तातोपानी गाउँपालिकाका विषयगत शाखा, गैरसरकारी संस्था (गैसस) तथा विकास साझेदार संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कबिराज उपाध्यायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि रेवती रावल, विषयगत शाखाका प्रमुखहरू तथा गाउँपालिकामा कार्यरत विभिन्न गैरसरकारी संस्था र विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिकामा सञ्चालन भइरहेका विकास तथा सामाजिक कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्ने, संस्थाहरूबीच समन्वय बढाउने तथा कार्यक्रमको दोहोरोपन हटाउने विषयमा छलफल गरिएको थियो।
साथै गाउँपालिकासँग समन्वय गरी सञ्चालन गरिएका परियोजना तथा गतिविधिको प्रगति विवरण प्रत्येक दुई–दुई महिनामा गाउँपालिकामा पेश गर्ने सहमति भएको छ।
कार्यक्रमका क्रममा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुखलाई स्वागत गरिएको थियो।
साथै आगामी महिनामा विभिन्न संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम तथा कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत कबिराज उपाध्यायले गाउँपालिकाको समग्र विकासका लागि गैरसरकारी संस्था तथा विकास साझेदारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गर्न तथा गाउँपालिकासँग नियमित समन्वय र सूचना आदानप्रदान गर्न आग्रह गर्नुभयो।
विकास साझेदारद्वारा सञ्चालित कार्यक्रमबारे जानकारी
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का प्रतिनिधि चक जिसीले तातोपानी गाउँपालिकासँगको सहकार्यमा सञ्चालित कार्यक्रमबारे जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाका २९ वटै सामुदायिक विद्यालयमा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ। दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाउन १४ वटा नयाँ भान्सा घर निर्माण तथा २ वटा भान्सा घर मर्मत गरिएको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी सेभ द चिल्ड्रेनको सहयोग तथा किर्डाक नेपालमार्फत सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत तातोपानी गाउँपालिकाका २९ सामुदायिक विद्यालयका ८७ वटा कक्षाकोठामा बालमैत्री बसाइ व्यवस्थापन गरिएको जानकारी दिइएको थियो।
साथै ३२ वटा बाल विकास केन्द्रमा सिकाइ उपलब्धिमूलक सामग्री सहयोग गरिएको बताइएको छ।
बालमैत्री स्थानीय शासनका कार्यक्रमलाई निरन्तरता दिनुका साथै बालबालिकाका लागि बाल कोष स्थापना तथा परिचालन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीमार्फत २९ जना बालबालिकालाई सहयोग गरिएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।
परियोजना व्यवस्थापक रामबहादुर रावतले जलवायु परिवर्तनका क्षेत्रमा कृषकलाई विभिन्न सहयोग, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकीलाई प्राविधिक सहयोग तथा उपकरण उपलब्ध गराउनेलगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँले बाल अधिकार तथा बालमैत्री शासनका क्षेत्रमा गरिएको कामबाट तातोपानीका बालबालिकाले राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो।
सर्वोदय नेपालकी अध्यक्ष नारायणी चाैलागाईले संस्थाले महिला तथा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
त्यस्तै लि–बर्ड (LI-BIRD) का जुम्ला क्लस्टर प्रमुख वृद्ध विकले कृषि तथा कृषकसँग सम्बन्धित क्षेत्रमा संस्थाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गर्नुभयो।
उहाँका अनुसार सहकारीमार्फत काम गर्नुका साथै समुदायस्तरमा सचेतना तथा परिचालन, रैथाने बालीको उत्पादन तथा उपभोग विस्तार, लैङ्गिकमैत्री कृषि औजार तथा मेसिन सहयोगमार्फत कार्यबोझ कम गर्ने, जलवायु उत्थानशील कृषि प्रविधिको प्रवर्द्धन, कृषि वस्तुको संगठित बजारीकरण तथा न्यायोचित मूल्य प्राप्तिमा सहयोग गर्दै आएको बताउनुभयो।
लव परियोजनाका अधिकृत हरिगोपाल चाैलागाईले परियोजनामार्फत सञ्चालन गरिएका विभिन्न कार्यक्रम तथा उपलब्धिबारे जानकारी दिनुभयो।
कुपोषण न्यूनीकरणमा पोषण सुधार केन्द्रको काम
पोषण सुधार केन्द्रका अध्यक्ष परिनन्द गिरीले तातोपानी गाउँपालिकामा अतिकुपोषित बालबालिकाको पुनःस्थापना तथा पोषण सुधारका क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको कार्यक्रममार्फत हालसम्म १७ जना अतिकुपोषित बालबालिकालाई सहयोग गरिएको छ।
उहाँले प्रत्येक वडामा नियमित रूपमा पोषण तौल तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रमले गाउँपालिका, विषयगत शाखा, गैरसरकारी संस्था तथा विकास साझेदारबीच थप प्रभावकारी समन्वय, सहकार्य, जवाफदेहिता र सूचना आदानप्रदान कायम गर्दै स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित विकास कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















