शनिबार, ३० जेष्ठ, २०८३

चीनको ‘लुबान वर्कसप’ को अनुभव: विकास र प्रविधिको मोडेलबाट नेपालले सिक्नुपर्ने पाठ


“भाषा केवल संवादको माध्यम मात्र होइन, यो त राष्ट्रिय स्वाभिमानको खम्बा हो” भन्ने चिनियाँ बुझाइ मनछुने छ। पश्चिमा संस्कृतिको अन्धधुन्ध नक्कल गरिरहेका हामी नेपालीका लागि, आफ्नो मौलिकता, भाषा र सांस्कृतिक राष्ट्रवादलाई जोगाएरै पनि प्रविधिको शिखरमा पुग्न सकिन्छ भन्ने चीनको आत्मनिर्भरताले हीनताबोधबाट मुक्त हुने ठूलो पाठ सिकाएको छ।

भनिन्छ, “हजारौँ माइलको यात्रा पनि एउटै सानो पाइलाबाट सुरु हुन्छ।” एसियाली देशका प्रतिनिधि शिक्षकहरूका लागि चीनमा आयोजित “ट्रेनिङ प्रोग्राम फर ब्याकबोन टिचर्स अफ लुबान वर्कसप इन एसियन कन्ट्रिज” नामक विशेष तालिम कार्यक्रममा सहभागी हुने अवसर पाउँदा मेरो जीवन, शिक्षण पद्धति र राष्ट्रिय विकासप्रतिको मेरो सोचमा एउटा नयाँ आयाम थपिएको छ।

नेपालको परिवेश, विशेष गरी कर्णालीको भू-धरातल र त्यहाँको शैक्षिक एवं प्रशासनिक अवस्थालाई नजिकबाट भोगिरहेको एक शिक्षकका लागि चीनको यो बसाइ केवल एउटा तालिम मात्र रहेन, बल्कि यो विकास र समृद्धिको एउटा जीवन्त विश्वविद्यालय साबित भयो।

निङ्बो पोलिटेक्निक युनिभर्सिटीको आयोजनामा सन् २०२६ मे २१ देखि जुन ३ सम्म सञ्चालन भएको यस १५ दिने कार्यक्रमका क्रममा चीनको पूर्वी तटमा अवस्थित औद्योगिक एवं व्यापारिक केन्द्र निङ्बो (झेजियाङ प्रोभिन्स) र उत्तर-पूर्वी तटमा रहेको पर्यटकीय एवं आधुनिक सहर चिङ्दाओ (सान्दोङ प्रोभिन्स) को प्रत्यक्ष भ्रमण र अध्ययन गर्ने अवसर मिल्यो।

प्रविधिको उच्चतम विकास र भौतिक पूर्वाधारको यो अनुपम सङ्गमलाई नियाल्दा मैले कल्पना गरेभन्दा धेरै माथि विकासको त्यो रूप देखेँ, जसले मानिसको दैनिक जीवनलाई प्रविधिसँग अभूतपूर्व रूपमा जोडेको छ। यो यात्राका अनुभव, त्यहाँको प्रविधिको मोडालिटी र हाम्रो देश नेपालका लागि यसले दिने सिकाइलाई यहाँ समेट्ने प्रयास गरेको छु।

१. ‘लुबान वर्कसप’ को चुरो: सीप, उद्योग र कार्यसंस्कृतिको त्रिवेणी
​चीनको प्राविधिक तथा व्यावसायिक शिक्षाको एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड ‘लुबान वर्कसप’ को मूल अवधारणा र कार्यशैलीलाई बुझ्नु यो तालिमको मुख्य सार थियो। यस अवधिमा चिनियाँहरूको कडा समयपालना (पन्चुअलिटी), पाहुनाप्रतिको उच्च आदर र आफ्नो कामप्रतिको अगाध निष्ठा साँच्चै सिक्न लायक देखियो।

एसियाका विभिन्न देशका २५ जना सहभागी शिक्षक तथा अधिकारीहरूसँगको अन्तरक्रियाले प्राविधिक शिक्षालाई कसरी औद्योगिक आवश्यकतासँग (इन्डस्ट्री-एकाडेमिया कोलाबोरेसन) जोड्न सकिन्छ भन्ने कुराको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्‍यो। विकास रातारात हुँदैन, यसका लागि नागरिकको अनुशासन, दक्ष जनशक्ति र राज्यको स्पष्ट मार्गचित्र चाहिन्छ भन्ने कुरा चिनियाँ शैक्षिक र औद्योगिक प्रणालीलाई हेर्दा प्रष्ट हुन्थ्यो।

२. दुई विशिष्ट सहरको अनुभव: भौतिक र डिजिटल पूर्वाधारको सङ्गम

यो यात्राको क्रममा हामीले चीनका अत्यधिक विकसित दुई फरक र विशिष्ट सहरहरूको अनुभव गर्‍यौँ:

निङ्बो: यो संसारकै सबैभन्दा व्यस्त बन्दरगाह र औद्योगिक हब हो, जहाँ कलकारखाना र अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल यसरी बिछ्याइएको छ कि प्रत्येक सेकेन्डको उत्पादकत्वको हिसाब राखिन्छ।



चिङ्दाओ: समुद्रको किनारमा रहेको यो सहर आधुनिक गगनचुम्बी भवन, पर्यावरणमैत्री पूर्वाधार र व्यवस्थित सहरी सुन्दरताको एउटा उत्कृष्ट नमुना हो।

चीनको विकासको मुख्य विशेषता भनेको ‘भौतिक पूर्वाधार’ र ‘डिजिटल पूर्वाधार’ को बलियो सङ्गम हो। यातायातका लागि अत्याधुनिक सबवे/मेट्रो रेल, द्रुत गतिको मोनोरेल र बुलेट ट्रेनको सञ्जालले सहरहरूलाई यसरी जोडेको छ कि भूगोलको दूरी अब कुनै चुनौती नै रहेन। २८ देखि ३५ डिग्री सेल्सियसको ग्रीष्मकालीन तातो मौसममा पनि यी सहरहरूको वैज्ञानिक व्यवस्थापन, व्यापक हरियाली र प्रविधिको स्वचालित प्रयोगले यात्रालाई कति पनि थकान महसुस हुन दिएन।

३. ‘क्यासलेस’ र ‘स्मार्ट’ जीवनशैली: प्रविधिको उत्कृष्ट नमुना
​चीनमा प्रविधिको प्रयोग कुनै विलासिता वा देखावटी साधन नभएर मानिसको अनिवार्य जीवनशैली बनिसकेको छ। त्यहाँको प्रविधिको मोडालिटीलाई मुख्य रूपमा ‘क्यासलेस इकोनोमी’ ले प्रष्ट पार्छ। चीनमा अचेल ठूला सपिङ मलदेखि सामान्य सडक किनाराका पसलसम्म नगद (क्यास) को प्रयोग लगभग शून्य जस्तै भइसकेको छ।

सबै आर्थिक र सामाजिक कारोबारहरू मोबाइल एप्स (विशेष गरी विच्याट र अलिपे) मार्फत डिजिटल रूपमा क्युआर कोडबाट मात्र हुन्छन्। प्रविधिको यो मोडालिटीले वित्तीय पारदर्शिता बढाउनुका साथै मानव श्रम, स्रोतसाधन, नोट छपाइको खर्च र समयको ठूलो बचत गरेको छ।



४. पश्चिमाकरणको आँधीमा चीनको अभेद्य डिजिटल किल्ला र विकसित राष्ट्रवाद
​आजको आधुनिक विश्व पश्चिमा भाषा, हलिउड संस्कृति, र सिलिकन भ्यालीका प्रविधि (गुगल, फेसबुक, एप्पल) को वैचारिक उपनिवेश जस्तै बनेको छ।

संसारका अधिकांश देशहरू अमेरिकी प्रविधि र अङ्ग्रेजी भाषा नअपनाए आफू पछि परिने हीनताबोधमा बाँचिरहेका छन्। तर, यही विश्वव्यापीकरणको आँधीका बीच चीन एउटा यस्तो देश हो, जो पश्चिमा प्रविधि, भाषा र संस्कृतिबाट पूर्ण रूपमा अलग रहेर पनि आत्मनिर्भरताको शिखरमा पुगेको छ।

हाम्रो कल्पनामा इन्टरनेट र सञ्चार भनेकै गुगल, फेसबुक, युट्युब र ह्वाट्सएप हो। तर, चीनले सन् १९९० को दशकको अन्त्यतिर नै “द ग्रेट फायरवाल” नामक एउटा अभेद्य डिजिटल पर्खाल खडा गरेर पश्चिमा इन्टरनेट साम्राज्यलाई आफ्नो देशका सिमानामा छिर्नै दिएन।

यो कुनै सामान्य प्रतिबन्ध मात्र थिएन, बल्कि यो आफ्नो देशका नागरिकको डाटा सुरक्षित राख्ने (डाटा सोभरेन्टी) र सूचनालाई विदेशी एजेन्सीको नियन्त्रणबाट जोगाउने एउटा ठूलो राष्ट्रिय सुरक्षा रणनीति थियो।


चिनियाँहरूले पश्चिमा एपहरूलाई रोकेर आफ्नै देशभित्र फाइभ-जी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बिग डाटा, र क्लाउड कम्प्युटिङको उच्चतम प्रयोग गर्दै बाइडु (गुगलको विकल्प), विच्याट (फेसबुक/ह्वाट्सएपको विकल्प), र अलिबाबा जस्ता स्वदेशी प्रविधिको विकास गरे।

आज एउटै ‘विच्याट’ एपभित्र सञ्चार, बैंकिङ, सरकारी सेवा र व्यापार यसरी एकीकृत गरिएको छ कि पश्चिमा प्रविधिभन्दा उनीहरूको डिजिटल इकोसिस्टम कैयौँ गुणा बढी ‘स्मार्ट’ र शक्तिशाली भइसकेको छ। कतिपय चिनियाँहरूले बाहिरी संसार हेर्नका लागि भीपीएन वा प्रोक्सी प्रविधिको प्रयोग गरे तापनि, उनीहरूको दैनिक जीवन आफ्नै स्वदेशी प्रविधिमा पूर्ण आत्मनिर्भर छ।

यति मात्र होइन, भाषा र राष्ट्रियताको सवालमा चीनले मलाई सबैभन्दा ठूलो वैचारिक धक्का दियो। आज नेपालमा अङ्ग्रेजी शिक्षालाई यसरी जोड दिइएको छ कि आफ्नो भाषा, मौलिकता र संस्कृतिको सार नै नबुझी पश्चिमाकरणको अन्धधुन्ध नक्कल भइरहेको छ।

आफ्ना सन्तानलाई जसरी पनि अङ्ग्रेजी बोल्न जान्ने बनाउनुपर्छ र अङ्ग्रेजी बोल्न सक्ने बनाउनु नै ठूलो विद्वता र गर्वको विषय हो भन्ने एउटा ठूलो जमात नेपालमा खडा भएको छ। परसंस्कृति ग्रहणको यो आत्मघाती दौडले हाम्रो राष्ट्रियता नै कमजोर भइरहेको आभास हुन्छ।


तर, महाशक्ति चीनको सोच यसको ठ्याक्कै उल्टो पाइयो। त्यहाँका ठूला-ठूला विश्वविद्यालयका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रोफेसरहरू जसले मज्जाले अङ्ग्रेजी पढ्न र लेख्न सक्छन्, उनीहरूले पनि औपचारिक मञ्च वा कक्षाकोठामा अङ्ग्रेजीभन्दा आफ्नै मातृभाषामा बोल्न बढी जोड दिएको र गर्व गरेको पाइयो।

चीनले ज्ञान र प्रविधिलाई अङ्ग्रेजीकरण गर्नुभन्दा विज्ञान, गणित र इन्जिनियरिङका आधुनिक सिद्धान्तहरूलाई चिनियाँ भाषामै अनुवाद गरेर पढाउँछ। विद्यार्थीहरू परीक्षाका लागि अङ्ग्रेजी पढे पनि दैनिक जीवन र कुराकानीमा चिनियाँ भाषामै संवाद गर्छन्। उनीहरू आफ्नो पहिचान र संस्कृतिप्रति यति सचेत छन् कि गल्ती अङ्ग्रेजी बोलेर हाँसोको पात्र बन्नुभन्दा आफ्नै भाषामा गर्वका साथ ट्रान्सलेटर एप प्रयोग गरेर संवाद गर्न रुचाउँछन्।

“भाषा केवल संवादको माध्यम मात्र होइन, यो त राष्ट्रिय स्वाभिमान र अस्तित्वको खम्बा हो” भन्ने चिनियाँहरूको बुझाइ स्पष्ट छ।

आफ्नो भाषा, मौलिकता र सांस्कृतिक राष्ट्रवादलाई जोगाएरै पनि प्रविधिको शिखरमा पुग्न सकिन्छ भन्ने चीन एउटा जीवन्त उदाहरण हो, जसले अङ्ग्रेजी भाषा नबोल्दा हीनताबोध गर्ने हामी नेपालीलाई ठूलो पाठ सिकाएको छ।


५. तालिमको मोडालिटी: नेपालको ‘भाषण र थपडी’ भर्सेस चीनको ‘गरेर सिक्ने’ संस्कृति
​नेपाल र चीनको तालिम तथा सञ्चालन पद्धतिमा पनि जमिन-आकासको फरक देखियो। नेपालमा आयोजना हुने अधिकांश सरकारी वा गैरसरकारी तालिम, कार्यशाला र सेमिनारहरू केवल “उद्घाटन, आसन ग्रहण, लामो भाषण, खादा-माला र भत्ता” मै सीमित हुन्छन्।

हलमा उभिने सहजकर्ताहरू (ट्रेनर) समेत अक्सर पर्याप्त पूर्वतयारी बिना नै केवल ‘लेक्चर मेथड’ मा विषयवस्तु भटभट्याएर समय कटाउँछन्। सहभागीहरूको भूमिका पनि अन्त्यमा थपडी बजाउने, हस्ताक्षर गर्ने र कार्यक्रम समापन गर्नेमै सीमित हुन्छ। यो प्रवृत्तिले देशको ठूलो साधन, स्रोत र अमूल्य समयको अनुत्पादक खर्च (अनप्रोडक्टिभ वेस्ट) मात्र भइरहेको छ।

​यसको ठीक विपरीत, चीनको यो छोटो अवधिको कार्यक्रममा समय र स्रोतको उच्चतम सदुपयोग देखियो। त्यहाँ कतै पनि आसन ग्रहण वा आत्मप्रशंसाको अनावश्यक तडकभडक थिएन। कार्यक्रम सुरु भएको पहिलो मिनेटदेखि नै ‘लर्निङ बाइ डुइङ’ (गरेर सिक्ने) को वास्तविक र व्यावहारिक प्रयोग हुन्थ्यो।

शिक्षक र सहजकर्ताहरू पूर्ण तयारीका साथ आउँथे र सहभागी आफैँलाई प्रयोगशाला (ल्याब्स) र कार्यशालामा प्रत्यक्ष रूपमा काम गर्न लगाएर सीप सिकाइन्थ्यो। सैद्धान्तिक कुरालाई तत्कालै व्यावहारिक प्रयोगमा उतारेर हेर्ने उनीहरूको यो मोडालिटीले गर्दा थोरै समयमा पनि अधिकतम व्यावहारिक ज्ञान हासिल गर्न सम्भव भयो।


६. नेपाल र विशेष गरी कर्णालीका लागि सिकाइ
​हामी नेपालमा सधैँ स्रोत र साधनको कमी भएको तथा भूगोल कठिन भएको गुनासो गरिरहन्छौँ। तर चीनको यो रूप देखेपछि लाग्यो– इच्छाशक्ति, अनुशासन र सही प्रविधिको छनोट हुने हो भने असम्भव केही छैन। चीनको ‘लुबान वर्कसप’ मोडल, सूचना प्रविधिको विकास र समग्र कार्यशैलीबाट नेपालले, विशेष गरी हाम्रो कर्णाली प्रदेशले निम्न पाठहरू सिक्न सक्छ:

शिक्षा, सीप र उद्योगको एकीकरण: ‘लुबान वर्कसप’ को मूल मर्म नै प्राविधिक शिक्षालाई सिधै उद्योगको आवश्यकतासँग जोड्नु हो। हाम्रा विद्यालयहरूमा पनि अब परम्परागत सैद्धान्तिक विधिलाई विस्थापित गरी डिजिटल सिकाइ र ‘लर्निङ बाइ डुइङ’ को मोडेल तत्काल लागू गर्नुपर्छ।

आफ्नो भाषा र मौलिकतामा आधारित शिक्षा: चीनबाट सिकेर हामीले भाषाको हीनताबोधबाट मुक्त हुनुपर्छ। अङ्ग्रेजी भाषालाई एउटा अन्तर्राष्ट्रिय सञ्चारको ‘साधन’ का रूपमा मात्र सिक्ने तर ज्ञान, विज्ञान र हाम्रा मौलिक प्रविधि (जस्तै कर्णालीका रैथाने सीप, जडिबुटी र स्थानीय प्रविधिक ज्ञान) लाई आफ्नै भाषा र शैलीमा संरक्षण र विकास गर्नुपर्छ।

तालिम र कार्यसंस्कृतिको पुनर्संरचना: नेपालका शैक्षिक तथा प्रशासनिक निकायहरूले अब भाषण र आसन ग्रहणको पुरातनवादी ‘थपडी संस्कृति’ लाई त्याग्नैपर्छ। प्रत्येक योजना र तालिमलाई परिणाममुखी (रिजल्ट-ओरिएन्टेड) बनाउनका लागि चिनियाँ मोडल जस्तै शतप्रतिशत प्रयोगात्मक बनाउनु आवश्यक छ।


डिजिटल प्रणालीको आत्मसात्: प्रशासनिक र शैक्षिक क्षेत्रमा पारदर्शिता र गति ल्याउनका लागि चिनियाँ मोडल जस्तै डिजिटल भुक्तानी र अनलाइन व्यवस्थापन प्रणालीलाई गाउँ-गाउँका विद्यालय र सरकारी कार्यालयसम्म विस्तार गर्न ढिला गर्नु हुँदैन।

कार्यसंस्कृति र समयको सम्मान: चिनियाँहरूबाट सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ भनेको योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नु हो। “थोरै बोल्ने, धेरै काम गर्ने” उनीहरूको शैली हामी नेपालीले आफ्नो प्रशासनिक र शैक्षिक क्षेत्रमा लागू गर्नैपर्छ।

७. विद्यालय र समाजमा रूपान्तरणका लागि ठोस कार्ययोजना
​चीनमा सिकेको यो ज्ञान र प्रविधिको मोडेललाई केवल स्मरण र आलेखमा मात्र सीमित नराखी, आफ्नो विद्यालय (विशेष गरी कर्णालीको परिवेश) र समाजमा जोड्नका लागि मैले निम्नअनुसारको तीन-चरणीय ठोस कार्ययोजना तयार गरेको छु:
​क) अल्पकालीन कार्ययोजना (तत्काल लागू गरिने – विद्यालय र समुदाय स्तरमा)

१. ‘लेक्चर’ विधि कटौती र ‘प्रोजेक्ट’ मोडेल: विद्यालयमा शिक्षण सिकाइ गर्दा परम्परागत ५० मिनेटको लेक्चर विधिलाई परिमार्जन गरी २५ मिनेट सिद्धान्त र २५ मिनेट ‘लर्निङ बाइ डुइङ’ (परियोजना कार्य/प्रयोगात्मक अभ्यास) मा परिणत गरिनेछ।

२. स्मार्ट क्लासरुम र ट्रान्सलेटर/डिजिटल टूल्सको प्रयोग: उपलब्ध कम्प्युटर ल्याब र डिजिटल बोर्डहरूको अधिकतम प्रयोग गरिनेछ। आवश्यक साधन स्रोतको व्यवस्था गर्नका लागि विद्यालयका प्र.अ., विद्यालय व्यवस्थापन समिति र समुदायसँग समन्वय र छलफल गरी समस्याको समाधान गर्दै विद्यार्थीहरूलाई डिजिटल प्रविधिको उच्चतम प्रयोगका साथ कक्षामा रमाइलो वातावरण सिर्जना गरी आफ्नै भाषामा अनुवाद गरेर अध्ययन गर्न सिकाइनेछ।

३. समय व्यवस्थापन (पन्चुअलिटी): विद्यालयको प्रत्येक घण्टी, बैठक र अतिरिक्त क्रियाकलापलाई ‘एक मिनेट पनि ढिलो नहुने’ गरी मूल्यवान समयको भरपूर सदुपयोग गर्नका लागि आफैँबाट लागू गर्दै क्रमशः यस मान्यतालाई विद्यालय र समुदाय स्तरमा संस्कृतिकै रूपमा विकास गर्न पहलकदमी गर्नेछु।


ख) मध्यकालीन कार्ययोजना (६ महिनादेखि १ वर्षभित्र – स्थानीय स्तरमा)
​१. ‘थपडी संस्कृति’ मुक्त शिक्षक तालिमको सुरुवात: स्थानीय तह र शैक्षिक निकायहरूसँगको समन्वयमा सञ्चालन हुने शिक्षक तालिमहरूमा आसन ग्रहण, खादा-माला र लामो भाषणको परम्परालाई पूर्ण रूपमा विस्थापित गर्नका लागि यस तालिमबाट सिकेका अनुभवहरू आफू सहभागी सेमिनार, बैठक र तालिमहरूमा उठाउँदै नेतृत्वदायी भूमिका खेल्नेछु।

२. विद्यालयको प्रशासनिक ‘डिजिटलाइजेसन’: विद्यालयका सूचना, विद्यार्थीको हाजिरी, नतिजा र आर्थिक कारोबारलाई क्रमशः पेपरलेस र डिजिटल बनाउनका लागि मोबाइल एप र अनलाइन प्रणालीको सुरुवात गर्नका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नेछु।

३. स्थानीय सीप र उद्यमशीलताको प्रवर्द्धन: विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय रैथाने प्रविधि, परम्परागत कला र संस्कृतिप्रति गर्व गर्न सक्ने शिक्षा प्रदान गर्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका कुराहरूलाई सकेसम्म प्रोजेक्ट ओरिएन्टेड, व्यावहारिक र प्रयोगात्मक बनाउन मेरो अधिकतम कोसिस सदैव रहनेछ।


ग) दीर्घकालीन कार्ययोजना (२ देखि ३ वर्षभित्र – कर्णाली प्रदेश स्तरमा)
​१. ‘कर्णाली लुबान वर्कसप’ मोडेलको वकालत: समग्रमा नेपाल र कर्णाली प्रदेशका प्राविधिक तथा व्यावसायिक शिक्षालयहरूलाई सिधै स्थानीय उद्योग, जलविद्युत आयोजना, र कृषि फर्महरूसँग जोड्ने (स्कुल-टु-इन्डस्ट्री लिंकेज) साथै माटो सुहाउँदो मौलिक ज्ञानमा आधारित नीतिगत मोडेलको योजना निर्माण र कार्यान्वयनका लागि स्थानीय सरकार, समुदाय, आमसञ्चार र सरोकारवाला अन्य निकायसँग बहस, पैरवी र वकालत गरिनेछ।

२. मौलिक पाठ्यसामग्रीको निर्माण: आफू एक अङ्ग्रेजी शिक्षक भएको नाताले अङ्ग्रेजी विषय आफैँमा ज्ञान नभई केवल भाषाको माध्यम मात्र भएको सत्य आत्मसात् गर्दै स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनहरूलाई नै शैक्षिक सामग्रीका रूपमा प्रयोगमा जोड दिनेछु।

सोही अनुसार शिक्षण सिकाइमा सक्रिय हुनुका साथै अन्य विषयका साथीहरूलाई पनि आफूले हासिल गरेको ज्ञान सेयरिङ र समन्वय गर्दै सरल नेपाली वा स्थानीय परिवेश सुहाउँदो मौलिक ज्ञानमा जोड दिन योगदान पुर्‍याउनेछु।


​निङ्बो पोलिटेक्निक युनिभर्सिटीको यो १५ दिनको विशेष व्यवस्थापन र चिनियाँ बसाइले मेरो मनमा एउटा दृढ सङ्कल्प पैदा गरेको छ। हामी सधैँ अरूको विकास, भाषा र प्रविधि हेरेर अचम्मित मात्र हुने कि आफ्नो ठाउँ र मौलिकताबाट परिवर्तनको सुरुवात गर्ने?

विकास ठूला भाषण वा विदेशी संस्कृतिको अन्धो नक्कलले होइन, आफ्नो भाषा, संस्कृति, राष्ट्रिय स्वाभिमान, सूचना प्रविधिको सही सदुपयोग र कामप्रतिको इमानदार निष्ठाबाट हुन्छ।

चीनमा मैले देखेको प्रविधिको यो मोडालिटी र ‘गरेर सिक्ने’ कार्यसंस्कृतिलाई आफ्नो कार्यक्षेत्रमा, आफ्ना विद्यार्थीहरूमाझ र आफ्नो समाजमा सकारात्मक ऊर्जाका रूपमा प्रवाह गर्ने प्रतिबद्धताका साथ यो यात्रा मेरो जीवनको एउटा अविस्मरणीय कोसेढुङ्गा बनेको छ

(लेखिका जुम्ला स्थित रत्न चूडेश्वर माध्यमिक विद्यालय बोहरगाउँकि शिक्षिका हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार