शुक्रबार, १५ फाल्गुन, २०८२

सरकारदेखि जनतासम्म दलालीको इशारामा चल्दा सबै चल्यामचुलुम्म !

अर्थमन्त्री रामेश्वर खनाललाई सर्वसाधारण सोध्छन्, दलालहरूले हामीलाई ठगेर कमाउने अनि सरकार राजस्व लिने? सरकारको काम दलालीलाई कारबाही गर्ने हो कि प्रोत्साहन गर्ने?

दलालहरूले कसरी सोझासाझा जनतालाई फसाउँछन्, डुबाउँछन् ? यसको ज्वलन्त उदाहरण हो, सेयर। ५०–५५ जना सेयर खेलाडीले एकैचोटि करोडौँ जनतालाई फसाएका छन्। शिक्षितदेखि अशिक्षितसम्म सेयरमा लगानी गर्दा चुलुम्मै भएका छन्। करोडपतिबाट सडकछाप अवस्थामा उनीहरू आइपुगेका छन्।

बैंक, वित्तीय संस्था, हाइड्रोपावर, इन्स्युरेन्सलगायत कम्पनीहरूले एक सय रुपैयाँ प्रतिकित्तामा सेयर निष्काशन गरेका हुन्। दलालहरूले एकाएक मूल्य बढाएर ३२ सयसम्म पुर्‍याए। मूल्य बढेको देखेपछि सर्वसाधारण सेयरतर्फ आकर्षित भए। प्रतिकित्ताको ३२ सय तिरेर सेयर किने। तर अहिले त्यो सेयर २५ सयमा झरेको छ।

सेयरको मूल्य अझै घट्दो क्रममा छ। एक सय रुपैयाँ कित्तामा सेयर आउने बजारमा व्यापक चर्चा छ। सेयर जुवासरह हो, जसमा एउटाले कमाउँछ, दश जनाले हार्छ। सेयरको मूल्य बढाउने, घटाउने र त्यसबाट कमाउने सीमित ५०–५५ जना खेलाडी छन्। उनीहरूले आफूले किन्ने बेला सेयरको मूल्य स्वाट्टै घटाइदिन्छन्, त बेच्ने बेला ह्वात्तै मूल्य बढाइदिन्छन्।

आफ्नो स्वार्थका निम्ति उनीहरूले यसो गर्दै आएका छन्। तर सोझासाझा जनताले यो कुरा बुझ्न सकेनन्। उनीहरूले केही भए पनि आम्दानी होला कि भनेर सेयरमा लगानी गरे। आज उनीहरूको रुवाबासी चलेको छ। करोडौँको लगानी लाखमा झरिसक्यो, त लाखौँ हजारमा। अथवा, हिजो मूल्य बढ्ने आशामा पुर्ख्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको रकम सेयरमै लगानी गरेकाहरू अहिले चुलुम्मै भएका छन्।

उनीहरूले पानीसमेत पिउन पाएनन्। अब रोचक कुरा चाहिँ के हो भने, सेयरमा लगानी गर्ने प्रायः शिक्षित व्यक्तिहरू छन्। बुढापाकाले भन्ने गर्छन्, ‘जुवातास खेलेमा, जाँडरक्सी खाएमा घरखेत सिद्धिन्छ। नपढेमा अरूले फसाउँछ।’ तर सेयरले यसलाई गलत प्रमाणित गरिदिएको छ। किनकि सेयरमा लगानी गर्ने पढेलेखेकै छन्। फेरि सेयर न जुवातास हो, न जाँडरक्सी। तैपनि यसमा लगानी गरेकाहरूले घरखेत सिद्धाइरहेका छन्।

आखिर कसरी ? जवाफ सहज छ, दलालको लहैलहैमा लागेर। सेयर त एउटा उदाहरण मात्रै हो। सेयरमा जसरी अन्य विलासी वस्तुहरूमा पनि सोचविचार नगरी दलालीको लहैलहैमा लागेर मानिसहरूले आफूसँग भएको सबै रकम खन्याउँदा उनीहरूको अहिले बिजोग भएको छ।

पाँच वर्षअघि दलाल, भूमाफियाहरूले ठाउँअनुसार एक आना जग्गा २५ लाखदेखि १४ करोड रुपैयाँसम्ममा बेचे। जबकि त्यही जग्गा पाँच दशकअघि एक हजार रोपनीमा बिक्री हुँदैनथ्यो। तर दलाल, भूमाफियाहरूले डाँडाकाँडामा डोजर चलाए र समतल बनाए। समतल देखेपछि मानिसहरू लोभिएर र दलालको लहैलहैमा लागेर करोडौँ हालेर जग्गा किने। उनीहरूले थाहा पाएनन् कि यो जग्गाको मूल्य कृत्रिम रूपमा बढाइएको हो।

स्वविवेक प्रयोग नगरी दलालीले जे जे भने, त्यसैमा उनीहरूले विश्वास गरे, जसको परिणाम आज उनीहरूले आफैं भोगिरहेका छन्। करोडौँमा किनिएको घडेरी अहिले लाखमा झरिसक्यो। तैपनि बिक्री नभइरहेको अवस्था छ।

हिजो दलालीको पछि लागेर बैंकबाट ऋण लिइ लिइ मानिसहरूले घरजग्गामा लगानी गरे। अहिले बैंकको ऋण तिर्न मुस्किल परेको छ। त्यसैले घरजग्गा बेच्न खोज्दा एकातिर बिक्री हुँदैन, अर्कोतिर आफूले किनेको आधा मूल्यसमेत नआउने अवस्था छ।

गत मंसिर २९ गते सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुग्यो। जबकि यही सुन वि.सं. २०२२ सालमा प्रतितोला ८० रुपैयाँ थियो। अनि यति छोटो समयमै सुनको मूल्यमा हजारौँ गुणा मूल्य बढोत्तरी कसरी ? यो दलालहरूको चलखेल होइन र ?

