लगातारको वर्षासँगै आएको मनसुनजन्य विपदबाट प्रभावित तातोपानी गाउँपालिकाका १३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। स्थानीय विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिकाले आवश्यक दैनिक उपभोगका सामग्रीसहित राहत हस्तान्तरण गरेको हो।
बुधबार गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समिति संयोजक नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवती रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्द, विपद् सम्पर्क व्यक्ति, जिन्सी शाखाका प्रतिनिधि तथा कृडाक नेपाल तातोपानी गाउँपालिका क्लस्टर प्रमुखको संयुक्त उपस्थितिमा प्रभावित परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
तातोपानी गाउँपालिका २, ३, ४, ५ र ६ नम्बर वडाका १३ परिवारलाई किचन सेटअन्तर्गत प्रेसर कुकर, थाल, कचौरा, डाडु–पनिउ, चम्चा, कराही र अन्य भान्साका सामग्री, एक प्याक चामल, पाल, डोरी र ब्ल्याङ्केटसहितको सेल्टर किट, ग्यालिन र जगसहितको वाटर किट तथा महिलाको आवश्यकता लक्षित स्वेटर, टिसर्ट, नेल कटर, काइयो, धोती, पेटिकोट, सललगायत सामग्री समेटिएको डिग्निटी किट प्रदान गरिएको छ।
राहत वितरणपछि गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले विपद्को कठिन घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने स्थानीय सरकारको दायित्व रहेको बताए। उनले प्रभावित परिवारको आवश्यकता अनुसार थप सहयोग र पुनःस्थापनाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने जानकारी दिए।
कृर्डाक नेपाल तातोपानी गाउँपालिका क्लस्टर प्रमुखले स्थानीय सरकारसँगको सहकार्यमा प्रभावित समुदायसम्म राहत पुर्याउन पाएकोमा खुशी व्यक्त गर्दै विपद् जोखिम न्यूनीकरण, पुनःस्थापना र समुदायको क्षमता अभिवृद्धिमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए।
मनसुनका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराइएपछि स्थानीयवासीले राहतले दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
















