सार्वजनिक बिदाको दिन पासबिना सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ भदौ २७ गते सार्वजनिक बिदाको दिन ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले चेकजाँच तथा सवारीसाधन अनुगमन गर्ने क्रममा सरकारी नम्बर (सेतो) प्लेट भएको मोटरसाइकल पासबिना प्रयोग भइरहेको अवस्थामा फेला पारेको हो।
प्रहरीले मोटरसाइकल रोकी सरकारी सवारीसाधन प्रयोगको सम्बन्धमा आवश्यक कागजात, अनुमति तथा प्रयोगको प्रयोजनबारे सोधपुछ गरेको जनाएको छ।
सो क्रममा तत्काल आवश्यक विवरण स्पष्ट हुन नसकेपछि मोटरसाइकललाई थप छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक एशालिकराम खनालले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्।
प्रहरीले सरकारी सवारीसाधनको प्रयोगसम्बन्धी अनुमति, कागजात तथा प्रयोजनका विषयमा आवश्यक छानबिनपछि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।















