हिमा गाउँपालिका–१ देवार गाउँका छत्र बहादुर शाहीले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
उनले नयाँ वर्षको अवसर पारेर सुर्खेतमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले स्थानीय विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष जोडिने र विकासका कामलाई प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको बताए।
‘हिमा गाउँपालिकाको समग्र विकासका लागि स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेको हुँ,’ उनले भने।
स्थानीय महेश जंग शाहीका अनुसार छत्र बहादुर शाही लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका व्यक्ति हुन् र स्थानीयस्तरमा उनको राम्रो जनसम्पर्क रहेको छ।
यसैगरी, उम्मेदवार शाहीले पनि आफू जनताको विश्वास जित्नेमा आशावादी रहेको बताए।
स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा हिमा गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको रूपमा शाहीको प्रवेशले राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ।
