अटो शोरुमहरूले मोडल र सिसीअनुसार दुई पाङ्ग्रे सवारीसाधन दुई लाखदेखि पाँच लाख र चार पाङ्ग्रे सवारीसाधन २० लाखदेखि करोडौँमा बेचेका छन्। जबकि त्यो गाडी छिमेकी भारत र चीनबाट ५० हजारदेखि १० लाख रुपैयाँमा ल्याइएको हो, जुन विस्तारै बाहिरिँदै छ। त्यसैले अहिले नयाँ होस् या पुराना गाडी किन्ने कोही छैनन्। गाडीको मूल्य जतिसुकै घटे पनि यो विलासी वस्तु हो र दलालहरूले यसको कृत्रिम मूल्य बढाएका हुन् भनेर जनताले बुझ्दै गएका छन्।

अर्कोतर्फ, गाडी सिसा, फलाम, रबर, कपडा, फोम, प्लास्टिकलगायतबाट बन्छ। यी वस्तु दुई रुपैयाँ किलोमा समेत बिक्दैनन्। नेपाल सरकारले घरजग्गा, गाडी, सेयरलाई राजस्वको मुख्य स्रोत बनाउँदै आएको छ। दलालहरूको लहैलहैमा लागेर सरकारले उद्योग, कारखाना नखोल्ने वा भएकासमेत बन्द गराएर आम्दानीको स्रोत यिनै क्षेत्रलाई बनायो। केही समय त राज्यको ढुकुटीमा राजस्व पनि थुप्रियो।

तर जनता सचेत हुँदै गएपछि दलाल र राज्य दुवैमाथि संकट आइलागेको छ। अहिले दलालहरूको भागाभाग चलेको छ, राज्यको ढुकुटीमा राजस्व आउनै छोडेको छ। सरकारले दाबी गर्ने गर्छ, ‘अर्थतन्त्र हामी चलाइरहेका छौं।’ तर उल्लिखित उदाहरणहरूले मुलुकको अर्थतन्त्र सरकारले चलाएको छ कि दलालहरूले ? प्रश्न उठेको छ।

अर्थमन्त्री रामेश्वर खनाललाई सर्वसाधारण सोध्छन्, दलालहरूले हामीलाई ठगेर कमाउने अनि सरकार राजस्व लिने? सरकारको काम दलालीलाई कारबाही गर्ने हो कि प्रोत्साहन गर्ने?

दलालीहरूका कारण सोझासाझा जनताको बिल्लीबाँठ भएको छ। उनीहरूले जीवनभरको कमाइ, पुर्ख्यौली सम्पत्ति गुमाएका छन्। थोरै नाफा कमाउने लोभमा करोडौँको सम्पत्ति गुमाउनुपरेको छ। सम्पत्ति सबै गुमेपछि उनीहरू सुकुम्बासी अवस्थामा आइपुगेका छन्। अनि कतिपयले सहन नसकेर आत्महत्या गरिरहेका छन्, कोही अस्पतालको बेडमा छट्पटिरहेका छन्। तर सरकारलाई केही चासो छैन।

जनताको कसरी यो हालत भयो ? भनेर सरकार कुनै सोधीखोजी गर्दैन। बरु सुकुम्बासीका नाममा सरकारी जग्गा बाँड्नतिर लाग्छ। राज्यले आफ्ना नागरिकको पीडा नबुझ्दा वा बुझ्ने कोसिस नै नगर्दा जनता त डुबिरहेकै छन्, सँगै यसको फाइदा अरू सीमित व्यक्तिहरूले उठाइरहेका छन्। सुकुम्बासीका नाममा हुकुम्बासीहरूले सरकारी सम्पत्ति कब्जा गरिरहेका छन्।

त्यसैले अब जनता र राज्य दुवै सचेत हुनुपर्‍यो। सरकारले जनता सुकुम्बासी भयो भन्दैमा सरकारी सम्पत्ति बाँड्ने होइन। ऊ कसरी त्यो अवस्थामा पुग्यो ? भनेर खोजबिन गर्ने हो र दोषीलाई कारबाही। यो काम थाल्न अब ढिलाइ गर्नु हुँदैन।

दलालहरूका कारण आज मुलुककै अर्थतन्त्र संकटमा परेको छ। घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा सहकारी, लघुवित्त र फाइनान्स त डुबिहाले, अब बैंक डुब्दैछन्। किनकि बैंकको पनि सम्पूर्ण कर्जा लगानी यही क्षेत्रमा छ।

मानिसहरूले ऋण लिइ लिइ घरजग्गा, गाडी र सेयरमा लगानी गरेका थिए। सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाख र मीटरब्याजमा पनि लाखौँमा ऋण लिएका छन्। त्यसरी लिएको ऋण प्रायःले घरजग्गा, गाडी र सेयरमै लगानी गरेको पाइन्छ। तर अहिले यी वस्तुको मूल्य निरन्तर घटिरहेको छ।

हिजो करोडौँमा किनिएको माल आज लाखमा झरिसक्यो। भोलि हजारमा समेत झर्न सक्छ। यसले अब डुब्ने पालो बैंकको रहेको देखिन्छ। अनि बैंक डुब्नु भनेको जनता नै डुब्नु हो। सहकारी डुब्दा करोडौँ जनताको खर्बौँ रकम डुब्यो। अब बैंक डुब्दा कति जनता डुब्ने हुन् ?

त्यसैले जनता सचेत हौं, अझै पनि समय छ। कसैको लहैलहै, प्रलोभनमा नपरौं।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार