सुधन गुरुङ र मिराज ढुंगाना त्यतिबेलासम्म बाहिर आएका थिएनन् । जेनजीको कोही नेतृत्व नै थिएन । मिराज भागिहाले, सुधन पानी बाँडेर हिँडेका थिए । कसैले नेतृत्व नलिएपछि सुधनले मौकामा चौका हाने । म लिडर भनेर अगाडि आए । वर्तमान प्रधानमन्त्री सुशीला कार्की भदौ २४ गते सडकमा आइन् ।
भदौ २३ गते जेनजीहरूले आन्दोलनको घोषणा गरे । माइतीघर मण्डलाबाट र्यालीसहितको सो आन्दोलनमा जेनजी उमेर समूहलाई सहभागी हुन आह्वान गरिएको थियो । सो आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र त्यतिबेला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खुलेरै एक्यबद्धता जनाएका थिए ।
उमेरका कारण आफू उपस्थित हुन नसके तापनि २८ वर्ष मुनिका सबैलाई आन्दोलनमा सहभागिता जनाउन भनिएको थियो । उनीहरूले एक्यबद्धता जनाएपछि स्कुलका विद्यार्थीदेखि बालेन र रविका समर्थक सडकमा आए । तर, एकाएक आन्दोलनले हिंसात्मक र ध्वंसात्मक रूप लियो ।
शान्तिपूर्ण भनेर सिडियो कार्यालयबाट अनुमति लिएकोमा तोडफोड र आगजनी गर्ने काम भयो । जेनजी प्रदर्शनमा झण्डै ८० जनाको ज्यान गयो । हजारौं घाइते भए । जनताले तिरेको करबाट बनेका सरकारी भवन र खरिद गरिएका गाडीमा ८४ खर्बको क्षति पुगेको छ । व्यक्तिको सम्पत्तिमा पनि सोही बराबर क्षति भएको छ ।
कानुनले भन्छ, ‘चोर्नेभन्दा चोरी गर्न उक्साउने बढी दोषी हुन्छन् । मार्नेभन्दा मार्न उक्साउने बढी दोषी हुन्छन् ।’ अब भनौं– रवि र बालेनमाथि अनुसन्धान हुने कि नहुने ? रवि र बालेनले नउक्साएको भए त्यत्रो भीड जम्मा हुँदैनथ्यो । देशमा यत्रो क्षति र दर्जनौंले ज्यान गुमाउनुपर्ने थिएन । सरकारले अनुसन्धान सुरु गर्ने हो भने बालेन र रविबाट गर्नुपर्छ ।
किनकि आन्दोलनलाई उक्साउने र भित्री रणनीति बनाउने यिनै हुन् । आन्दोलनको नाममा संसद भवन छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाए । जुन उनीहरूको कर्तव्य हो । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकभन्दा अगाडि यिनीहरूको बयान लिनुपर्छ ।
ओली र लेखकले गोली हान भनेर निर्देशन दिएका थिएनन् । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि सुरक्षाकर्मीले आफ्नो आत्मरक्षा र सरकारी सम्पत्तिको रक्षाका लागि गोली हानेका थिए । आन्दोलनको नाममा देश जलिसक्दा बालेन भने निरन्तर सामाजिक सञ्जालमा स्ट्याटस लेखेर भीडलाई झनै उक्साउने काम गरिरहेका थिए ।
यता, रवि नख्खु जेलबाट ननिस्किएको भए यत्रा कैदीबन्दी भाग्दैनथे । भदौ २३ को घटना हुनेबित्तिकै लेखकले गृहमन्त्री पदबाट राजीनामा दिइसकेका थिए । ओलीले २४ गते दिउँसो १२ बजेअगावै पदबाट राजीनामा दिए । त्यसपछि देश सरकारविहीन भयो । सहकारी ठगीको अभियोगमा नख्खु कारागारमा रहेका रवि त्यही मौका छोपेर जेलबाट भागे ।
उनी भाग्नेबित्तिकै अन्य कारागारमा तोडफोड र आगजनी सुरु भयो । अहिले पनि झण्डै पाँच हजार कैदीबन्दी बाहिरै छन् । रोचक प्रसंग के भने, रवि जेलमा हुँन्जेल सरकारी सम्पत्तिमा आगो लागेको थिएन । उनी निस्किनेबित्तिकै भएभरका अदालत, राष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री निवास, प्रहरी कार्यालयहरूमा आगजनी गरियो ।
यी घटनाले शंकाको सुईँ उनीतिर घुमेको छ । जति आगो लाग्यो, प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिइसकेपछि भएको हो । देश खरानी भइसकेपछि बालेनले स्ट्याटस लेखेका थिए, ‘हाम्रो लक्ष्य हासिल भयो । जेनजी साथीहरू घर फर्किनुस् । अब देश तपाईँहरूकै हातमा छ ।’
नेपाली सेना पनि त्यतिबेला बाहिर आएन । सिंहदरबारभित्रै सेनाको नरसिंहदल गण छ । तर, त्यही आगो लाग्यो । देशका ऐतिहासिक सम्पत्तिहरू जल्दा सेना रमिता हेरेर बस्यो । बालेनको साँझ ७ बजेको स्ट्याटसपछि राति १० बजे सेना सडकमा आयो । यो घटना योजनाबद्ध रूपमा भएको थियो भनेर सहजै बुझिन्छ ।
सुधन गुरुङ र मिराज ढुंगाना त्यतिबेलासम्म बाहिर आएका थिएनन् । जेनजीको कोही नेतृत्व नै थिएन । मिराज भागिहाले, सुधन पानी बाँडेर हिँडेका थिए । कसैले नेतृत्व नलिएपछि सुधनले मौकामा चौका हाने । म लिडर भनेर अगाडि आए । वर्तमान प्रधानमन्त्री सुशीला कार्की भदौ २४ गते सडकमा आइन् ।
राजनीतिक दलमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ, जेनजीको माग सम्बोधन गर्नुपर्छ भनेर उनले चर्को भाषण दिएकी थिइन् । सामान्य भाषामा भन्दा उनले पनि भीडलाई भड्काउने काम गरेकी थिइन् । उनीसँग पनि आयोगले बयान लिनुपर्छ । भीडलाई उक्साएर यत्रो क्षति गराएको आरोपमा कानुनको दायरामा ल्याउनुपर्छ ।
सुरक्षाकर्मीले देशको सुरक्षा गर्छु, शान्ति–सुरक्षा कायम गर्छु, देशमा संकट आयो भने ज्यानको बाजी राखेर लड्छु भनेर जागिर खाएका हुन्छन् । कानुनमै लेखिएको छ, ‘भीड नियन्त्रणभन्दा बाहिर गयो, आफैंमाथि असुरक्षा भयो, सरकारी सम्पत्ति वा व्यक्तिको सम्पत्तिमा तोडफोड भयो भने कसैको आदेशबिनै सुरक्षाकर्मीले घुँडामुनि गोली हान्न पाउँछ ।’
जनताबाट चुनिएर गएका जनप्रतिनिधिले बनाएको कानुन हो यो । भीड यताबाट उता दौडिरहेको अवस्थामा गोली जहाँ पनि लाग्न सक्छ । त्यसैले सुरक्षाकर्मीलाई दोष लगाउनु बेकार छ ? यदि गोली नै चलाउन नपाउने हो भने सुरक्षाकर्मीलाई किन बन्दुक दिनुपर्यो ? सुरक्षाकर्मीले पहिले हात जोडेरै तोडफोड नगर्न आग्रह गरेका थिए ।
तर, नमानेपछि के गर्ने ? एकातिर मातृभूमिको रक्षा गर्छु भनेर जागिर खाएको छ, अर्कोतिर आफ्नै ज्यानमाथि खतरा परेको छ । अनि गोली चलाउनुबाहेकको विकल्प नै रहेन । प्रहरी र सशस्त्र अन्तिम घडीसम्म देशको लागि लडे । आफ्नो कर्तव्य निर्वाहको क्रममा तीन प्रहरीले वीरगति पाएका छन् ।
कतिले हातखुट्टा भाँचिए, कुटाइ खाएर पनि उनीहरू सडकमा भीडसँग भिडिरहे । न्यून स्रोत–साधनका बाबजुद प्रहरी र सशस्त्रले लड्यो, तर सेना हेरेर बस्यो । ‘दुलोभित्र मुसा लुकेझैं’ सेना जंगीअड्डामा लुकेर बस्यो । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश नास भयो ।
दरबारको सुरक्षा गर्ने जिम्मा सेनाले लिएको थियो । तर, सेना चुक्यो । माओवादी जनयुद्धका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटकाल घोषणा गरेर सेना परिचालन गरेका थिए । माओवादी नेताको टाउकोको मूल्य ५० लाख तोकिएको थियो । माओवादीसँग त्यतिबेला पनि सेना पराजित भयो ।
जसका कारण देशबाट राजतन्त्र अन्त्य भयो । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह दरबार छोडेर नागार्जुन गए । जेनजी आन्दोलनमा सबैले सेनाको भूमिका देखिहाल्यौं । सेना देश जोगाउने कार्यमा पटक–पटक चुकेको छ । २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन भयो । ६१ हजार सात सयभन्दा बढी मत ल्याएर बालेनले चुनाव जिते ।
बालेन शपथ खानेबित्तिकै जंगीअड्डा पुगेका थिए । जबकि उनी त पदभार ग्रहण गर्न महानगरपालिकाको कार्यालय जानुपर्थ्यो । त्यतिबेलै जनताले बालेन र सेनाको सम्बन्धमाथि शंका गरिसकेका थिए । २०८० भदौ १६ गते सार्वजनिक बिदाका दिन उनकी श्रीमती सरकारी गाडीमा निस्किएकी थिइन् ।
ट्राफिक प्रहरीले उनलाई रोक्यो । आफ्नी श्रीमतीलाई रोक्दा उनले सिंहदरबार जलाइदिन्छु भनेर चेतावनी दिएका थिए । र, आज साँच्चै नै सिंहदरबार खरानी बनेको छ । बालेनले उक्साएको भीडले नै सिंहदरबारमा आगो झोसेको हो । सरकारले मेयरको हैसियतले बालेनलाई गाडी दिएको थियो ।
तर, उनकी श्रीमती त्यो गाडीमा सार्वजनिक बिदाको दिन भेटिइन् । कानुन तोडेका उनले माफी माग्नुको साटो राष्ट्रविरोधी चेतावनी दिए । सरकारले त्यतिबेलै उनलाई कानुनको दायरामा नल्याउँदा आज यत्रो घटना भयो । रविमाथि पाँचवटा सहकारी ठगीको आरोप छ । आफूले गल्ती गरेको स्वीकार्दै बैंक जमानत राखेर जेलबाट निस्किएका रवि र बालेनले देशलाई खरानी बनाए ।
अब यी दुईलाई कानुनको दायरामा ल्याउनुपर्छ । जाँचबुझ आयोगले यिनीहरूसँग तत्काल बयान लिनुपर्छ । यिनीहरूले आफ्नो फाइदाका लागि फेरि देश खरानी बनाउन सक्छन् । त्यसैले जनता सचेत होऔं ।















