यो पर्व महिलाहरूले मात्र खेल्ने सांस्कृतिक विशेषता बोकेको छ। स्थानीय लय, चाल र शब्दमा आधारित भैली गीत गाउँदै घरघरमा पुग्ने चलन यस पर्वको मुख्य आकर्षण हो।
कर्णाली प्रदेशको मौलिक पहिचान बोकेको विशेष पर्व ठूली भैली यस वर्ष पनि जुम्लामा भव्य रूपमा खेलिँदछ। पौष कृष्ण औँसीदेखि पञ्चमीसम्म पाँच दिनसम्म खेलिने यो भैलो जुम्लाका महिला दिदीबहिनीहरूको सक्रिय सहभागितामा जिल्ला सदरमुकाम खलंगासहित विभिन्न बस्तीमा मनाइँदै आएको छ।
चिसो मौसमका बीच पनि ठूली भैलीले गाउँ बस्तीमा छुट्टै सांस्कृतिक रौनक थपेको छ। ठूली भैली विशेषगरी साविकको कर्णाली अञ्चलका जुम्ला, मुगु, कालीकोट, डोल्पा र हुम्ला जिल्लामा खेलिँदै आएको परम्परागत पर्व हो।
यो पर्व महिलाहरूले मात्र खेल्ने सांस्कृतिक विशेषता बोकेको छ। स्थानीय लय, चाल र शब्दमा आधारित भैली गीत गाउँदै घरघरमा पुग्ने चलन यस पर्वको मुख्य आकर्षण हो।
जिल्ला सदरमुकाम खलंगामा भैली खेल्दै गरेकी चन्दननाथ नगरपालिका–३ की धनमाया भक्रीले ठूली भैली पुर्खादेखि चल्दै आएको परम्परा भएको बताइन्। उनले भनिन्, ‘यो पर्व हाम्रो संस्कृति र पहिचानसँग जोडिएको छ। हामीले देखेका, सुनेका र सिकेका चलनलाई निरन्तरता दिनु हाम्रो दायित्व हो।’
त्यस्तै अर्की भैलेरी तारा भक्रीले ठूली भैली खेल्दा साथीसंगी मिलेर आफ्नै परम्परागत पहिरन लगाउने चलन रहेको बताइन्। उनले पछिल्लो पुस्ताका दिदीबहिनीहरू यस पर्वबाट टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै भनिन्, ‘पहिले जस्तै अहिले नयाँ पुस्ताले पनि भैलीको महत्व बुझेर यसलाई निरन्तरता दिनुपर्छ।’
भैलो गीत र नाचको माध्यम मात्र होइन, यो आपसी सद्भाव, सामूहिकता र महिला सशक्तीकरणको प्रतीक पनि हो। भैलेरी भगवती बुड्थापाले भनिन्। ‘मन मिल्ने साथीहरूसँग स्थानीय लयमा भैली खेल्नु हाम्रो चालचलन हो। यसले हामीलाई हाम्रो माटोसँग जोडेर राख्छ।’
ठूली भैली खेल्दा महिलाहरूले स्थानीय भाषा, संस्कृति र सामाजिक सन्देश बोकेका गीत गाउँछन्। यी गीतहरूमा प्रकृति, जीवनशैली, सामाजिक अवस्था र आपसी मेलमिलाप झल्किने गर्छ। यसले मौखिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यतिबेला जुम्लामा गुञ्जिएको ठूली भैलीको लयले कर्णाली संस्कृतिको जगेर्ना गर्नुका साथसाथै मौलिक संस्कृतिको महत्त्वलाई उजागर गरेको छ।















