विश्व मुटु दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य सङ्कायमा अध्ययनरत बीपीएच प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूले रक्तचाप परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम, उच्च रक्तचापको समयमै पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रतिष्ठानका डिन डा. सन्दीप श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रमअन्तर्गत प्रतिष्ठानबाट जनचेतनामूलक र्याली निकालिएको थियो। र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर स्वास्थ्य परीक्षण कार्यक्रममा परिणत भएको थियो। त्यहाँ सर्वसाधारणको रक्तचाप, उचाइ तथा तौल परीक्षण गरिएको थियो। कार्यक्रममा १७६ जनाले स्वास्थ्य परीक्षण तथा सेवा लिएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, जनस्वास्थ्य सङ्कायका डा. शेषानन्द सञ्जेल, प्रतिष्ठानका शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले मुटु तथा नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताए। उनले नियमित स्वास्थ्य परीक्षण गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिए।
डा. शेषानन्द सञ्जेलले जनस्वास्थ्यका विद्यार्थीले समुदायमा पुगेर स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अध्ययनसँगै व्यवहारिक ज्ञान हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताए।

उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई समुदायको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष रूपमा बुझ्न र स्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउन सहयोग गर्छ।बीपीएच दोस्रो वर्षका विद्यार्थी विजय रावलले नियमित रक्तचाप परीक्षण र स्वस्थ जीवनशैली अपनाउँदा मुटु तथा नसर्ने रोगको जोखिम कम गर्न सकिने बताए।
अर्का विद्यार्थी सुरज उपाध्यायले समुदायमा प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा जनचेतना प्रदान गर्न पाउनु विद्यार्थीका लागि महत्वपूर्ण सिकाइ र अनुभव भएको बताए।
प्रतिष्ठानका लेक्चरर कमल बुढाले उच्च रक्तचाप तथा मुटुरोगको रोकथामका लागि समयमै स्वास्थ्य परीक्षण र जनचेतना आवश्यक रहेको बताए।

समुदायस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा उच्च रक्तचापका जोखिम कारक, सन्तुलित आहार, नियमित व्यायाम, नुनको सेवनमा कमी तथा धूमपान र मद्यपानबाट टाढा रहने विषयमा समेत सर्वसाधारणलाई जानकारी दिइएको थियो।
विश्व मुटु दिवसको अवसरमा आयोजित कार्यक्रमले समुदायमा मुटुको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणको महत्वबारे सकारात्मक सन्देश दिएको आयोजक विद्यार्थीहरूले बताएका छन्।

















