शनिबार, २७ असार, २०८३

साहित्यिक चौतारी नेपालको नयाँ केन्द्रीय कार्यसमिति सार्वजनिक

साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा सक्रिय संस्था साहित्यिक चौतारी नेपालले नयाँ केन्द्रीय कार्यसमिति सार्वजनिक गरेको छ।

संस्थाको गत असार ६ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न १२औँ साधारणसभाले कमला भण्डारी ढकालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै पदाधिकारी, सल्लाहकार तथा अग्रज स्रष्टाहरूबीच भर्चुअल माध्यमबाट भएको बृहत् छलफलपछि कार्यसमितिलाई पूर्णता दिइएको हो।

बुधबार आयोजित भर्चुअल परिचयात्मक तथा रचना वाचन कार्यक्रममार्फत संस्थाले नवगठित कार्यसमितिलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद सुवेदी ‘संगम’, उपाध्यक्षमा माया उपाध्याय अर्याल, महासचिवमा शिरीष बन्जाडे, सचिवमा शर्मिला सापकोटा तथा कोषाध्यक्षमा गोम विक्रम चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा तारा घिमिरे, रीतादेवी प्रधान, लक्ष्मण शर्मा दाहाल, कबिराज शंखर कञ्चन, विक्रम तिरुवा ‘सलिन’, डम्मरी कुमारी जोशी ‘सानु’, मीरा तिमल्सिना, बद्री श्रेष्ठ ‘याक्:चा’ र अनुपराज उप्रेती चयन हुनुभएको छ।

संस्थाले वरिष्ठ सल्लाहकारका रूपमा प्रा. डा. भीम खतिवडा र प्रा. डा. देवी नेपाललाई यथावत् निरन्तरता दिएको छ। सल्लाहकारमा सन्दीप संग्रौला ‘दिलदुखी’ र प्रभा आचार्य भट्टराईलाई पुनः जिम्मेवारी दिइएको छ भने शंकर ढकाललाई नयाँ सल्लाहकारमा चयन गरिएको छ। यसैगरी संस्थाका निवर्तमान अध्यक्ष गीता भण्डारीलाई संरक्षकको जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रामप्रसाद सुवेदी ‘संगम’ले नवगठित कार्यसमितिलाई स्वागत गर्दै साहित्यिक चौतारी नेपालको स्थापना, संस्थागत यात्रा, प्राप्त उपलब्धि तथा भावी कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो। उहाँले संस्थाको गौरवशाली इतिहासलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले साहित्यिक गतिविधिलाई अझ प्रभावकारी, सशक्त र व्यापक बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबीच परिचय आदानप्रदान हुनुका साथै संस्थाको भावी कार्ययोजना, साहित्यिक गतिविधिको विस्तार तथा संगठनलाई थप सक्रिय बनाउने विषयमा छलफल गरिएको थियो।

सहभागीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै संस्थाप्रति आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार