‘अछेता’ नाटक मात्र नभई, यो कर्णालीको समाज, वर्ग, पीडा, संघर्ष र पहिचानको कथा हो। यसका लेखक तथा निर्देशक गोविन्द सुनार स्वयं संघर्षबाट उठेका कलाकार हुन्।
कर्णालीको माटो, दुःख, संघर्ष र सपनालाई रंगमञ्चमा उतार्ने प्रयाससहित निर्देशक, लेखक तथा कलाकार गोविन्द सुनार आफ्नो नयाँ नाटक अछेता लिएर दर्शकमाझ आउँदैछन्। जेठ १ गतेदेखि २५ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुने यो नाटक अहिले मञ्चनअघि नै चर्चामा छ।
नेपाली रंगमञ्चमा यति धेरै चर्चा पाएको नाटक विरलै देखिन्छ। ‘अछेता’ नाटक मात्र नभई, यो कर्णालीको समाज, वर्ग, पीडा, संघर्ष र पहिचानको कथा हो। यसका लेखक तथा निर्देशक गोविन्द सुनार स्वयं संघर्षबाट उठेका कलाकार हुन्।
जुम्लाको कामी टोलमा जन्मिएका गोविन्दको बाल्यकाल अभाव र दुःखमै बित्यो। पाँच वर्षको उमेरमै बुवालाई गुमाएका उनी आमाको संघर्षमा हुर्किए। उनका बुवाले बहुवि गरेका थिए र परिवारको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा आयो। बिहानदेखि बेलुकासम्म मजदुरी, मेलापात, दाउरा बोकेर तीन छोरालाई हुर्काएकी आमाको त्याग गोविन्दको जीवनकै सबैभन्दा ठूलो प्रेरणा बन्यो।
गोविन्द सम्झिन्छन्, ‘आमाले कहिल्यै थाकेको भनिनन्। उहाँले सधैं भन्नुहुन्थ्यो, इज्जत कमाउनुपर्छ, तौलिन सिक्नुपर्छ।’
बाल्यकालदेखि नै अभिनय र कथामा आकर्षित गोविन्द विद्यालयमा औसत विद्यार्थी भए पनि नाटक, नृत्य र सांस्कृतिक कार्यक्रममा सधैं अगाडि हुन्थे। चलचित्र हेरेर साथीहरूसँग अभिनय गर्ने बानीले उनलाई विस्तारै रंगमञ्चतर्फ डोर्यायो।
एसएलसीमा आफ्नो टोलबाट प्रथम श्रेणी ल्याउने पहिलो विद्यार्थी बनेका गोविन्दले जुम्लामै प्लस टुसम्मको अध्ययन गरे। त्यसपछि काठमाडौं पुगेपछि उनको जीवनले नयाँ मोड लियो। सोसल वर्क विषय अध्ययन गर्दै गर्दा उनले पहिलो पटक सामाजिक विषयमा नाटक लेखे। कालिकोटमा जातीय विभेदका कारण भएको हत्याको घटनामा आधारित उनको म्युजिकल नाटकले सबैलाई प्रभावित बनायो।
त्यही क्रममा उनले पहिलो पटक ‘थिएटर’ भन्ने शब्दलाई नजिकबाट बुझे। पछि मण्डला थिएटरमा नाटक हेरेपछि भने उनको जीवनको दिशा नै बदलियो। विपिन कार्की अभिनित एउटा नाटकले उनलाई गहिरोसँग छोयो। उनले महसुस गरे, रंगमञ्च आफ्ना भावना व्यक्त गर्ने माध्यम बन्न सक्छ।
त्यसपछि उनले रंगमञ्च सिक्न संघर्ष सुरु गरे। चर्चित रंगकर्मी सुनिल पोखरेलसँग पुगेर उनले पैसा नभए पनि काम गरेर सिक्न तयार रहेको बताए। लगातार तीन दिनसम्म अनुरोध गरेपछि मात्रै उनले अभिनय सिक्ने अवसर पाए।
काठमाडौंमा संघर्ष सजिलो थिएन। कहिले जागिर, कहिले स्वयंसेवा, कहिले थिएटरमा पानी बोक्ने काम गर्दै उनले अभिनय सिके। तर आर्थिक अभावले बारम्बार उनलाई जुम्ला फर्कायो।
जुम्ला फर्किएपछि पनि उनले कला छोडेनन्। विद्यालयमा नाटक सिकाए, वातावरण र सामाजिक विषयमा म्युजिकल प्ले बनाए, युवाहरूसँग रंगमञ्चको अभ्यास गराए।
पछि उनले जुम्लामै ‘मोबाइल बक्स थिएटर’ सञ्चालन गरे। जुम्लामा उनले पम्फा फुल नाटक देखाए। जसको चर्चा आजसम्म पनि भइरहेको छ। सीमित स्रोत, उधारो सामान र स्थानीय युवासँग मिलेर गरिएको त्यो प्रयास कर्णालीकै पहिलो प्रयोगात्मक रंगमञ्चका रूपमा चिनियो।
त्यही क्रममा उनले फोहोर थुप्रिएको स्थानलाई सफा गरेर एउटा सानो क्याफे समेत सञ्चालन गरे। कोभिडको समयमा त्यही ठाउँ क्वारेन्टाइन बन्यो। उनले स्थानीय स्तरमै मास्क उत्पादन गरेर सेवा पनि दिए।
यही संघर्षबीच गोविन्दले चलचित्रमा अवसर पाए। उनले प्रकाश, मोदीबेनी र लालीबजार जस्ता चलचित्रमा अभिनय गरिसकेका छन्। ‘लालीबजार’ मा उनले चर्चित अभिनेत्री स्वस्तिमा खड्काका भाइको भूमिकामा अभिनय गरेका थिए। अहिले उनी अन्तर्राष्ट्रिय चलचित्रका लागि कास्टिङ निर्देशकको रूपमा समेत काम गरिरहेका छन्।
गोविन्दको पहिलो निर्देशन तथा लेखन रहेको नाटक ‘पम्फाफुल’ले दर्शकको ध्यान तानेको थियो। अब ‘अछेता’ उनको दोस्रो लेखन तथा निर्देशन हो। यो नाटकमा १५ जना कलाकारको अभिनय रहनेछ। शनिबार दुई शो हुनेछन् भने अन्य दिन नियमित साँझ ५:१५ बजे मञ्चन हुनेछ।
उनका अनुसार ‘अछेता’ काल्पनिक कथा मात्र होइन, समाजले बेवास्ता गरेका आवाजहरूको प्रतिनिधित्व हो। उनले आफ्नो जीवनका भोगाइ, आमाको संघर्ष, कर्णालीको यथार्थ र समाजका असमानतालाई नाटकमार्फत दर्शकमाझ ल्याउने प्रयास गरेका छन्।
कलाघरको प्रस्तुतिमा मञ्चन हुन लागेको ‘अछेता’ले नेपाली रंगमञ्चमा कर्णालीको कथा नयाँ ढंगले सुनाउने विश्वास गरिएको छ। संघर्षबाट उठेका कलाकार गोविन्द सुनारका लागि यो नाटक केवल प्रस्तुति होइन, आफ्नो पहिचान र अस्तित्वको आवाज पनि हो।
















