देशको वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली काँग्रेसभित्र आन्तरिक एकता, संवाद, जिम्मेवारीबोध र परिपक्व निर्णयको आवश्यकता अझ बढी महसुस भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति, जुम्लाका सचिव लक्ष्मण बहादुर शाहीले बताएका छन्।
आजको मुख्य आवश्यकता विभाजन नभई एकता भएको उल्लेख गर्दै उहाँले पार्टीभित्रका मतभेदहरूलाई फुटको आधार नबनाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ। क्षणिक राजनीतिक लाभ र गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित र जनविश्वास जोगाउनु पार्टीको प्राथमिक दायित्व रहेको उनको भनाइ छ।
शाहीले हालको राजनीतिक वातावरणमा नेता तथा कार्यकर्तामा अत्यधिक निराशा वा अनावश्यक उत्तेजना सिर्जना हुन नहुने बताउनुभएको छ। लोकतन्त्रमा नागरिकले सधैँ जिम्मेवार, परिपक्व र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने राजनीतिक शक्ति खोज्ने उल्लेख गर्दै उहाँले त्यो जनविश्वास कायम राख्ने ऐतिहासिक दायित्व नेपाली काँग्रेसको काँधमा रहेको स्पष्ट पारे।
पार्टीभित्रको आन्तरिक व्यवस्थापन र राष्ट्रिय भूमिकाबारे जोड दिँदै शाहीले भने, ‘देश कठिन मोडमा उभिएको बेला व्यक्तिगत आकांक्षा, गुटगत स्वार्थ वा क्षणिक राजनीतिक लाभभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन आवश्यक छ। नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक इतिहास बोकेको राष्ट्रिय शक्तिले जनताको भरोसा जोगाउँदै देशलाई स्थिरता, सुशासन, विकास, समृद्धि तथा राष्ट्रिय स्वाभिमानको संरक्षणतर्फ नेतृत्व दिनुपर्छ भन्ने जनअपेक्षा आज पनि उत्तिकै बलियो छ।’
पार्टीसँग सम्बन्धित विषयमा अदालतमा चलिरहेका वा उठ्ने कानुनी प्रक्रियाका सन्दर्भमा बोल्दै सचिव शाहीले संवैधानिक निकायको क्षेत्राधिकार र पार्टीको आन्तरिक निर्णय क्षमताबीचको सम्बन्धलाई रेखांकित गरेकाछन्। उनका अनुसार सर्वोच्च अदालतको निर्णय संवैधानिक र कानुनी प्रक्रियाअनुसार आउने भए तापनि राजनीतिक दलको वास्तविक सामर्थ्य र भविष्य भने आन्तरिक लोकतन्त्रमै निर्भर रहन्छ।
‘यतिबेला पार्टीसँग सम्बन्धित विषयहरूमा सर्वोच्च अदालतको निर्णय आफ्नो संवैधानिक र कानुनी प्रक्रियाअनुसार आउने नै छ,’ उनले भने, ‘तर राजनीतिक दलको दीर्घकालीन शक्ति, विश्वसनीयता र भविष्य अन्ततः त्यसको आफ्नै आन्तरिक लोकतान्त्रिक निर्णय, संवाद, सहमति र एकतामा निर्भर रहन्छ।’
उनका अनुसार नेपाली काँग्रेसले गर्ने परिपक्व आन्तरिक निर्णय पार्टीका लागि मात्र नभई देशको राजनीतिक स्थिरता, लोकतान्त्रिक भविष्य तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी उपस्थितिका दृष्टिले समेत महत्त्वपूर्ण हुनेछ।
नेपाली काँग्रेसका सम्पूर्ण तहका कार्यकर्तालाई संयम, सहकार्य र आपसी विश्वासका साथ अघि बढ्न आह्वान गर्दै शाहीले सुदृढ संगठनले नै लोकतन्त्र र राष्ट्रलाई बलियो बनाउने तर्क गरका छन्।
’आज एकताको सन्देशलाई व्यवहारमा उतार्ने समय हो। फुटको होइन, जुटको राजनीति आवश्यक छ। निराशा होइन, आशा बाँड्नुपर्ने बेला हो,’ शाहीले जोड दिँदै भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि पार्टी, पार्टीभन्दा माथि देश र जनताको हितलाई राख्दै नेपाली काँग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनविश्वासको केन्द्र बनाउने अभियान आजको अपरिहार्य आवश्यकता बनेको छ। यही नै समयको माग, जनताको अपेक्षा र राष्ट्रप्रतिको हाम्रो साझा जिम्मेवारी हो।’
















