बिहीबार, २८ फाल्गुन, २०८२

लहानका डेन्टल क्लिनिकमा गैरचिकित्सकद्वारा उपचार

सिराहाको लहान नगरपालिकामा सञ्चालित केही डेन्टल क्लिनिकमा योग्य चिकित्सकबिना नै बिरामीको उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलले बुधबार गरेको आकस्मिक स्थलगत अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो।

काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार साहको नेतृत्वमा गएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा रहेका विभिन्न डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक र वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयका योग्य विशेषज्ञ चिकित्सकबिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार ती क्लिनिकहरूमा करिब साढे दुई वर्ष ‘डेन्टल हाइजेनिस्ट’ अध्ययन गरेका जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको छ।

कतिपय क्लिनिकमा अन्य चिकित्सकको नाम बोर्डमा राखेर भित्र भने आफूखुसी उपचार गर्ने, चिकित्सकको हस्ताक्षर दुरुपयोग गर्ने तथा प्रचलित स्वास्थ्य ऐन, नियमावली र मापदण्डविपरीत सेवा सञ्चालन भइरहेको समेत पाइएको छ।

अनुगमन टोली आउने सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएको जनाइएको छ।

टोलीका संयोजक डा. साहले योग्य चिकित्सकबिना डेन्टल क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी उल्लङ्घन भएको बताए।

उनका अनुसार यस्तो कार्यले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम पैदा गर्ने भएकाले दोषीमाथि कडा कारबाही गरिनेछ।

प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनबाट अवैध रूपमा सञ्चालन भइरहेका क्लिनिक पहिचान गरिएको र सम्बन्धित व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ।

अनुगमन टोलीमा संयोजक डा. साहसहित विज्ञका रूपमा डा. राजिव शर्मा र डा. सुमन कर्ण सहभागी थिए। नेपाल मेडिकल काउन्सिलले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार