कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा फरेन्सिक विशेषज्ञ डा. विनम्र विष्ट नियुक्त भएका छन्। सरकारले उनलाई आर्थिक अधिकारसहित प्रतिष्ठानको जिम्मेवारी दिएको हो।
राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएका उपकुलपति, रेक्टर, रजिस्ट्रार, डाइरेक्टर, डिन समेतलाई अध्यादेशमार्फत हटाइएपछि प्रतिष्ठानको नेतृत्व अस्थायी रूपमा डा. विष्टको काँधमा आएको हो।
तीन वर्षअघि फरेन्सिक विशेषज्ञका रूपमा जुम्ला आएका डा. विष्ट स्वास्थ्य सेवामा सक्रिय, अनुशासित र नियमित रूपमा काम गर्ने चिकित्सकका रूपमा परिचित छन्। दुर्गम कर्णालीमा चिकित्सक अभाव, स्वास्थ्य पूर्वाधारको कमजोरी तथा सेवा प्रवाहका चुनौतीबीच पनि उनले निरन्तर अस्पताल र शैक्षिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
स्वास्थ्य क्षेत्रका समस्या र समाधानका विषयमा उनी विभिन्न समयमा लेख तथा धारणा सार्वजनिक गर्दै आएका छन्। कर्णालीको स्वास्थ्य अवस्थालाई सुधार गर्न नीति, जनशक्ति व्यवस्थापन र सेवामुखी प्रणाली आवश्यक रहेको विषयमा उनले पटक–पटक आवाज उठाएका थिए। त्यसैले पनि उनको नियुक्तिलाई धेरैले सकारात्मक रूपमा हेरेका छन्।
प्रतिष्ठान अहिले प्रशासनिक तथा नीतिगत संक्रमणको अवस्थाबाट गुज्रिरहेको बेला सरकारले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने डा. विष्टको प्रतिबद्धता छ। ‘विषम परिस्थितिमा पनि प्रतिष्ठानको सेवा, शैक्षिक गतिविधि र स्वास्थ्य प्रणालीलाई नियमित र प्रभावकारी बनाउने प्रयास गर्नेछु,’ उनले भने।
कर्णाली प्रदेशका दुर्गम जिल्लाका नागरिकका लागि स्वास्थ्य सेवाको मुख्य केन्द्रका रूपमा रहेको प्रतिष्ठानलाई स्थिर नेतृत्व आवश्यक रहेको चर्चा भइरहेका बेला डा. विष्टलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी दिइऐको बताइएको छ।
















