सोमबार, २८ पुष, २०८२

घरजग्गा, गाडी र सेयरमा मन्दी आउनुको कारण पैसाको अभाव कि जनता सचेत हुनु ?

बैंकहरूले चाहिँ साढे दुईदेखि चार प्रतिशत ब्याजमा बचतकर्तासँग पैसा लिइरहेका छन्। घरजग्गा, गाडी, सेयर, सुन कारोबार ठप्प छ। राजस्व पनि घट्दो छ। अनि राष्ट्र बैंकले कहिलेसम्म दुई प्रतिशत ब्याजमा बैंकहरूको पैसा तान्न सक्छ? बैंकहरूले पनि घाटा खाएर कहिलेसम्म राष्ट्र बैंकमा पैसा राख्न सक्छन्? बैंकले कमाउने भनेकै डिपोजिटबाट हो।

काठमाडौं उपत्यकासहित देशभर एक सय ३४ वटा मालपोत कार्यालय छन्। यातायात कार्यालय पनि उत्तिकै छन्। पाँच वर्षअघि यी दुवै कार्यालयमा मानिसको थेगिनसक्नु भीड हुन्थ्यो। घरजग्गा किनबेच, नामसारी गर्नेको मालपोतमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो भने यातायातमा सवारीसाधन किनबेच, नामसारी, दर्ता गर्नेहरूको लर्को हुन्थ्यो।

मालपोत र यातायातमा सेवाग्राहीको अत्यधिक चापले राज्यको ढुकुटीमा मात्र राजस्व नआई त्यस्ता कार्यालय आसपासका चियापसल, स्टेशनरी, फोटो स्टुडियोलगायतको पनि व्यापार फस्टाएको थियो। दिनमै दुई सय कपसम्म एउटै पसलमा चिया बेचबिखन हुन्थ्यो भने फोटो स्टुडियो र स्टेशनरीहरूले पनि दिनमै ५० हजारदेखि लाखौँसम्म कमाउँथे।

सँगै मालपोत र यातायातका लेखनदास, कानुन व्यवसायीको पनि राम्रो आम्दानी हुन्थ्यो। उनीहरूले पनि दिनमै लाखौँसम्म कमाउँथे। पाँच वर्षअघि मालपोत र यातायात कार्यालय छेउछाउ घर भाडामै पाइन्थ्यो। त्यस्ता ठाउँमा एउटा सानो अँध्यारो कोठाकै दश हजारदेखि ३० हजारसम्म असुलिन्थ्यो। सटरको ५० हजारदेखि लाखौँ, फ्ल्याटको ४० हजारदेखि तीन लाखसम्म भाडा लिइन्थ्यो।

खाली सटर त ३० लाखदेखि ६० लाखमा किनबेच हुन्थ्यो। यस्ता ठाउँ आसपास जग्गाको मूल्य पनि एकदम महँगो हुन्थ्यो। एक आना जग्गाकै पाँच करोडसम्म मूल्य हुन्थ्यो। तर, पाँच वर्षको अवधिमा सबै फेरिएको छ। अहिले मालपोत र यातायात कार्यालय सुनसान छन्। जसका कारण राज्यको ढुकुटीमा आउने राजस्व त घटेको छ नै, सँगै त्यस्ता कार्यालय आसपासका व्यवसायी, लेखनदास, कानुन व्यवसायी, घरधनीहरूको पनि आम्दानी घट्दो छ।

लेखनदास, कानुन व्यवसायीको त आम्दानी नै छैन भन्नु भन्दा पनि केही फरक नपर्ला। किनकि अहिले घरजग्गा, गाडी किनबेच, नामसारी, दर्ता गर्न कोही पनि जाँदैनन्। चियापसलेलाई दिनमा पाँच कप चिया बेच्न पनि मुस्किल परिरहेको छ भने घरहरू पनि धमाधम खाली भइरहेका छन्। यसले घरधनीहरू समेत मर्कामा परेका छन्। केही वर्षयता घरजग्गा, गाडी र सेयरमा मन्दी छ। यी वस्तु बेच्न चाहने सयौँ भेटिन्छन्, किन्ने चाहिँ शून्य।

