सुर्खेत — सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकी सिम्ता गाउँपालिका–९ की ४५ वर्षीया विष्णुमाया सुनारको उपचारका क्रममा मृत्यु भएको छ।
बुधबार बिहान करिब ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको कमाण्डमा ट्राफिक प्रहरीसहित ७ जनाको टोली घटनास्थल पुगेको थियो।
घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि मेहेलकुना अस्पताल तथा सुर्खेतका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१३ का ४३ वर्षीय गगन थापा पनि घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वलीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज हुँदै भारतको लखनऊस्थित अस्पतालमा रिफर गरिएको छ। उनको साथमा मिमराज वली रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, विष्णुमाया सुनारलाई नेपालगन्ज हुँदै भारतको लखनऊमा उपचारका लागि रिफर गरिएको थियो। लखनऊबाट घर फर्काउने क्रममा नेपालगन्जमा उनको मृत्यु भएको र आफन्तले शव मेहेलकुना अस्पताल ल्याएको प्रहरीले जनाएको छ। उनको शव अस्पतालको शवगृहमा राखिएको छ।
अन्य घाइतेहरूमा ममता पुन, उनका ५ वर्षीय छोरा रियाज शाही, प्रविन सुनार, भावना राई, उनका २ वर्षीय छोरा प्रज्वल राई, जैसरा बुढा, भूमिसरा खड्का, उदयराम भुजेल, धनमाया भुजेल, टिका खत्री, भीमबहादुर थापा, तुलसरा सुनार, सक्षम बुढा, प्रिति गुरुङ, शान्ता खत्री, भावना आले, मनिषा थापा, खिमराज गिरी, हेमबहादुर मल्ल र महेश सुनार रहेका छन्।
घाइतेमध्ये अधिकांश उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केहीको नेपालगन्ज तथा सुर्खेतका अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा ७ जना र प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी नायब निरीक्षक मनिष गुरुङको कमाण्डमा ५ जनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको थियो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।















