काठमाडौँ- नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन कुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा निर्वाचित भएका छन्।
महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति अबेरदेखि सुरु भएको मतगणना भर्खरै सम्पन्न भएसँगै अन्तिम नतिजा सार्वजनिक भएको हो।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार नवनिर्वाचित सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै फराकिलो अन्तरले जित हासिल गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरेका छन् भने ५४ मत बदर भएको छ। कुल ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन समितिले जानकारी दिएको छ।
सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमै सम्पन्न भए पनि बाँकी अन्य पदहरूका मतपेटिका भने सुरक्षित रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा पुर्याइएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना सानेपामै गरिने तयारी गरिएको छ।
















