आर्थिक रूपमा कमजोर परिवारमा हुर्किएका पण्डितले प्रारम्भिक जीवनमा धेरै संघर्ष गर्नुपर्यो। सङ्गीतप्रतिको रुचि भए पनि अवसर र पहुँचको अभावले गर्दा आफ्नो प्रतिभा देखाउन सजिलो थिएन।
नेपालको विकट भूगोल, गरिबी र राज्यको उपेक्षालाई शब्द र स्वरमा उतार्दै आएका गायक तथा सङ्गीतकार सुरज पण्डित अहिले नेपाली सङ्गीत क्षेत्रमा एक सशक्त सामाजिक आवाजका रूपमा स्थापित भएका छन्। हालै सार्वजनिक भएको उनको नयाँ म्युजिक भिडियो भिर देखिन्छ पिरहरूको ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको यथार्थ कथा बोकेको छ।
यो गीत मनोरञ्जन मात्र नभई विकट बस्तीका जनताको जीवन संघर्षको सजीव दस्तावेज हो। भौगोलिक विकटता, विकासको अभाव र राज्यको कमजोर पहुँचका कारण कर्णाली र गोरखाका गाउँहरूमा बसोबास गर्ने मानिसहरूले भोग्दै आएका समस्याहरू गीतमा मार्मिक रूपमा चित्रण गरिएको छ।
राजधानीले नदेखेको गाउँको पीडा, चुनावपछि फर्केर नआउने नेता, विदेश पलायन भइरहेका युवाहरू र कागजमै सीमित विकासका नाराहरू, यी सबै यथार्थ गीतमार्फत उजागर भएका छन्।
२०४७ साल फागुन ११ गते जुम्लाको चन्दननाथ नगरपालिका–४ मा जन्मिएका सुरज पण्डितको बाल्यकाल कर्णालीको कठिन भौगोलिक परिवेशमै बित्यो। हिउँले ढाकिएका घर, घोडा-खच्चडको बाटो, स्वास्थ्य सेवा र पूर्वाधारको अभाव, यी सबैले उनको जीवन मात्र होइन, उनको सोच र सिर्जनालाई पनि गहिरो प्रभाव पारे।
आर्थिक रूपमा कमजोर परिवारमा हुर्किएका पण्डितले प्रारम्भिक जीवनमा धेरै संघर्ष गर्नुपर्यो। सङ्गीतप्रतिको रुचि भए पनि अवसर र पहुँचको अभावले गर्दा आफ्नो प्रतिभा देखाउन सजिलो थिएन।
काठमाडौं छिर्नुअघि उनले वनरक्षकको जागिरसमेत गरेका थिए। तर, मनभित्रको सङ्गीतप्रतिको लगावले उनलाई संगितको अनन्त यात्रातर्फ लाग्न प्रेरित गर्यो।
काठमाडौंको प्रतिस्पर्धी सङ्गीत बजारमा स्थापित हुनु कुनै सामान्य कुरा थिएन। तर, निरन्तर मेहनत, आत्मविश्वास र आफ्नो माटोको कथा सुनाउने दृढ इच्छाले पण्डितलाई अगाडि बढायो।
उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो रेलको बाटो। यस गीतले कर्णालीको पीडा, शहरी-ग्रामीण विभेद र विकासका अधुरा वाचाहरूलाई अत्यन्तै प्रभावकारी रूपमा प्रस्तुत गर्यो। ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा’ भन्ने भावले ग्रामीण जनजीवनको पीडा र आशालाई एकैसाथ व्यक्त गरेको छ।
यस गीतको सफलतापछि उनले सिंहदरबार जस्ता गीतमार्फत पनि सामाजिक सन्देशलाई निरन्तरता दिए। पुरुष, महिला र बालबालिकाको संस्करणमा प्रस्तुत गरिएको यस गीतले युट्युबमा लाखौं दर्शकको मन जित्यो।
सुरजको योगदान लोकप्रियतामा सीमित छैन, उनले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका छन्। बिन्द्यवासिनी म्युजिक ज्युरी अवार्ड (२०२१), रारा राष्ट्रिय सङ्गीत अवार्ड २०७९, रेडियो कान्तिपुर उत्कृष्ट नयाँ गायक अवार्ड २०७९ तथा कर्णाली प्रदेश सरकारको प्रादेशिक प्रतिभा पुरस्कार २०८० जस्ता सम्मानहरूले उनको सङ्गीत यात्रालाई थप उचाइ दिएका छन्।
उनका अन्य चर्चित गीतहरूमा ‘माया बस्यो जुम्ला बजारमा’, ‘नौ डाँडा’ र ‘तम्रा मनमा’ लगायतका गीतहरू पर्छन्। साथै, नेपाली फिल्म लाज शरणम् मा पनि उनले शब्द, सङ्गीत र स्वर दिएका छन्, जसले उनको बहुआयामिक प्रतिभालाई झल्काउँछ।
सुरजको सङ्गीत केवल मनोरञ्जनका लागि होइन, सामाजिक चेतनाको माध्यम पनि हो। उनका गीतहरूमा सामाजिक न्याय, मानवता, विकास र समानताको सन्देश पाइन्छ।
विशेषगरी कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य झरना, ताल, हिमाल र दुर्गम बस्तीलाई उनले गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेका छन्। तर, ती सुन्दर दृश्यभित्र लुकेको पीडा पनि उनले उत्तिकै शक्तिशाली रूपमा उजागर गर्छन्।
विभिन्न अन्तर्वार्तामा उनी आफ्नो संघर्ष सुनाउँन निकै भावुक हुन्छन्। वनरक्षकको जागिर छोडेर सङ्गीतमा लाग्दा भोगेका कठिनाइ र आफ्नो ठाउँको यथार्थले उनलाई सधैं प्रेरित गरिरहेको उनले बताएका छन्।
उनको नयाँ गीत भिर देखिन्छ पिरहरूको गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको छ। यो गीतले कर्णालीको पीडालाई गोरखासम्म विस्तार गर्दै एउटै सन्देश दिन्छ, विकट क्षेत्रका जनताको आवाज राज्यले सुन्नुपर्छ।
गीतमा देखाइएका दृश्यहरूले स्पष्ट सन्देश दिन्छन्, नेताहरू चुनावमा मात्र गाउँ पुग्छन्, युवाहरू विदेश पलायन भइरहेका छन् र विकासका योजना कागजमै सीमित छन्। यस्तो अवस्थामा सङ्गीतमार्फत आवाज उठाउनु नै उनको मुख्य उद्देश्य बनेको छ।
सुरजको जीवन यात्रा एउटा सामान्य व्यक्तिको सफलताको कथा मात्र होइन, यो कर्णाली र गोरखाका लाखौं नागरिकको प्रतिनिधित्व हो। वनरक्षकबाट राष्ट्रिय स्तरको गायक बन्ने उनको यात्रा संघर्ष, अठोट र आत्मविश्वासको उत्कृष्ट उदाहरण हो।
रेलको बाटो देखि भिर देखिन्छ पिरहरूको सम्म आइपुग्दा उनले दुर्गम नेपालको कथा निरन्तर गाइरहेका छन्। उनका गीतहरूले सधैं एउटा प्रश्न उठाउँछन्, के राज्यले साँच्चै दुर्गम क्षेत्रको आवाज सुनेको छ?
तसर्थ सुरज नेपाली सङ्गीत क्षेत्रमा गायक मात्र नभई समाजको आवाज हुन्। उनका सिर्जनाहरूले विकटको पीडालाई मुख्यधारामा ल्याउने काम गरिरहेका छन्। भविष्यमा पनि उनले यही अभियानलाई निरन्तरता दिने अपेक्षा गर्न सकिन्छ।
















