परिवर्तन–ग्रहीय स्वास्थ्य (चेन्ज–पीएच) परियोजना अन्तर्गत आयोजित लोगो डिजाइन प्रतियोगिता–२०२६ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई विद्यार्थी उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन्।
प्रतिष्ठानका उपप्राध्यापक ओम प्रकाश काफ्लेले दिएको जानकारीअनुसार प्रतियोगितामा काठमाडौँ मेडिकल कलेजका प्रवेश अधिकारी प्रथम भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कस्तुरी सिंह दोस्रो तथा सुरेन्द्र धामी तेस्रो भएका छन्।
‘यो उपलब्धि केवल दुई विद्यार्थीको व्यक्तिगत सफलता मात्र होइन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलता, क्षमता र मेहनतको राष्ट्रिय स्तरमा भएको सम्मान पनि हो,’ काफ्लेले भने।
उनका अनुसार स्वास्थ्य, वातावरण र दिगो विकासजस्ता विश्वव्यापी सरोकारका विषयलाई केन्द्रमा राखेर आयोजित प्रतियोगितामा देशका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। त्यस्तो प्रतिस्पर्धामा कर्णालीका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्नु प्रतिष्ठानका लागि गौरवको विषय भएको उनले बताए।
काफ्लेले विजेता विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने आयोजक संस्था, निर्णायक मण्डल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला वर्षहरूमा चिकित्सा शिक्षासँगै अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक गतिविधिमा पनि विद्यार्थीहरूको सक्रिय सहभागिता बढाउँदै आएको छ। लोगो डिजाइन प्रतियोगितामा प्राप्त यो सफलता त्यही प्रयासको अर्को सकारात्मक परिणामका रूपमा हेरिएको काफ्लेले बताए।
















