सुर्खेतको भेरीगंगा नगरपालिका–४ सानो हर्रेस्थित रत्न राजमार्गमा स्कुटरमा यात्रा गरिरहेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको लु.प्र. एएए ६१५७ नम्बरको स्कुटरमा पछाडि सवार वीरेन्द्रनगर नगरपालिका–९ निवासी २९ वर्षीय उत्सव जि.सी. साउन २१ गते साँझ करिब ७:५० बजे अचानक बेहोस भएका थिए।
स्कुटर चालक सोही स्थानका २७ वर्षीय रोशन घिसिङले तत्काल प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले बेहोस भएका जि.सी.लाई तत्काल एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्याएको थियो। उपचारका क्रममा चालक घिसिङ पनि अस्पतालमै साथमा रहेका थिए भने घटनाबारे मृतकका आफन्तलाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ।
उपचारकै क्रममा साउन २२ गते राति १:५० बजे उत्सव जि.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए।
उनका अनुसार मृतकको शव हाल कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















