सोमबार, १ भाद्र, २०८३

जुम्लामा बाहिरबाट आएका विद्यार्थीलाई पहिलो प्राथमिकता दिएर ग्यास वितरण गरिँदै

ग्यास अभावका कारण लामो समयदेखि समस्या भोग्दै आएका विद्यार्थी तथा कर्मचारीलाई लक्षित गरी जुम्लामा भोलि बिहान ७ बजेदेखि खाना पकाउने एलपी ग्यास वितरण गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्ला बाहिरबाट अध्ययन तथा रोजगारीका लागि जुम्ला आएका विद्यार्थी र कर्मचारीलाई ग्यास वितरणमा पहिलो प्राथमिकता दिइनेछ।

ग्यास अभावका कारण विद्यार्थीले खाना पकाउनसमेत समस्या भोग्दै आएका छन्। गत साता कालिकोटको पचाल झरना गाउँपालिका–९, कोटिलाका विद्यार्थी सन्तोष शाही ग्यास पाउने आशामा दिनभर लाइनमा बसे पनि ग्यास नपाई रित्तो सिलिन्डर बोकेर फर्किनुपरेको थियो।

ग्यास नपाएपछि शाहीसहित चार जना विद्यार्थी अर्को दिन दाउरा खोज्न जुम्लाको खैरेनी जंगल पुगेका थिए। दिउँसो करिब १ बजेतिर दाउरा खोज्ने क्रममा अचानक रुख ढल्दा शाही घाइते भएका थिए।

रुखले थिचिएर उनको दायाँ खुट्टाको तिघ्रा भाँचिएको थियो भने मुखमा चोट लागेर दाँत भाँचिनुका साथै बायाँ हातको पछाडिपट्टि समेत चोट लागेको थियो। साथीहरूले तत्काल उद्धार गरी उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए।

यस्ता जोखिमपूर्ण घटना दोहोरिन नदिन यसपटक ग्यास वितरणमा जिल्ला बाहिरबाट जुम्ला आएका विद्यार्थी तथा कर्मचारीलाई प्राथमिकता दिने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रजिअ प्रसाईंका अनुसार कर्णाली प्राविधिक शिक्षालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला बहुमुखी क्याम्पसलगायत शैक्षिक संस्थामा अध्ययन गर्न जिल्ला बाहिरबाट आएका विद्यार्थी र बाहिरबाट आएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखिनेछ।

त्यसपछि जुम्लाका अन्य स्थानीय तहबाट अध्ययन तथा रोजगारीका लागि आएका विद्यार्थी र कर्मचारीलाई ग्यास वितरण गरिनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार