प्रत्येक घरमा पुग्ने, हरेक मतदातासँग प्रत्यक्ष भेट गर्ने, आफ्नै स्थानीय भाषामा मीठो शैलीमा कुरा गर्ने र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने । यी सबै उनका जितका केही प्रमुख सूत्र बने।
उम्मेदवार मनोनयनका दिन जिल्ला भरि उत्सवको माहोल थियो। कार्यकर्ताको भीड, फूलका माला, बाजागाजाको मधुर धुन र नाराको गुञ्जनबीच धेरै उम्मेदवारहरू तामझामका साथ मनोनयन दर्ता गराइरहेका थिए।
तर यही भीडभाडको बीचमा एक फरक दृश्य पनि देखिन्थ्यो सानो समूहमा हतारहतार आइरहेका एक व्यक्ति। न ठूलो दलको घेराबन्दी, न विशाल भीड, न त भव्य संगठनको प्रदर्शन। उनी थिए ज्ञानेन्द्र शाही।
पहिले यही जिल्लाबाट भारी मतले विजयी भएर प्रतिनिधि सभामा पुगेका उनी जेन्जी आन्दोलनको पृष्ठभूमिसँगै मध्यावधि चुनावका लागि फेरि जनतामाझ आएका थिए। अरू उम्मेदवार भन्दा फरक शैली, फरक प्रस्तुति र सादगीपूर्ण उपस्थितिले उनी फेरि जनताको रोजाइमा पर्न सफल देखिए।
उनको चुनावी शैली पनि अनौठो थियो।
प्रत्येक घरमा पुग्ने, हरेक मतदातासँग प्रत्यक्ष भेट गर्ने, आफ्नै स्थानीय भाषामा मीठो शैलीमा कुरा गर्ने र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने । यी सबै उनका जितका केही प्रमुख सूत्र बने। एक्लै मोटरसाइकलमा गाउँ–गाउँ पुगेर जो कोहीसँग सहज रूपमा संवाद गर्ने उनको शैलीले जनतालाई नजिक बनायो।
त्यसैले उनलाई चिनाउन कसैको आवश्यकता परेन । जनताले उनलाई पहिल्यै चिनिसकेका थिए, र धेरैले व्यक्तिगत रूपमा मत दिएको देखियो।
किन फेरि मन पराए जुम्ली जनताले?
१. भ्रष्टाचारविरुद्ध कडा आवाज
उनले लामो समयदेखि सरकारी निकाय र भ्रष्टाचारका विषयमा खुलेर आवाज उठाउँदै आएका छन्। यसले धेरै युवाहरू र सर्वसाधारणमा विश्वास बढाएको छ।
२. स्थानीय समस्यामा बोल्ने शैली
जुम्ला लगायत कर्णालीका सडक, स्वास्थ्य, शिक्षा जस्ता समस्याहरू सार्वजनिक रूपमा उठाउने गरेका कारण स्थानीयले आफूलाई प्रतिनिधित्व भएको महसुस गरेका छन्।
३. साधारण जीवनशैली र प्रत्यक्ष सम्पर्क
ठूलो तामझामभन्दा पनि सिधै जनतासँग भेट्ने, कुरा गर्ने शैलीले उनलाई जनतासँग नजिक बनाएको छ।
४. नयाँ विकल्पको खोजी
परम्परागत राजनीतिक दलप्रति निराश भएका केही मतदाताले नयाँ अनुहार र नयाँ सोचको रूपमा उनलाई फेरि समर्थन गरेका छन्।
५. सामाजिक सञ्जालको प्रभाव
उनको गतिविधि र विचारहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका कारण युवापुस्तामा विशेष प्रभाव परेको छ।
के थिए उनका कमजोर पक्ष?
उनी यसअघि प्रतिनिधि सभाका सदस्य भइसकेका व्यक्ति पनि हुन्। सांसदका रूपमा काम गर्दा केही आलोचना र कमजोरीका चर्चा पनि भएका थिए।
१. राजनीतिक अनुभव कम
लामो समय स्थापित पार्टी राजनीतिमा नहुँदा संसदीय प्रक्रियाको अनुभव कम हुन सक्ने भन्ने आलोचना गरिएको छ।
२. भावनात्मक भाषण
कहिलेकाहीँ उनका भाषण र अभिव्यक्ति धेरै भावनात्मक हुने र व्यावहारिक समाधान कम देखिने भन्ने पनि केहीको धारणा छ।
३. संगठन कमजोर
ठूलो पार्टी संरचना वा बलियो संगठन नहुँदा दीर्घकालीन राजनीतिक काम गर्न चुनौती हुने कुरा पनि उठाइन्छ।
४. मुद्दा उठाउने तर कार्यान्वयनको अवसर कम
उहाँले जुम्ला तथा अन्य ठाउँसँग सम्बन्धित सडक, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार जस्ता विषय उठाए पनि कार्यक्रम कार्यान्वयन गर्ने अधिकार र संयन्त्र नभएकाले प्रत्यक्ष भौतिक विकासमा योगदान सीमित देखिएको भन्ने भनाइ पनि छ।
५. राजसंस्थासँग सम्बन्धित मुद्दा लाई सधै जसो दोहोर्याई रहनु। राजा मात्र देश शान्तीको अन्तिम विकल्प हो भन्नू। उहाँको ठूलो कमजोरी हो।
अबका चुनौतीहरू
फेरि स्पष्ट मतका साथ दोस्रो पटक ऐतिहासिक समर्थन दिँदै जुम्ली जनताले उनलाई निर्वाचित गरेका छन्।
यसपटक भने पहिलो जितभन्दा धेरै ठूलो परीक्षा र चुनौती उनका अगाडि देखिन्छ।
१. अपेक्षा पूरा गर्ने चुनौती
जुम्ली जनताले ठूलो आशा राखेर जिताएका छन्। सडक, स्वास्थ्य, शिक्षा र रोजगारीमा छिटो परिणाम देखाउने दबाब हुनेछ।
२. भौतिक पूर्वाधार विकास
जुम्लामा सडक, यातायात, अस्पताल र शिक्षा संरचना अझै कमजोर छन्। यी क्षेत्रमा बजेट ल्याउने र काम अघि बढाउने ठूलो जिम्मेवारी हुनेछ।
३. केन्द्रमा प्रभाव जमाउने
ठूला दलहरूको बहुमत भएको अवस्थामा एक्लै सांसद भएर कर्णाली र जुम्लाका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने चुनौती हुनेछ।
४. आन्दोलनबाट व्यवस्थापनमा रूपान्तरण
अभियन्ता शैलीबाट नीति निर्माण र व्यावहारिक विकास कार्यमा परिणाम देखाउने क्षमता प्रमाणित गर्नुपर्ने समय आएको छ।
५. जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने
निर्वाचनपछि पनि जनतासँग नजिकै रहेर समस्या सुन्ने र समाधान खोज्ने जिम्मेवारी अझ बढ्नेछ।
अन्ततः जुम्ली जनताले उनलाई फेरि विश्वास गरेर पठाएका छन्। अब यो विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी पनि उतिकै ठूलो छ। जनताको भरोसा जित्नु ठूलो कुरा हो। तर त्यो भरोसालाई विकास र परिवर्तनमा रूपान्तरण गर्नु नै साँचो नेतृत्वको परीक्षा हो।
















