हिमाली भूगोलका बीच शिक्षा, संस्कृति र सामुदायिक एकताको अनुपम संगमका रूपमा जुम्लाको हिमा गाउँपालिका मा चौथो पढाइ मेला भव्य रूपमा सुरु भएको छ। गाउँपालिकाका १९ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिताले मेलालाई शैक्षिक अभियानसँगै सामाजिक उत्सवको रूप दिएको छ।

मेलास्थल कालिका मावि तलिकुडु पुग्ने पहाडी बाटोमै निर्माण गरिएको स्वागतद्वारले आगन्तुकलाई आत्मीय स्वागत गर्यो। “चौथो पढाइ मेलामा पाल्नुहुने सम्पूर्ण पाहुनाहरूलाई हार्दिक स्वागत गर्दछौँ” भन्ने सन्देश अंकित प्रवेशद्वारले कार्यक्रमको गरिमा झल्काएको छ।
विद्यालयका विद्यार्थीहरू अनुशासित रूपमा लामबद्ध भई कार्यक्रममा सहभागी भएका थिए। स्थानीय संस्कृति झल्काउने फूलको माला, दुबो, खादा तथा नेपाली टोपी लगाएर अतिथिहरूको सम्मान गरिएको दृश्यले शिक्षा र संस्कृतिबीचको गहिरो सम्बन्धलाई उजागर गरेको थियो।

विद्यार्थीहरूको र्याली, विद्यालयका झण्डा र परम्परागत दमाहा–झ्यालीको धुनले पढाइ मेलालाई उत्साहपूर्ण वातावरण प्रदान गरेको थियो।
विद्यालय परिसरमा आयोजित मुख्य समारोहमा सयौँ विद्यार्थी उत्साहपूर्वक सहभागी बनेका थिए। उनीहरूको सक्रियता, जिज्ञासा र सिकाइप्रतिको रुचिले दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाप्रतिको बढ्दो चेतनालाई प्रतिबिम्बित गरेको थियो।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पढाइ मेला केवल औपचारिक कार्यक्रम नभई बालबालिकामा पढ्ने बानी, सिर्जनशील सोच र जीवनभर सिकिरहने संस्कृतिको विकास गर्ने अभियान भएको बताए।
‘हामी विद्यालयमा भौतिक पूर्वाधारसँगै पठन संस्कृतिको विकासलाई प्राथमिकता दिएका छौँ। पुस्तकसँगको मित्रताले नै सक्षम र जिम्मेवार नागरिक निर्माण गर्छ,’ उनले भने।

उपाध्यक्ष सुर्पुना शाहीले समुदाय, अभिभावक र विद्यालयबीचको सहकार्य बलियो बनाउने माध्यमका रूपमा पढाइ मेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।
‘बालबालिकाले पुस्तकप्रति रुचि बढाउँदा उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र सिकाइ क्षमता पनि सुदृढ हुन्छ। यस्ता अभियानलाई आगामी वर्षहरूमा अझ प्रभावकारी बनाइनेछ,’ उनको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत जालान्धार भूसालले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै पढाइ मेलाले विद्यार्थी, शिक्षक र अभिभावकलाई एउटै मञ्चमा ल्याएर सिकाइको साझा वातावरण निर्माण गरेको बताए।
उनले यस्ता कार्यक्रमले विद्यालयमा नियमित पठनपाठनसँगै अध्ययन संस्कृतिलाई संस्थागत गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।

हिमा गाउँपालिकाको चौथो पढाइ मेलाले हिमाली क्षेत्रमा शिक्षाप्रतिको सामूहिक प्रतिबद्धता, पुस्तकमैत्री समाज निर्माणको संकल्प र उज्ज्वल भविष्यतर्फको साझा यात्राको प्रेरणादायी अभियानका रूपमा स्थापित भएको कालिका मावि तलिकुडूका प्रधानाध्यापक डिल्ली प्रसाद आचार्यले बताए।

















