शनिबार, २४ आश्विन, २०८३

बरिस्ठ पत्रकार कर्ण भण्डारीलाई ‘स्व. दीपबहादुर स्मृति पत्रकारिता पुरस्कार’

यस वर्षको ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८३’ जुम्लाका ज्येष्ठ तथा क्रियाशील पत्रकार कर्णबहादुर भण्डारीलाई प्रदान गरिने भएको छ।

​स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाका संस्थापक शुभाकर विश्वकर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंको रोहबरमा बसेको पुरस्कार छनोट समितिको बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

​६५ वर्ष पार गरिसकेका पत्रकार भण्डारी विगत २५ वर्षदेखि जुम्लालाई कार्यक्षेत्र बनाएर सीमित स्रोतसाधनका बाबजुद निरन्तर पत्रकारितामा सक्रिय छन्। उनले १८ वर्ष नेपाल टेलिभिजनमा जिल्ला संवाददाताका रूपमा काम गरेका थिए भने हाल केही वर्षयता हिमालय टेलिभिजनमा आबद्ध छन्।

​जिल्लाको विकास, सुशासन, पारदर्शिताका साथै आर्थिक, सामाजिक र सांस्कृतिक विषयको उठानमा उल्लेखनीय योगदान पुर्‍याएबापत भण्डारीलाई यो पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले बताए।

उनले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘६५ वर्षको उमेरमा पनि उनको निरन्तर सक्रियता र जाँगर अहिलेका युवा पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेको छ।’

​कर्णाली क्षेत्रमा रहेर निष्पक्ष तथा व्यावसायिक पत्रकारिता गर्ने क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जुम्लामा व्यक्तिगत तवरबाट पहिलो पटक यो पुरस्कार स्थापना गरिएको हो। यो पुरस्कारको पाँचौं संस्करण हो। यसअघि चार जना पत्रकार पुरस्कृत भइसकेका छन्।

​उक्त पुरस्कार छिट्टै एक विशेष समारोहको आयोजना गरी भण्डारीलाई हस्तान्तरण गरिने प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार