शनिबार, ३० श्रावण, २०८३

सुर्खेतमा ग्यास अभाव कायमै, वितरण भइरहे पनि उपभोक्ताको सास्ती

सुर्खेतमा दैनिक रूपमा ग्यास वितरण भइरहे पनि खाना पकाउने ग्यासको अभाव कायमै रहेको छ। ग्यास लिनका लागि उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेपछि विशेषगरी असक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका नागरिकलाई थप समस्या भएको छ।

उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतको पहलमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि सम्बन्धित व्यक्तिले परिचय खुल्ने आवश्यक कागजात पेश गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच, वीरेन्द्रनगरका विभिन्न ग्यास विक्रेतामार्फत प्राथमिकतामा पर्ने नागरिकलाई ग्यास वितरण गरिएको प्रशासनले जानकारी दिएको छ।

यता, रेडियन्ट ग्यास भने भोलि वितरण हुने भएपछि उपभोक्ताहरू आजैदेखि ग्यास लिन लाइनमा बसेका छन्। विक्रेताले ३०० वटा खाली सिलिन्डर र आवश्यक रकम बुझेर उपभोक्तालाई रसिदसमेत वितरण गरिसकेको जनाएको छ। भोलि बिहान ३०० सिलिन्डर रेडियन्ट ग्यास वितरण गरिने तयारी छ।

ग्यासका लागि लाइनमा बसेका उपभोक्ताका अनुसार उनीहरू साउन २४ गतेदेखि नै लाइनमा बसेका थिए भने साउन २९ गते पैसा बुझाएर रसिद लिएका हुन्। लामो समयदेखि ग्यासका लागि लाइनमा बस्नुपर्दा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिमाथि समेत प्रश्न उठेको उपभोक्ताहरूको गुनासो छ।

दैनिक ग्यास वितरण भइरहेको भनिए पनि मागअनुसार आपूर्ति हुन नसक्दा सुर्खेतमा ग्यास अभावको समस्या निरन्तर देखिएको छ। लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्ने माग उपभोक्ताहरूले गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार