विभिन्न धर्मशास्त्रीय, सामाजिक र मनोवैज्ञानिक अध्ययनका आधारमा हेर्दा बाइबलीय ज्ञानले व्यक्तिको आन्तरिक रूपान्तरणलाई प्राथमिकता दिन्छ । यो सरल र जीवनलाई अर्थपूर्ण बनाउने मार्गदर्शन हो, जसले व्यक्तिगत आस्था र सामाजिक कर्तव्यबीच सन्तुलन स्थापित गर्छ ।
‘येशू ख्रीष्टको जन्मदिन’ वा ‘प्रभु येशूको जन्मोत्सव’ को दिनलाई क्रिसमस दिवस भनिन्छ । यो पर्व प्रत्येक वर्ष डिसेम्बर २५ तारिखमा मनाइने ख्रीष्टियन धर्मको प्रमुख पर्व हो । यो दिन ख्रीष्टियन धर्मका प्रवर्तक ईसा मसीह (येशू ख्रीष्ट) को जन्मको स्मरणमा मनाइने गरिन्छ । त्यसै सन्दर्भमा सम्पूर्ण ख्रीष्टियन धर्मका विश्वासीहरूलाई क्रिसमस दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सामान्य रूपमा येशू ख्रीष्टलाई जिसस क्राइस्ट भनेर पनि बुझिन्छ । उनको जन्म इ.पू. ४ तिर यरुशलेम नजिकै बेथलेहेममा भएको मानिन्छ । उनी यहूदी वंशका थिए । पिता योसेफ (जोसफ) र माता मरियम थिए । उनीहरूको विवाहअघि सम्भोग नहुँदै मगनीको क्रममा मरियमको कोखबाट पवित्र आत्माद्वारा येशू ख्रीष्ट जन्मिएका हुन् भन्ने कुरा मैले पढेको छु । यो वैज्ञानिक तथ्यमा आधारित नभए पनि जनविश्वास र बाइबलको व्याख्यात्मक अर्थका रूपमा स्वीकार गरिएको विषय हो ।
जिसस क्राइस्ट १२ वर्षको उमेरसम्म आमाबाबुसँग बसेर ३० वर्षको उमेरसम्मको बीचको करिब १८ वर्षको समयावधिमा बौद्ध विहार, बौद्ध शिक्षा तथा वाराणसी क्षेत्रतिर घुमी ब्राह्मणहरूसँग वैदिक धर्मको शिक्षा लिई वैदिक मन्त्र र बौद्ध शिक्षामा निपुण भएका थिए भन्ने मतहरू पनि पाइन्छन् ।
३० वर्षको उमेरमा भारतखण्डको जम्बूद्वीप क्षेत्रबाट गालिल हुँदै यहुन्ना (यूहन्ना) कहाँ बप्तिस्मा लिएको कुरा मति ३:१३ मा उल्लेख छ । त्यसपछि ४० दिन र ४० रात उपवास बसेको कुरा मति ४:२ मा पाइन्छ । उपदेश दिँदै जाँदा त्यसै क्रममा तत्कालीन इजरायलका धर्मगुरुहरू र त्यहाँको राज्यसत्ताले येशूलाई धर्मविरोधी भएको आरोप लगाई क्रूसमा झुन्ड्याएर हत्या गरेपछि, उनको मृत्यु पश्चात् यस धर्मको विस्तार भई आज विश्वभर फैलिएको कुरा सर्वविदित छ । यस कुरामा म सहमत छु ।
जिसस क्राइस्ट पहिले एक वास्तविक मान्छे हुन् । उनी ख्रीष्टियन (ईसाई) धर्मका प्रवर्तक हुन्, जसले सम्पूर्ण मानव जातिको भलाइका लागि विश्वमा शान्ति, सद्भाव र मानवतालाई नयाँ बाटो देखाएका थिए भन्ने मैले बुझेको छु । यस दिन मनाउनुको मुख्य तात्पर्य प्रेम, करुणा, शान्ति, क्षमा र मानव सेवाको सन्देश फैलाउनु हो ।
ख्रीष्टियन विश्वासअनुसार येशू ख्रीष्टले मानव जीवनलाई सही मार्ग देखाउन जन्म लिनुभएको हो । त्यसैले यस दिनलाई ख्रीष्टियनहरूले अन्धकारमाथि उज्यालो, घृणामाथि प्रेम र अन्यायमाथि सत्यको विजयको प्रतीकका रूपमा लिने गरेका छन् । यो दिन परिवार, समाज र समुदायबीच मेलमिलाप, दया र सहकार्य बढाउने अवसर पनि हो । गरिब, दुःखी र असहायलाई सहयोग गर्नु, शुभकामना आदान–प्रदान गर्नु र आत्मिक शुद्धतामा जोड दिनु यस पर्वको मूल भाव हो ।
बाइबल ईसाई धर्मको पवित्र ग्रन्थ हो, जसले मानव जीवन, नैतिकता, आस्था र ईश्वर–मानव सम्बन्धको गहिरो अर्थ प्रस्तुत गर्छ । ‘बाइबल’ शब्द स्वयं ग्रीक भाषाको बिब्लियोस बाट आएको हो, जसको अर्थ ‘पुस्तक’ हो । तर बाइबल एउटै पुस्तक नभई विभिन्न समय, समाज र सन्दर्भमा लेखिएका ६६ वटा ग्रन्थहरूको सङ्ग्रह हो ।
यसमा पुरानो नियम (Old Testament) र नयाँ नियम (New Testament) समावेश छन् । बाइबलका श्लोकहरूलाई ‘वचन’ भनिन्छ । त्यसैले बाइबलको अर्थ ‘कसरी भयो’ भन्दा पनि ‘किन लेखियो’ भन्ने प्रश्नसँग गहिरो रूपमा जोडिएको देखिन्छ । यसले मानिसलाई प्रेम, क्षमा, न्याय र सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ । यही नै बाइबलको मूल सार र सन्देश हो ।
मैले बुझेको बाइबलीय ज्ञान कुनै एक धर्ममा सीमित धार्मिक शिक्षा मात्र होइन । यो मानव जीवन, नैतिकता र सामाजिक जिम्मेवारीलाई बुझ्ने गहिरो दर्शन हो भन्ने लाग्छ । बाइबल विभिन्न समय, समाज र परिस्थितिमा लेखिएको र आफैंमा मतमतान्तर भएको सङ्गालो हो । उदाहरणका लागि, बाइबल ६६ वटा पुस्तक खण्डहरूको सङ्गालो हो भनेर प्रोटेस्टेन्ट मण्डलीका विश्वासीहरूले मान्छन् ।
रोमन क्याथोलिकहरूले ७३ खण्डको सङ्गालो मान्छन् । गुड न्युज बाइबल मा ८१ खण्ड वा पुस्तकहरूको सङ्गालो मानिएको पाइन्छ । अर्थोडक्स चर्चका बाइबलहरूमा ७५ देखि ७८ खण्ड पुस्तकहरूको सङ्गालो मानिन्छ । त्यसैगरी सिरियाली मण्डलीमा २२ खण्ड पुस्तकहरूको सङ्गालोलाई मानिएको छ । यो पुस्तक करिब १६०० वर्षको अवधिमा करिब ४० जना मानिसहरूले लेखेका हुन् भनिन्छ । त्यसैले बाइबलीय इतिहास पनि आ–आफ्नै ढङ्गबाट प्रस्तुत भएको देखिन्छ ।
बाइबलीय ज्ञानले मानिस र परमेश्वरबीचको सम्बन्धलाई प्रेम, विश्वास र आज्ञापालनको आधारमा स्पष्ट गर्दै मानिसलाई जीवन जिउने सही मार्ग देखाउने नैतिक र आत्मिक ग्रन्थका रूपमा शिक्षा दिन्छ ।
यूहन्नाको सुसमाचारमा प्रेम र सत्यको गहिरो शिक्षा पाइन्छ । ‘परमेश्वर प्रेम हुनुहुन्छ’ (१ यूहन्ना ४:८) भन्ने वचनले ईश्वरको स्वभाव नै प्रेम भएको स्पष्ट पार्छ । मैले यसबाट बुझेको ज्ञान के हो भने साँचो धार्मिकता डर, दण्ड वा बाध्यताबाट होइन, प्रेम र आत्मिक सम्बन्धबाट उत्पन्न हुन्छ । यूहन्ना ३:१६ ले मानव जातिप्रतिको ईश्वरको बलिदानी प्रेमलाई देखाउँछ, जसले क्षमा, सहानुभूति र मानवताको सम्मान गर्न सिकाउँछ ।
भजनसंग्रह बाइबलीय ज्ञानको भावनात्मक पक्ष हो । यसमा आनन्द, पीडा, भय, आशा र कृतज्ञता सबै भावनाहरू व्यक्त भएका छन् । “प्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको कमी हुनेछैन” (भजन २३:१) भन्ने वचनले जीवनका कठिन अवस्थामा पनि परमेश्वरप्रति भरोसा राख्न प्रेरित गर्छ । यसले मानिसलाई मानसिक शान्ति, धैर्य र आत्मिक सन्तुलन प्रदान गर्छ भन्ने मैले बुझेको छु ।
मतिको सुसमाचारले व्यवहारिक नैतिकतालाई जीवनमा उतार्न सिकाउँछ । पर्वत उपदेश (मति ५–७) मा येशूले विनम्रता, दया, शान्ति र न्यायको शिक्षा दिनुहुन्छ । “छिमेकीलाई आफूजस्तै प्रेम गर” (मति २२:३९) भन्ने आज्ञाले सामाजिक सद्भाव र सहअस्तित्वको मार्ग देखाउँछ । मैले यहाँबाट बुझेको ज्ञान कर्म, बोली र सोच—तीनै तहमा नैतिक जिम्मेवारी आवश्यक छ भन्ने हो ।
विभिन्न धर्मशास्त्रीय, सामाजिक र मनोवैज्ञानिक अध्ययनका आधारमा हेर्दा बाइबलीय ज्ञानले व्यक्तिको आन्तरिक रूपान्तरणलाई प्राथमिकता दिन्छ । यो सरल र जीवनलाई अर्थपूर्ण बनाउने मार्गदर्शन हो, जसले व्यक्तिगत आस्था र सामाजिक कर्तव्यबीच सन्तुलन स्थापित गर्छ । दुःख, पीडा र निराशाका क्षणमा पनि आशा र धैर्य नछोड्न बाइबलले प्रेरणा दिन्छ । जीवनका चुनौतीहरू अस्थायी हुन्छन् भन्ने विश्वास दिलाउँदै यसले मानिसलाई मानसिक बल र आत्मिक शान्ति प्रदान गर्छ । यसरी बाइबलको शिक्षा व्यक्तिको चरित्र निर्माण गर्दै समाजमा सद्भाव, नैतिकता र अर्थपूर्ण जीवनको आधार तयार गर्छ ।
बाइबलले सत्य र न्यायको मूल्यलाई उच्च स्थान दिन्छ । इमानदार जीवन जिउनु, अन्यायको विरोध गर्नु र नैतिक साहसका साथ सत्यको पक्षमा उभिनु यसको महत्वपूर्ण शिक्षा हो । साथै विनम्रता र सेवाभावलाई महान् गुण मान्दै अहंकार त्यागेर अरूको सेवा गर्न प्रेरित गर्छ । यसले व्यक्तिलाई आत्मअनुशासन र जिम्मेवारीबोध सिकाउँदै सोच, बोली र कर्ममा संयम अपनाउन मार्गदर्शन गर्छ ।
सबै धर्महरूको निचोड हेर्दा बाह्य रूपमा फरक देखिए पनि तिनको मूल उद्देश्य मानव जीवनलाई नैतिक, शान्त र अर्थपूर्ण बनाउनु नै हो । हिन्दू धर्मले धर्म, कर्म र मोक्षको अवधारणामार्फत सत्य, कर्तव्य र आत्मिक उन्नतिमा जोड दिन्छ । कर्मअनुसार फल मिल्छ भन्ने सिद्धान्तले जिम्मेवार जीवन जिउन सिकाउँछ ।
ख्रीष्टियन धर्मको निचोड प्रेम, क्षमा र उद्धारमा केन्द्रित छ । परमेश्वरप्रतिको विश्वास र मानवप्रतिको प्रेम नै यसको मूल सन्देश हो । बौद्ध धर्मले दुःखको कारण तृष्णा हो भनी अष्टाङ्गिक मार्गद्वारा मध्यम मार्ग, करुणा र प्रज्ञामा जोड दिन्छ । मुस्लिम धर्मले एक ईश्वर (अल्लाह) मा पूर्ण समर्पण, न्याय, अनुशासन र सामाजिक उत्तरदायित्वलाई प्रमुख मान्छ । अन्य धर्महरू, जैन, सिख, कन्फ्युसियस आदिले पनि अहिंसा, सत्य, सेवा र सदाचारलाई केन्द्रमा राख्छन् । यसरी सबै धर्महरूको निचोड मानवता, नैतिकता र सहअस्तित्वमै एकअर्कासँग जोडिएको देखिन्छ ।
तर बाइबलीय विषय अध्ययन गर्ने व्यक्तित्वहरू र ख्रीष्टियन धर्मप्रति आस्था राख्ने केही साथीहरूसँग भेटघाट तथा चिया गफका क्रममा छलफल हुँदा कहिलेकाहीँ अन्य धर्मको विरोध गर्दै बाइबलिय ज्ञानबाट मात्रै इमानदार र स्वर्गको बाटो देख्न सकिन्छ, अन्य धर्म मान्ने मानिसहरू नरकमा जान्छन्, अरू धर्म मान्नेहरू शैतानको पूजा गर्छन्, उनीहरू मूर्ख हुन् र साँचो परमेश्वर चिन्न सक्ने हामी मात्रै हौँ भन्ने खालका अभिव्यक्तिहरू पनि सुन्न पाइन्छ । अन्य कुनै पनि धर्म राम्रो छैन भन्ने अडान र जिद्दीपनका कारण कहिलेकाहीँ ख्रीष्टियन मित्रवत् साथीहरूलाई अन्य धर्मको अध्ययन पनि गर्नुपर्छ कि भन्ने मेरो ठम्याइ बनेको हो ।
सबै धर्महरूका आआफ्ना नीति, नियम, मूल्य मान्यता र दर्शन छन् । ती दर्शनहरूले मानव जीवन र पृथ्वीमा भइरहेका प्रक्रियाहरूलाई असल, इमानदार र सहज रूपमा उपयोग गर्दै बाँच्नुपर्ने आधार बनाउँछन् भन्ने शिक्षा दिन्छन् । त्यसैले मैले बुझेको सबै धर्मको सार र मूल उद्देश्य मानव जीवनलाई सरल, नैतिक, सद्भावपूर्ण र अर्थपूर्ण बनाउनु हो, जसले समाजमा शान्ति, न्याय र प्रेमको वातावरण सिर्जना गर्छ ।
समग्रमा बाइबल धर्मको आत्मिक मार्गदर्शन र नैतिक शिक्षाको ग्रन्थ हो । यसलाई मागी खाने भाँडो वा डोनर खोज्ने माध्यम बनाउनु उचित हुँदैन । विश्वासलाई व्यापारिक बनाउँदा धर्मको गरिमा घट्छ र आत्मनिर्भरता तथा श्रमको मूल्य कमजोर हुन्छ । साँचो धर्म गीत नाटक र हात थापाइमा होइन, इमानदार जीवन, सेवा, करुणा र कर्ममा प्रकट हुनुपर्छ ।
ईसाई धर्म विश्वभरिका बौद्धिक र विद्वानहरूले विश्वास गरेको धर्म हो । मेरो नैतिक समर्थन, आत्मीयता र ज्ञान धर्मप्रतिको उत्सुकता र अध्ययनका केही अनुभवलाई समीक्षात्मक रूपमा प्रस्तुत गर्दै क्रिसमस दिवस भव्य र सफल होस् भन्ने कामनासहित सम्पूर्ण ख्रीष्टियन समुदायका विश्वासी साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद !















