हरितालिका तीज धार्मिक आस्था र व्रतको पर्व मात्र होइन, चेली, माइतीको आत्मीयता, महिलाको अभिव्यक्ति र सांस्कृतिक निरन्तरतासँग जोडिएको उत्सव हो। समयसँगै यसको स्वरूप फेरिँदैछ। गाउँघरका माइतीबाट होटल र पार्टी प्यालेससम्म पुगेको तीजले परम्परा र आधुनिकताको संगम देखाइरहेको छ। बदलिँदो उत्सवबीच यसको मौलिकता, सामाजिक सन्देश र सांस्कृतिक अर्थ जोगाउनु आजको प्रमुख चुनौती बनेको छ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज यस वर्ष भदौ २९ गते सोमबार परेको छ। हिन्दू नारीहरूले श्रद्धा र आस्थापूर्वक मनाउने यो पर्व धार्मिक अनुष्ठानसँगै सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धको पर्वका रूपमा स्थापित छ।
समयसँगै तीज मनाउने तौरतरिका भने बदलिँदै गएको छ। गाउँघरका माइतीमा भेला भएर दर खाने, गीत गाउने र दुःख–सुख साट्ने पुरानो परम्पराको ठाउँमा पछिल्ला वर्षहरूमा सहरका होटल, पार्टी प्यालेस र विभिन्न संस्थाले आयोजना गर्ने सामूहिक कार्यक्रमले समेत लिन थालेका छन्।
तीजलाई केवल व्रत र पूजाको पर्वका रूपमा मात्र बुझिँदैन। यो महिलाले आफ्ना अनुभव, भावना र सामाजिक अवस्थालाई गीत, संगीत र नृत्यमार्फत अभिव्यक्त गर्ने सांस्कृतिक अवसर पनि हो।
विगतमा महिलाका व्यक्तिगत तथा पारिवारिक पीडा तीजका भाकामार्फत व्यक्त हुन्थे। अहिले ती गीतमा प्रेम, स्वतन्त्रता, समानता, शिक्षा, रोजगारी, हिंसाविरुद्धको आवाज र सामाजिक परिवर्तनका विषयसमेत जोडिन थालेका छन्।
हरितालिका नामको सम्बन्ध भने पौराणिक कथासँग जोडिएको छ। ‘हरित’ अर्थात् अपहरण गर्नु र ‘आलिका’ अर्थात् सखी वा साथी भन्ने अर्थबाट हरितालिका शब्द बनेको मानिन्छ।
पौराणिक कथाअनुसार हिमालयराजले आफ्नी छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने इच्छा राखेपछि पार्वती दुःखी भएकी थिइन्। उनको मनमा भने भगवान् शिवलाई पति बनाउने अटल संकल्प थियो। त्यसपछि पार्वतीका सखीहरूले उनलाई जंगलमा लगेर तपस्या गर्ने वातावरण मिलाइदिए। त्यहीँ उनले कठोर तपस्या गरिन्।
पार्वतीको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले उनलाई पत्नीका रूपमा स्वीकार गरेको धार्मिक विश्वास छ। यही कथाबाट प्रेरित भएर भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ।
धार्मिक मान्यताअनुसार विवाहित महिलाहरूले पति पत्नीबीचको सुख, समृद्धि, पतिको दीर्घायु र पारिवारिक कल्याणको कामनाका साथ व्रत बस्छन्। अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामनासहित व्रत गर्ने परम्परा छ। दिनभर निराहार वा आफ्नो स्वास्थ्य र परम्पराअनुसार व्रत बसेर साँझ शिव पार्वतीको पूजा, आराधना तथा हरितालिका व्रतकथा श्रवण गर्ने गरिन्छ।
तर तीजको अर्थ निराहार बस्नुमा सीमित छैन। यसमा आत्मसंयम, धैर्य, श्रद्धा र दृढ संकल्पको पक्षसमेत जोडिएको छ। पार्वतीले आफ्नो इच्छाप्रति देखाएको अडानलाई महिलाको आत्मबल र निर्णय क्षमताको प्रतीकका रूपमा समेत व्याख्या गर्न सकिन्छ।
तीजको अर्को महत्वपूर्ण पक्ष माइती र चेलीबीचको सम्बन्ध हो। विवाहपछि टाढा पुगेका दिदीबहिनीहरू माइतीघरमा भेला हुने, दर खाने, गीत गाउने र एकअर्काका अनुभव सुन्ने परम्परा यस पर्वको विशेषता हो। वर्षभरि भेटघाटको अवसर नपाएका दिदीबहिनीका लागि तीज पारिवारिक आत्मीयता नवीकरण गर्ने अवसरसमेत बन्दै आएको छ।
तर पछिल्लो समय तीजको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ। विशेषगरी सहरमा माइतीघरमा भन्दा होटल, पार्टी प्यालेस तथा सार्वजनिक स्थलमा सामूहिक दर खाने र सांस्कृतिक कार्यक्रम गर्ने चलन बढेको छ। विभिन्न संघसंस्था, राजनीतिक दल, महिला समूह, सहकारी तथा सामाजिक संस्थाले समेत तीज विशेष कार्यक्रम आयोजना गर्न थालेका छन्। यसले तीजलाई घरपरिवारको सीमाभन्दा बाहिर सार्वजनिक उत्सवका रूपमा विस्तार गरेको छ।
