वेदाङ्ग वेदका सहायक विद्याहरू हुन्, जसद्वारा वेदको यथार्थ स्वरूपको ज्ञान हुन्छ । वेद मन्त्रहरूको शुद्ध उच्चारणको ज्ञान शिक्षाले दिन्छ ।
वेद समस्त ज्ञानका अक्षय भण्डार हुन् । वेद हाम्रो साहित्य, संस्कृति, सभ्यता र धर्म–दर्शनका उद्गमस्थल र आधारभूत खम्बा हुन् । सम्पूर्ण जनमानसको वेदप्रतिको पवित्रता र सम्मान उच्च छ, किनकि वेद अनादि र अपौरुषेय हुन् ।
वेद साक्षात् ईश्वरका निःश्वासभूत हुन् । वेदद्वारा पुरुषार्थ चतुष्टय—धर्म, अर्थ, काम र मोक्षको सिद्धि हुन्छ । वेद ईश्वरीय ज्ञान हो र यसको पूर्ण ज्ञान यसका अङ्गहरूद्वारा हुन्छ ।
जसद्वारा कुनै तत्त्वको ज्ञान प्राप्तिमा सहायता प्राप्त हुन्छ, ती उपकरण अङ्ग हुन् ।
अङ्गयन्ते = ज्ञायन्ते अमीभिरिति अङ्गानि ।
वेदहरूको अर्थ, ज्ञान र अन्य विधि सम्पादनमा जुन शास्त्र सक्षम र सार्थक भए, तिनीहरू वेदाङ्ग कहलाए । वेदका छ अङ्ग छन्, शिक्षा, व्याकरण, छन्द, निरुक्त, ज्योतिष र कल्प।
शिक्षा व्याकरणं छन्दो निरुक्तं ज्योतिषं तथा।
कल्पश्चेति षडङ्गानि वेदस्याहुर्मनीषिणः ॥
उपनिषद्हरूमा परा र अपरा गरी दुई प्रकारको विद्याको वर्णन गरिएको छ । जसबाट अक्षर ब्रह्मको ज्ञान हुन्छ, त्यो परा विद्या हो । चारै वेद र त्यसका छ अङ्ग अपरा विद्याका अन्तर्गत आउँछन् ।
मुण्डकोपनिषद् १।१।५ मा भनिएको छ,
तत्रापरा ऋग्वेदो यजुर्वेदः, सामवेदोऽथर्ववेदः, शिक्षा, कल्पो, व्याकरणं, निरुक्तं, छन्दो, ज्योतिषमिति ।
वेदाङ्ग वेदका सहायक विद्याहरू हुन्, जसद्वारा वेदको यथार्थ स्वरूपको ज्ञान हुन्छ । वेद मन्त्रहरूको शुद्ध उच्चारणको ज्ञान शिक्षाले दिन्छ ।
कर्मकाण्ड र यज्ञीय अनुष्ठान विधिमा सहायक कल्प शाखाहरू हुन् । शब्दको ज्ञानका लागि व्याकरण र पदहरूको अर्थ खोल्न र व्युत्पत्ति गर्न निरुक्त शास्त्र सहायक हुन्छ ।
यस्तै मन्त्रहरूको समुचित पाठ गर्न छन्द ज्ञान आवश्यक हुन्छ, यो ज्ञान छन्द शास्त्रबाट प्राप्त हुन्छ । यज्ञ, यागादिको समुचित समय निर्धारण गर्न तथा शुभ मुहूर्त प्राप्त गर्न ज्योतिष शास्त्रको सहयोग लिइन्छ । यस प्रकार वेदज्ञानका लागि उक्त षडङ्गहरूको आ आफ्नो क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ ।
पाणिनीय शिक्षामा वेदलाई पुरुषको रूपमा कल्पना गरेर वेदाङ्गहरूलाई वेद, पुरुषका विशेष अङ्गहरूको रूपमा कल्पना गरिएको छ।
छन्दः पादौ तु वेदस्य हस्तौ कल्पोऽथ पठ्यते ।
ज्योतिषामयनं चक्षुर्निरुक्तं श्रोत्रमुच्यते ॥
शिक्षा प्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम् ।
तस्मात् साङ्गमधीत्यैव ब्रह्मलोके महीयते ॥
छन्द वेद पुरुषका पाऊ हुन् । कल्प हात हुन् । ज्योतिष आँखा हुन् । निरुक्त कान हुन् । शिक्षा प्राण हो । मुख व्याकरण हो । वेदको अङ्गसहित अध्ययन गर्ने व्यक्ति ब्रह्मलोकमा प्राप्त हुन्छ ।














