दुःखको कुरा, सङ्घीय सरकारदेखि स्थानीय सरकारसम्मको प्राथमिकतामा आधारभूत विद्यालय प्रायः पछाडि पर्ने गरेका छन्। बजेट, पूर्वाधार, तालिम, प्रविधि र प्रोत्साहनका कार्यक्रमहरू प्रायः माध्यमिक वा ठूला विद्यालयतर्फ केन्द्रित देखिन्छन्।
कुनै पनि राष्ट्रमा शिक्षाको यात्रा आधारभूत विद्यालयबाट सुरु हुन्छ। यही तहले बालबालिकाको जीवनमा पहिलो पटक शिक्षाको बीजारोपण गर्छ। बोल्न र सुन्न मात्र जान्ने साना नानीहरूलाई अभिभावकले विद्यालयमा छोडिदिन्छन्।
उनीहरू न अक्षर चिन्छन्, न कलम समाउन जान्छन्, न साथी नै हुन्छन्, न विद्यालयको वातावरणसँग परिचित हुन्छन्। यस्ता बालबालिकालाई अक्षर चिनाउने, शब्द पढ्न सिकाउने, अनुशासन, सरसफाइ, व्यवहार, नैतिकता र सामाजिक जीवनका आधारभूत सीप सिकाउनु कुनै सामान्य काम होइन।
यहीँबाट भविष्यका डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, वैज्ञानिक र राष्ट्र निर्माताको यात्रा सुरु हुन्छ। तर विडम्बना, शिक्षाको यही आधारशिलालाई आज सबैभन्दा कम प्राथमिकता दिइएको छ।
विशेषगरी ग्रामीण क्षेत्रका आधारभूत विद्यालयहरू अनेकौँ समस्यासँग संघर्ष गरिरहेका छन्। शिक्षक दरबन्दीको अभाव, कमजोर भौतिक पूर्वाधार, सीमित शैक्षिक सामग्री, तालिमको कमी र न्यून प्रोत्साहनका बीच पनि यी विद्यालयहरूले आफ्नो जिम्मेवारी निभाइरहेका छन्।
कतिपय विद्यालयमा एउटै शिक्षकले कक्षा १ देखि ५ सम्मका विद्यार्थीको जिम्मा सम्हाल्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि शिक्षाको ज्योति निभ्न नदिई विद्यालय सञ्चालन भइरहनु आफैमा ठूलो समर्पणको उदाहरण हो।
दुःखको कुरा, सङ्घीय सरकारदेखि स्थानीय सरकारसम्मको प्राथमिकतामा आधारभूत विद्यालय प्रायः पछाडि पर्ने गरेका छन्। बजेट, पूर्वाधार, तालिम, प्रविधि र प्रोत्साहनका कार्यक्रमहरू प्रायः माध्यमिक वा ठूला विद्यालयतर्फ केन्द्रित देखिन्छन्। मानौँ आधारभूत विद्यालयको अस्तित्व केवल औपचारिकतामा सीमित छ।
के आधारभूत विद्यालय नमुना बन्न सक्दैनन्? के नमुना विद्यालय भन्नासाथ माध्यमिक विद्यालय मात्रै बुझ्नुपर्छ? जब शिक्षाको पहिलो पाइला नै बलियो हुँदैन, त्यसपछि माथिल्ला तहको गुणस्तरीय शिक्षा कसरी सम्भव हुन्छ?
बलियो घर बनाउन जति बलियो जग आवश्यक हुन्छ, त्यति नै गुणस्तरीय शिक्षा निर्माणका लागि सक्षम आधारभूत विद्यालय आवश्यक हुन्छ। आधारभूत विद्यालय भनेका माध्यमिक विद्यालयका लागि विद्यार्थी उत्पादन गर्ने नर्सरी हुन्।
यहाँ सिकेका आधार, संस्कार र सीपकै जगमा माथिल्ला तहको शिक्षा उभिएको हुन्छ। त्यसैले यो तहलाई कमजोर बनाउनु भनेको सम्पूर्ण शिक्षा प्रणालीको भविष्य कमजोर बनाउनु हो।
आज आवश्यकता आधारभूत विद्यालय र त्यहाँ कार्यरत शिक्षक–शिक्षिकाप्रति सम्मान, विश्वास र लगानी बढाउने हो। पर्याप्त शिक्षक दरबन्दी, आधुनिक सिकाइ सामग्री, नियमित तालिम, बालमैत्री भौतिक संरचना र उत्प्रेरणामूलक कार्यक्रममार्फत यो तहलाई सबल बनाउन सकिए मात्र समग्र शिक्षाको गुणस्तर सुधार्न सकिन्छ।
संसार एआईको तीव्र विकासमा गइरहेको अवस्थामा आधारभूत विद्यालयमा यसका लागि न त प्रविधि छ, न त सामग्री छन्, न त कुनै तालिमप्राप्त दक्ष जनशक्ति छ।
अझ यससम्बन्धी विविध सहयोग माध्यमिक विद्यालयलाई सहयोग र समर्थन पाइएको छ। यदि शिक्षाको बिरुवा स्वस्थ, बलियो र फलदायी बनाउने हो भने सबैभन्दा पहिले त्यसको बीजारोपण हुने आधारभूत विद्यालयलाई सशक्त बनाउनै पर्छ।
किनभने शिक्षाको भविष्य कुनै विश्वविद्यालयमा होइन, एउटा सानो आधारभूत विद्यालयको कक्षाकोठामा लेखिन थालिसकेको हुन्छ।















