जुम्ला पातारासी गाउँपालिका -६ रिनीकी उम्मकली बुढा साहस र प्रेरणाको अर्को नाम हुन। उहाँले पहिलो पटक जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुर्ता–सुरुवाल जस्तो परम्परागत पहिरनमै दौडिएर सबैको ध्यान आकर्षित गर्नुभएको थियो।
त्यो अनौठो पहिरन र आत्मविश्वासले उहाँलाई विशेष पहिचान दिलायो। त्यसयता उहाँले धेरै म्याराथनहरूमा निरन्तर सहभागिता जनाउँदै आफ्नो खेल यात्रा अघि बढाइरहनुभएको छ।
उम्मकली आज एक धाविका मात्र नभई महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्। परम्परा र आधुनिक खेलकुदलाई एउटै रूपमा जोड्दै उहाँले आफ्नो मेहनत र साहसले समाजमा नयाँ सन्देश दिनुभएको छ।
आज हामी उनीसँग छोटो र रमाइलो अनौपचारिक कुराकानी गर्दैछौं।
यहाँलाई स्वागत छ, नमस्कार।
नमस्कार।
तपाईंको परिचयसहित यो जुम्ला–रारा अल्ट्रा म्याराथनमा कसरी–कसरी दौडिनुभयो बताइदिनुस् न, पहिलोपल्ट कसरी दौडिनुभयो?
नमस्ते म उमकली बुढा, घर पातारासी गाउँपालिका -६ रिनीमा हो। म दौडन थालेको पहिलो वर्षबाट हो, पहिलो वर्ष छोराको नागरिकता बनाउन आएकी थिएँ। प्रतियोगिता हुन लागेको थाहा पाएपछि नाम लेखेर कुर्ता सुरुवालमा दौडिएकी थिएँ।
पहिलोपल्टबाटै हो है? त्यो बेला तपाईं कुर्ता सुरुवाल लाएर दौडिनुभएको थियो। तपाईंले ब्याच र ड्रेस पाउनुभएन र त्यतिबेला?
ड्रेस र ब्याच त थियो तर अनि म कुर्ता सुरुवालमै दौडिएँ।
तपाईंलाई त्योबेला ड्रेसमा दौडिन सजिलो लागेन ?
अँ, टिसर्ट बाँडिएको त थियो, अरूले चाहिँ लगाए। मलाई टिसर्ट र कट्टु लगाउन अप्ठ्यारो लाग्यो।
अनि त्यो बेला तपाईं कति उमेरको हुनुहुन्थ्यो?
३८ वर्षको।
३८ वर्षको हुनुहुन्थ्यो? अनि त्यतिबेला तपाईं कति नम्बरमा आउनुभयो? तपाईंको पोजिसन के थियो?
आठौँमा।
आठौँमा आउनुभयो? त्यसपछाडि तपाईं जुम्ला रारा म्याराथन कति पटक म्याराथनमा दौडिनुभयो?
जुम्ला–रारा अल्ट्रा म्यमराथनमा अब यो पटक गरि सातौं भयो।
सातको सातै पटकसम्म है। अनि ती प्रत्येक पटक तपाईं कति–कति पोजिसनमा आउनुभयो त?
पहिलो वर्ष आठौँमा, चार वर्ष चौथौँ, दुई वर्ष पाँचौँ, अनि पटक दुई पटक आठौँमा आए।
दुई पटक आठौँमा आउनुभयो। यो पालि पनि दौडिदै हुनुहुन्छ। कस्तो तयारी गर्नुभएको छ त?
तयारी त केही छैन। यतिबेला खेती लगाउन लागेकी थिएँ। हिजोसम्म छिटो–छिटो खेती लगाएर सकेपछि यता आएकी हुँ।
के लगाउनुभएको छ र खेतबारीमा?
आलु, मकै, सिमी लगाएकि छु।
अनि यो पालि के हुन्छु जस्तो लाग्छ तपाईंलाई?
यो पालि हेरौँ के हुन्छ। तर यसपटक पनि फिनिसिङ गर्छु भनेर ढुक्कसँग भन्छु।
सधैँ ट्रेनिङ गरेको भए त तपाईं गज्जब गर्नुहुने रहेछ नी है। सात–सात पटक दौडिँदा पनि तालिम किन नगर्नु भएको नी?
तालिम गर्ने समय हुन्न, घरको काम गर्नुपर्छ। खेती लगाउनु पर्छ।
विना तालिम घरको काम गरेर पनि तपाईंको खेलप्रतिको यो लगाव धेरैका लागि प्रेरणादायी छ। तपाईंलाई धेरैधेरै धन्यवाद छ।
तपाईंलाई पनि धन्यवाद छ।
















