। नेपाली गजलमा समाजमा घटेका घटना, दर्शनदेखि हाम्रा पौराणिक ग्रन्थहरू समेत सामेल भएका छन्। शायरीलाई दुःखी विधा भनिन्छ तर नेपाली गजलमा निरपेक्ष रोनाधोना मात्र छैन। सांसारिक घटनाबारे लेख्न अध्ययन र साधना चाहिन्छ। आदरणीय विपुल सरले भन्नुहुन्थ्यो गजल सामान्य मान्छेले लेख्ने विधा होइन।

१२. गजलका हजारौँ शेर लेखिन्छन्, लाखौँ पटक सुनिन्छन्, भिडियोमा लाखौँ भ्यु आउँछन्। तर गजलकारको हातमा त्यसको आर्थिक प्रतिफल कति पुग्छ? हामी साहित्यलाई सम्मान गर्छौँ कि निःशुल्क उपभोग गर्छौँ?

अपवादबाहेक नेपालमा पुस्तक त्यति बिक्दैन। पाठक संख्या, पठन संस्कृति र आजकल साहित्यबाहेक अन्य अप्सनको पनि कुरा हो। त्यसमाथि गजलको पुस्तक त अझै गाह्रो छ। यसमा सबै दोष परिवेशको मात्र होइन। हामीले पनि त्यो उचाइ बनाउन सकेका छैनौँ। अंग्रेजी भाषामा ‘ह्यारी पोटर शृंखला’ लेखेर जे. के. राउलिङ खर्बपति बनिन्। त्यो नेपालमा सम्भव छैन। जहाँसम्म गजलको भ्युज र एप्रिसियसनको कुरा छ। त्यो मौद्रिक लाभमा रूपान्तरण हुन सकेको छैन। यो सत्य हो। सायद हाम्रो मौलिक परम्पराले पनि होला। हिजोका दिनमा लोकगीत गायकगायिकाको हालत पनि यस्तै थियो। अहिले केही सुध्रिएको छ। हामीले निरन्तर प्रयास गर्नुपर्छ। हामीले हैसियत बनायौँ भने समाजले दिन्छ पनि।

१३. भाषा बाँच्न साहित्यले कति भूमिका खेल्छ? भाषा बोल्ने समुदाय घट्दै गयो भने साहित्यले भाषा बचाउन सक्छ? कि भाषा बचाउन साहित्यभन्दा पहिले विद्यालय, परिवार, सञ्चार र राज्यको नीति बदलिनुपर्छ? र स्थानीय भाषाको भविष्यबारे तपाईं आशावादी हुनुहुन्छ कि चिन्तित?

भाषा बाँच्नभन्दा पनि धेरै आयाम दिन साहित्यले भूमिका खेल्छ। जुन भाषाको साहित्य परिष्कृत हुन्छ। त्यसले समाजमा प्रभाव जमाउने सम्भावना बढी हुन्छ। भाषा मरेर पनि बाँच्छ। जस्तो संस्कृत भाषा धेरै कम बोलिन्छ तर उक्त भएको समृद्ध साहित्यिक भण्डारका कारण अनेकौँ विश्व विश्वविद्यालयमा पढाइन्छन्। भाषाले मानिसको सोचमा असर गर्ने हुनाले भाषा मर्दै जानु चिन्ताजनक विषय हो। उदाहरणका लागि अहिले युवा पुस्तामा नेपालीमा त्यो नेपालीपन छैन। प्रधानमन्त्रीले नै महाकालीको र्‍याप गाएका छन्। तर फल्चा बनाएर संस्कृति जोगाएको चर्चा छ। जबकि पनि भट्ट्याएर गाउने परम्परा छ।

भाषा कामकाजी भए बाँच्छ। भाषाले आर्थिक अवसर उत्पादन गरे फैलिन्छ। अंग्रेजी भाषाको कल्चरल हेजेमनी सामना हामीले यही कारण भोगेको हो। नयाँ पुस्तामा नेपाली भाषा पुस्तान्तरण त भएको छ तर अवसरका लागि अरू नै भाषा चाहिने हुनाले दोस्रो दर्जाको भाषा जस्तो भएको छ।

१४. तपाईंको पहिलो अक्षर कहाँ जन्मिएको थियो? त्यही पहिलो सिर्जना ‘अक्षर वार्ता’का पाठकलाई सुनाउन सक्नुहुन्छ?

सानैदेखि पुस्तक पढ्ने बानी हुनाले नलेखेको होइन तर लेख्नका लागि लेखेको धेरै भएको छैन। म आफूलाई लेखकभन्दा बढी पाठक सम्झन्छु।

१५. यदि तपाईंलाई अक्षर वार्ताका लागि एउटा मात्र सर्जक सिफारिस गर्ने अधिकार दिइयो, र त्यो सिफारिस चर्चा, पहुँच, मित्रता, गुट वा सामाजिक सञ्जालको लोकप्रियताका आधारमा होइन, केवल सिर्जनाको गुणस्तरका आधारमा गर्नुपर्ने भयो भने तपाईं कसको नाम सिफारिस गर्नु हुन्छ?

मलाई बहुरङ्गवादी कवि समदर्शी काइँला मन पर्छ।

१६. अन्तिम प्रश्न; यसपटक मेरो होइन। आजसम्म अरूले तपाईंलाई प्रश्न सोधे। अब तपाईंले आफैँलाई एउटा असहज प्रश्न सोध्नुपर्‍यो भने के सोध्नुहुन्छ? र त्यो प्रश्नको उत्तर दिन तपाईं आफैँ तयार हुनुहुन्छ?

देश छोडेर यतिका वर्ष विदेश बसेर के कुनै नेता, व्यक्ति वा पार्टीले देश बिगार्‍यो भन्ने साहित्य लेख्नु उचित हो ? देशको यो परिस्थितिको जिम्मेवार आफूलाई ठान्नु हुन्छ वा हुन्न?

निश्चित रूपमा आफू अग्रसर नहुने काउच पोटेटो क्रिटिक्सका कारणले देशको यो हालत भएको हो। साहित्यमा मैले पनि त्यस्ता प्रसंगहरू प्रयोग गरेको छु। जुन मेरो हिपोक्रेसी हो। म मेरो गाउँको पहिलो स्नातक हुनाले देशमै बसेर केही गर्नुपर्थ्यो। यो परिस्थितिका लागि जिम्मेवार हो कि होइन भन्नुभन्दा प्रयास नै नगर्नु समस्या हो। यद्यपि पछिल्लो समय यतैबाट केही गर्ने प्रयासमा छु।

१७. गजलका बारेमा कुरा गर्दै गर्दा हामीले गजल मात्रै होइन, भाषा, समाज, राजनीति, बजार र आफूलाई समेत प्रश्न गर्‍यौँ। अन्तिममा अक्षर वार्तालाई सुझाव र तपाईँका चर्चित शेरहरू…..

चर्चित शेर खासै मैले भन्ने कुरा होइन, पाठकहरूले भन्ने कुरा हो।

सर्वप्रथम त मलाई आफ्नो पक्ष राख्ने अवसर दिनुभएकोमा तपाईँ तथा अक्षर वार्ता परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विभिन्न विषयका नेपाली विज्ञहरूसँग देशको निकासबारे चर्चा चलाउनु होला।

गजललाई माया गरेर यसरी स्थान दिनुभएकोमा विशेष आभार। सबै पाठकहरूलाई सतत् नमन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार