बिहीबार, २८ जेष्ठ, २०८३

जुम्लामा ठेउलाको प्रकोप : त्रास होइन, सचेतना, सहकार्य र जिम्मेवारीको समय

धेरैजसो बिरामीलाई अस्पताल भर्ना हुन आवश्यक पर्दैन। पर्याप्त आराम, प्रशस्त पानी तथा झोल पदार्थको सेवन, व्यक्तिगत सरसफाइ र चिकित्सकीय सल्लाहअनुसारको उपचारबाट रोग निको हुन्छ। ज्वरो नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल प्रयोग गर्न सकिन्छ। दाना कोट्याउने वा फोका फुटाउने काम गर्नु हुँदैन, किनकि यसले छालामा संक्रमण हुने तथा स्थायी दाग बस्ने जोखिम बढाउँछ

पछिल्ला केही सातायता जुम्लाका विभिन्न स्थानमा ठेउला (चिकेनपक्स/भेरिसेला) का बिरामीहरूको संख्या बढ्दै गएको छ। हालसम्म ४० भन्दा बढी संक्रमितहरू पहिचान भइसकेका छन्। अधिकांश बिरामीको अवस्था सामान्य रहे पनि रोगको संक्रामक प्रकृतिका कारण समुदायस्तरमा विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ।

स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकोपका बेला समाजमा हल्ला, भ्रम र अनावश्यक त्रास फैलिने सम्भावना रहन्छ। त्यसैले सबैभन्दा पहिले जुम्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु—ठेउला देखिँदैमा आत्तिनु पर्दैन, तर बेवास्ता पनि गर्नु हुँदैन।

हामीमध्ये धेरैले बाल्यकालमै यो रोग भोगिसकेका छौँ। यो कुनै नयाँ रोग होइन। तर एकै समयमा धेरै व्यक्तिमा संक्रमण देखिन थालेपछि यसको फैलावट रोक्न सामूहिक प्रयास आवश्यक हुन्छ। ठेउला भेरिसेला–जोस्टर भाइरस (Varicella-Zoster Virus) बाट हुने अत्यन्त संक्रामक रोग हो।

संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने सूक्ष्म कण तथा छालामा आएका फोकाभित्रको तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सजिलै सर्छ। संक्रमित व्यक्तिले शरीरमा दाना देखिनुभन्दा एकदेखि दुई दिन अघिदेखि नै अरूलाई संक्रमण सार्न सक्छ र सबै फोकाहरू सुक्दै पाप्रा नबस्दासम्म संक्रमण फैलाउने क्षमता रहन्छ।

ठेउलाका सामान्य लक्षणहरूमा ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने, भोक कम लाग्ने र टाउको दुख्ने जस्ता समस्या देखिन्छन्। त्यसपछि शरीरमा साना राता दानाहरू देखा पर्छन्, जुन पछि पानी भरिएका फोकामा परिणत हुन्छन्। यी फोकाहरू विस्तारै सुक्दै पाप्रा बन्छन् र अधिकांश बिरामी केही साताभित्र पूर्ण रूपमा निको हुन्छन्।

सौभाग्यवश, धेरैजसो बिरामीलाई अस्पताल भर्ना हुन आवश्यक पर्दैन। पर्याप्त आराम, प्रशस्त पानी तथा झोल पदार्थको सेवन, व्यक्तिगत सरसफाइ र चिकित्सकीय सल्लाहअनुसारको उपचारबाट रोग निको हुन्छ। ज्वरो नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल प्रयोग गर्न सकिन्छ। दाना कोट्याउने वा फोका फुटाउने काम गर्नु हुँदैन, किनकि यसले छालामा संक्रमण हुने तथा स्थायी दाग बस्ने जोखिम बढाउँछ।

हालको अवस्थामा अभिभावकहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। यदि बालबालिकामा ज्वरो, चिलाउने दाना वा पानी भरिएका फोकाहरू देखिएमा उनीहरूलाई घरमै आराम गर्न दिनुपर्छ। शरीरका सबै फोकाहरू सुक्दै पाप्रा नबस्दासम्म विद्यालय, ट्युसन कक्षा, खेलकुद गतिविधि वा भीडभाड हुने स्थानमा पठाउनु हुँदैन। बालबालिकाको नङ छोटो काटिदिनु उपयुक्त हुन्छ, जसले दाना कोट्याउने बानी कम गरी संक्रमण र दाग बस्ने सम्भावना घटाउँछ।

विद्यालय, छात्रावास तथा बालबालिकाहरूको घनिष्ठ सम्पर्क हुने स्थानमा संक्रमण तीव्र रूपमा फैलिन सक्छ। त्यसैले विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्वास्थ्यकर्मीबीचको समन्वय अहिलेको प्रमुख आवश्यकता हो। रोग लागेका व्यक्तिलाई हेप्ने, दोष दिने वा सामाजिक रूपमा अलग गर्ने होइन, आवश्यक सहयोग, सहानुभूति र हौसला प्रदान गर्ने संस्कार विकास गर्नुपर्छ।

ठेउला सामान्यतया बालबालिकामा हल्का हुने भए पनि सबैका लागि समान रूपमा हल्का हुँदैन। विशेषगरी गर्भवती महिला, नवजात शिशु, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा यो रोग गम्भीर बन्न सक्छ। यस्ता व्यक्तिहरूमा निमोनिया, मस्तिष्कको संक्रमण, छालाको गम्भीर संक्रमण लगायतका जटिलता देखिन सक्छन्।

दुर्लभ अवस्थामा ज्यानसमेत जोखिममा पर्न सक्छ। पहिले कहिल्यै ठेउला नभएका वा ठेउलाविरुद्धको खोप नलगाएका गर्भवती महिलाहरू संक्रमित व्यक्तिको सम्पर्कमा आएमा तुरुन्त चिकित्सकीय परामर्श लिनुपर्छ। गर्भावस्थामा भएको संक्रमणले आमा र गर्भस्थ शिशु दुवैलाई असर गर्न सक्छ।

यदि बिरामीमा सास फेर्न गाह्रो हुने, लगातार उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, पटक–पटक बान्ता हुने, अत्यधिक निद्रा लाग्ने वा अलमलिने, खाना वा पानी खान नसक्ने, शरीरमा पानीको कमी हुने, आँखामा असर देखिने वा छालाका घाउ अत्यधिक राता, सुन्निएका तथा दुख्ने भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

अर्को महत्वपूर्ण कुरा, ठेउला निको भएपछि पनि यसको भाइरस शरीरभित्र सुप्त अवस्थामा रहन सक्छ। जीवनको पछिल्लो चरणमा, विशेषगरी वृद्धावस्था वा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा, यही भाइरस पुनः सक्रिय भई “जनै खटेरा” (Shingles) का रूपमा देखा पर्न सक्छ। त्यसैले ठेउला केवल बाल्यकालको रोग मात्र नभई दीर्घकालीन स्वास्थ्यसँग पनि सम्बन्धित विषय हो।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका बालबालिकालाई कम्तीमा २१ दिनसम्म निगरानीमा राख्नु उपयुक्त हुन्छ। यस अवधिमा ज्वरो, दाना वा अन्य लक्षण देखिएमा स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थालाई जानकारी गराउनुपर्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले वर्तमान अवस्थालाई गम्भीरतापूर्वक लिएको छ।

प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित टोलीहरू रोगको निगरानी, उपचार सेवा, जनचेतना अभिवृद्धि तथा आवश्यक समन्वयमा सक्रिय छन्। आवश्यकता अनुसार स्थानीय तह, विद्यालय, सरोकारवाला निकाय तथा समुदायसँग सहकार्य गर्दै संक्रमण नियन्त्रणका प्रयासहरूलाई अझ प्रभावकारी बनाइनेछ।

हामीले विगतमा पनि विभिन्न स्वास्थ्य चुनौतीहरूको सफलतापूर्वक सामना गरेका छौँ। यसपटक पनि सही सूचना, वैज्ञानिक सोच, व्यक्तिगत जिम्मेवारी र सामुदायिक सहकार्यका माध्यमबाट ठेउलाको फैलावट नियन्त्रण गर्न सकिनेमा म विश्वस्त छु।

अन्त्यमा, स्वास्थ्य केवल स्वास्थ्यकर्मीहरूको मात्र जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो। आउनुहोस्, अफवाह होइन तथ्यमा विश्वास गरौँ। त्रास होइन सतर्कता अपनाऔँ। रोग लुकाउने होइन, समयमै जानकारी गराउने संस्कार विकास गरौँ। स्वस्थ जुम्ला निर्माणका लागि आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गरौँ।

(लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका प्रमुख हुनुहुन्छ।)

डा. बिनम्र विष्ट

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार