प्रिय, मित्र मनऋषि धितालज जी
मेरो नजरमा तपाईं एक असली कम्युनिष्ट हुनुहुन्छ। तर त्योभन्दा पनि पर गएर बुझ्दा, तपाईं राजनीतिज्ञ होइन, एक सशक्त लेखक र स्रष्टा हुनुहुन्छ।
राजनीति भन्नासाथ छल, झुटा आश्वासन, आरोप, प्रत्यारोप, अरूलाई गिराउने र आफू माथि उक्लिने अनेक चालबाजी सम्झनु पर्ने हुन्छ। तर तपाईंको सौम्य स्वभाव, सादगी र सत्यनिष्ठा ती सबैसँग मेल खाँदैन। त्यसैले म निडर भएर भन्छु, तपाईं राजनीतिज्ञ होइन, एक अब्बल सर्जक हुनुहुन्छ।
यो मुलुकको तथाकथित ‘सक्कली राजधानी’ ले कहिल्यै पनि हार्दिक रूपमा स्पर्श गर्न नचाहेको भूगोल हो, कर्णाली।
विकासवादीहरूको नजरमा कर्णाली थकित, दुब्लो, अँध्यारो र गरिब देखिन्छ। राजनीतिज्ञहरूको नजरमा कर्णाली पहुँचविहीन मात्र हुन्छ।
तर तपाईंहरूजस्ता लेखक र स्रष्टाले कर्णालीलाई लुकेको स्वर्गका रूपमा देख्नुहुन्छ। सर्जकले कर्णालीको गर्भभित्र चम्किरहेको हिरा देख्छ, अपार सम्भावना बोकेको उज्यालो भविष्य देख्छ।
जहाँ अरूले रोग, शोक, भोकमरी, कुरीति, अन्धविश्वास र अशिक्षाको साम्राज्य देख्छन्, त्यहीँ सर्जकले लुकेको स्वर्ग, धर्तिमुनिको इतिहास र अमूल्य अभिलेख देख्छ।
सर्जकमा कर्णालीका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक र सामाजिक बिम्बहरू टिपेर शब्दमा उतार्ने अद्भुत क्षमता हुन्छ। तर कर्णाली लेखेर मात्र बन्दैन, कर्णाली गरेर बन्छ।
सानो शुरुआतबाटै परिवर्तन सम्भव हुन्छ, र तपाईंहरूले सुरु गर्नुभएको अभियान यही सत्यको उदाहरण हो। तपाईं र तपाईंका मित्र ग्याविनले थालेको प्रयास बाहिरबाट सानो देखिएला, तर यसको ओजस्वी महत्त्व गहिरो छ।
शिक्षामा गरिएको लगानी तुरुन्त देखिँदैन, तर यसको परिणाम दशकौँपछि समाजले महसुस गर्छ। पठन संस्कृतिको अभाव बढिरहेको समयमा तपाईंहरूको पहलले हाम्रा बालबालिकामा पढ्ने बानी विकास हुने आशाको दीप प्रज्वलित गरेको छ।
मलाई आज पनि सम्झना छ, मेरो पहलमा जुम्लामा नेपालकै पहिलो मालिकाबोता शैक्षिक सम्मेलन सम्पन्न भएको थियो। जिल्लाका सबै राजनीतिक दल, अध्यक्ष, प्रधानाध्यापक र सरोकारवालासहित करिब ६ सय जनाको उपस्थितिमा ४४ बुँदे घोषणापत्रसहित त्यो सम्मेलन सम्पन्न भयो।
त्यही आधारमा उभिएर जुम्लाले शिक्षामा थुप्रै परिवर्तन देख्यो, जसको परिणाम पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा देखिन थालेका छन्। तपाईंले ह्वाट्सएपमा पठाउनुभएको त्यहाँको तापक्रम सम्झिन्छु, माइनस ७ डिग्री।
त्यस्तो चिसोमा तपाईंको बसाइ सजिलो थिएन होला, तपाईंका मित्रका लागि त झन् कठिन भयो होला। यद्यपि अहिले ग्लोबल वार्मिङको चर्चा छ, तर मेरो अनुभव फरक छ।
२०५२ देखि २०६३ सम्म म कात्तिकदेखि फागुनसम्म चार महिना कठ्यांग्रिने चिसोमा गणित ट्युसन पढाउँथेँ। त्यतिबेला तापक्रम माइनस ११ देखि १५ डिग्रीसम्म झर्थ्यो।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ७–८ समूहलाई पढाउनु पर्ने त्यो संघर्ष सम्झिँदा आज आफैलाई कथा जस्तै लाग्छ। मेरो सानो अनुरोध छ, सम्भव भएसम्म मालिकाबोटासम्म तपाईंका मित्रलाई एकपटक पुर्याइदिनुहोस्।
हामीले थातथलो छाड्यौं, सँगै हुर्केका साथी छाड्यौं, गाउँको माटो, जन्मघर, बनपाखा छाड्यौं। कहिल्यै स्थिर हुन सकेनौं। माउले चल्ला सारेझैं ठाउँ, ठाउँ सर्दै हिँड्यौं।
खहरे खोलाजस्तै साथीहरूको घेरा कहिले बढ्यो, कहिले घट्यो। अब यही यात्रालाई, यही कर्मलाई, आफ्नो समाजसँग जोडिने सेतु बनाऔँ।
यसको अर्गानिक स्वाद तपाईंले बाहिर पाएको कुनै उपलब्धिभन्दा हजारौँ गुणा मीठो हुनेछ।
सधैं शुभेच्छासहित,
जीवन














