संवाद प्रकाशन प्रालिले नेपाली साहित्यका दुई नयाँ कृति बजारमा ल्याउने तयारी गरेको छ। प्रकाशनको अन्तिम तयारीमा रहेका नबिन विद्रोहीको उपन्यास ‘निशब्द’ र प्रेमकृष्ण श्रेष्ठको कथासंग्रह ‘डेरामा बस्ने केटी’ छिट्टै पाठकमाझ आउने भएका हुन्।
संवाद प्रकाशनका अनुसार दुवै कृति फरक साहित्यिक विधामार्फत समकालीन समाज, मानवीय सम्बन्ध, संवेदना र जीवनका विविध अनुभूतिलाई प्रस्तुत गर्ने प्रयासका रूपमा बजारमा ल्याउन लागिएको हो।
नबिन विद्रोहीको उपन्यास ‘निशब्द’ मा ग्रामीण जीवन, सामाजिक यथार्थ, मानवीय संवेदना तथा जीवनका विविध भोगाइलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ। ग्रामीण परिवेश र त्यहाँका सामाजिक तथा मानवीय पक्षलाई साहित्यिक आख्यानमार्फत उजागर गर्ने प्रयास उपन्यासमा गरिएको प्रकाशनले जनाएको छ।
त्यस्तै, प्रेमकृष्ण श्रेष्ठको कथासंग्रह ‘डेरामा बस्ने केटी’ ले समकालीन जीवन, मानवीय सम्बन्ध र सामाजिक परिवेशका विभिन्न आयामलाई कथामार्फत प्रस्तुत गर्ने जनाइएको छ।
दुवै कृति प्रकाशनको अन्तिम तयारीमा रहेको संवाद प्रकाशन प्रा.लि.का अध्यक्ष विदुर गिरीले जानकारी दिए। उनका अनुसार आवश्यक सम्पादन, मुद्रणलगायतका तयारी पूरा गरी पुस्तकलाई छिट्टै बजारमा पुर्याउने काम भइरहेको छ।
‘यी दुवै पुस्तकलाई पाठकसमक्ष छिट्टै पुर्याउने तयारीमा हामी छौँ। ‘निशब्द’ र ‘डेरामा बस्ने केटी’ नेपाली साहित्यका पाठकका लागि नयाँ स्वाद र अनुभूति दिने कृति बन्ने विश्वास लिएका छौँ,’ गिरीले भने।
संवाद प्रकाशनले नयाँ तथा समकालीन स्रष्टाका सिर्जनालाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको जनाएको छ। सोही क्रममा दुई फरक विधाका यी कृतिलाई पनि पाठकमाझ ल्याउन लागिएको प्रकाशनको भनाइ छ।
प्रकाशनका अनुसार पुस्तकको औपचारिक विमोचन मिति, मूल्य तथा बजारमा उपलब्ध हुने स्थानबारे भने आगामी दिनमा जानकारी गराइनेछ।
