यस परिवर्तनसँगै तीजको मौलिकता र प्रदर्शनमुखी संस्कृतिबारे बहससमेत हुन थालेको छ। महँगा पहिरन, गरगहना, भोजभतेर र तडकभडकमा केन्द्रित हुँदै जाँदा तीजको धार्मिक तथा सांस्कृतिक मर्म ओझेलमा पर्न सक्ने चिन्ता पनि व्यक्त हुने गरेको छ। अर्कोतर्फ, बदलिँदो समयअनुसार महिलाहरूले आफ्नो सामाजिक सम्बन्ध विस्तार गर्ने, मनोरञ्जन गर्ने र सार्वजनिक रूपमा आफ्ना विचार तथा अनुभव प्रस्तुत गर्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्नु स्वाभाविक भएको तर्क पनि छ।
त्यसैले आजको तीजलाई परम्परा र परिवर्तनबीचको संवादका रूपमा हेर्न सकिन्छ। यसको बाहिरी स्वरूप फेरिए पनि यसको केन्द्रमा रहेको आत्मीयता, आस्था, भेटघाट र अभिव्यक्तिको पक्षलाई जोगाइराख्नु महत्वपूर्ण देखिन्छ।
यस वर्ष हरितालिका तीजकै आसपास बालदिवससमेत परेकाले बालबालिकाको हित र अधिकारसँग सम्बन्धित कार्यक्रम पनि विभिन्न संघसंस्थाले आयोजना गर्दैछन्। तीजका अवसरमा हुने सामाजिक गतिविधिलाई मनोरञ्जनमा मात्र सीमित नराखी बालविवाह, बालश्रम, लैंगिक विभेद, शिक्षा, स्वास्थ्य तथा बालअधिकारका विषयसँग जोड्न सकिए पर्वको सामाजिक सन्देश अझ फराकिलो बन्न सक्छ।
धार्मिक विधिअनुसार तीजका दिन दीप, कलश र गणेशको पूजापछि शिव पार्वतीको संयुक्त पूजा गर्ने विधान छ। शिवलिंग तथा शिव पार्वतीका प्रतिमा वा तस्बिर राखेर पूजा गर्न सकिन्छ। नयाँ प्रतिमा वा शिवलिंग भए प्राणप्रतिष्ठा तथा नियमित पूजा हुँदै आएको भए ध्यान गरी पूजा आरम्भ गर्ने परम्परा छ।
पूजामा षोडशोपचार विधिअन्तर्गत ध्यान, आवाहन, आसन, पाद्य, अर्घ्य, आचमन, पञ्चामृत, शुद्धोदक, वस्त्र, यज्ञोपवीत, चन्दन, अक्षता, पुष्पमाला, बिल्वपत्र तथा सौभाग्यका सामग्री अर्पण गरिन्छ। त्यसपछि धूप, दीप, नैवेद्य, फल, ताम्बूल, दक्षिणा, आभूषण, नीराजन, कर्पूर आरती, पुष्पाञ्जली, प्रदक्षिणा, नमस्कार, प्रार्थना र क्षमायाचनासहित पूजा सम्पन्न गर्ने विधान छ।
उमामहेश्वरको ध्यान गर्दै भनिन्छ,
‘मन्दारमाला–कुलितालकायै
कपाल–मालाङ्कितशेखराय।
दिव्याम्बरायै च दिगम्बराय
नमः शिवायै च नमः शिवाय।।’
पूजा सकेपछि भोलिपल्ट बिहान उत्तराङ्ग पूजा गरी पूर्णपात्रदान गरेर व्रत पारणा गर्ने परम्परा छ। यस क्रममा लोपामुद्रा र अगस्ति ऋषिको पूजा तथा अर्घ्य अर्पण गर्ने र उमामहेश्वरलाई समेत अर्घ्य दिने विधान छ।
उमामहेश्वरलाई अर्घ्य दिँदा भनिने मन्त्रमा पार्वतीलाई कल्याण र सौभाग्यकी प्रतीकका रूपमा स्मरण गर्दै अर्घ्य ग्रहण गर्न आग्रह गरिन्छ—
‘श्रीपार्वती महाभागे शङ्करप्रियवादिनि।
अर्घ्यं गृहाण कल्याणि भर्त्रा सह पतिव्रते।।‘
त्यसपछि व्रत पारणा गरिन्छ।
समय परिवर्तनसँगै तीजका गीत फेरिएका छन्, मनाउने स्थल फेरिएका छन् र उत्सवका शैलीसमेत बदलिएका छन्। तर पार्वतीको दृढ संकल्प, महिलाबीचको आत्मीयता, माइती–चेलीको सम्बन्ध, सामाजिक अभिव्यक्ति र सांस्कृतिक निरन्तरता तीजका आधारभूत पक्ष हुन्।
त्यसैले तीजलाई केवल गहना, पहिरन, दर र नाचगानको पर्वका रूपमा सीमित गर्नु यसको व्यापक अर्थलाई साँघुरो बनाउनु हुनेछ। परम्पराको सम्मान गर्दै समयअनुकूल सुधार, स्वास्थ्यप्रति सचेतना, लैंगिक समानता, महिला अधिकार र बालबालिकाको हितलाई समेत जोड्न सकिए तीज अझ अर्थपूर्ण बन्न सक्छ।
हरितालिका तीजले हरेक वर्ष यही सन्देश दोहोर्याउँछ, आस्था परम्परामा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ। शिव पार्वतीको कथाले निष्ठा र दृढताको अर्थ सम्झाउँछ भने तीजको सामाजिक पक्षले सम्बन्ध, सहकार्य र अभिव्यक्तिको महत्व उजागर गर्छ। यही कारण तीज एउटा धार्मिक व्रत मात्र नभई नेपाली समाजको बदलिँदो सांस्कृतिक यात्राको महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै गएको छ।
