सुनमा पनि त्यस्तै छ। सुन सेयर बनिसकेको छ। कहिले ह्वात्तै मूल्य बढ्ने, कहिले स्वाट्टै घट्ने। यसले अहिले सुनको मूल्य बढिरहँदा पनि किन्ने कोही छैनन्। बिहेको सिजनमा समेत सुनको किनबेच ठप्प छ। सुन व्यापारीहरू भन्छन्, बेच्न भन्दै दिनमै दर्जनौँ आउँछन् तर किन्न चाहिँ कोही आउँदैनन्। बैंकमा पैसा थुप्रिएको भन्दै नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे तरलता तान्छ। त्यसरी लगेको पैसाको राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिनुपर्छ।

बैंकहरूले चाहिँ साढे दुईदेखि चार प्रतिशत ब्याजमा बचतकर्तासँग पैसा लिइरहेका छन्। घरजग्गा, गाडी, सेयर, सुन कारोबार ठप्प छ। राजस्व पनि घट्दो छ। अनि राष्ट्र बैंकले कहिलेसम्म दुई प्रतिशत ब्याजमा बैंकहरूको पैसा तान्न सक्छ? बैंकहरूले पनि घाटा खाएर कहिलेसम्म राष्ट्र बैंकमा पैसा राख्न सक्छन्? बैंकले कमाउने भनेकै डिपोजिटबाट हो।

बचतकर्ताको डिपोजिट चर्को ब्याजदरमा अर्कोलाई दिइन्छ। उदाहरणका निम्ति तीन करोडको धितो राखेर एक करोड ऋण दिइन्छ। त्यसबापत बैंकका सञ्चालक, अध्यक्षहरू दशदेखि २० लाख रूपैयाँसम्म घुस खाने। एक प्रतिशत सेवाशुल्कको ठाउँमा तीन प्रतिशत, १६ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुल्ने अनि तीन किस्ता नतिर्नेबित्तिकै तीन करोडको धितो ८०–९० लाखमै पचाइदिने।

बैंकहरूले ऋणीलाई सडकछाप बनाएर कमाउँदै आएका थिए। उनीहरूले ऋणीलाई घाट न घाटको अवस्थामा पुर्‍याए। करोडौँको धितो लाखौँमा गुमाउँदा र उल्टै कालोसूचीमा परेपछि सहन नसकेर कतिपय ऋणीले आत्महत्या गरे त कतिपयले आफ्नो वंश पनि सिध्याए। अब भने बैंकको पालो आएको छैन। भनिन्छ कि अरूलाई सिध्याएर आफू बाँच्छु भन्न सकिँदैन।

बैंकहरूले ऋणीलाई सिध्याए, त्यो पनि एक–दुई जनालाई होइन लाखौँलाई। अब भने बैंक आफैँ सिद्धिने बेला आएको छ। सहकारीले ऋणीलाई सडकछाप बनाएपछि सहकारी आफैँ डुब्नुपर्यो, भाग्नुपर्यो। अब पालो बैंकको आउँदैछ। किनकि बैंकको असलियत देखेपछि अहिले जनता बैंकमा ऋण माग्न जानै छोडेका छन्। बरु उनीहरू व्यक्तिसँग मीटरब्याजमा पैसा लिन्छन्, तर बैंकमा ऋण माग्न जाँदैनन्।

बैंकले जनताको विश्वास गुमाइसकेको छ। कुनै पनि क्षेत्र तबसम्म चल्न सक्छ, जबसम्म त्यहाँ विश्वास रहन्छ। आफ्नै घर परिवारबीच विश्वास रहेन भने त अलग हुने गरिन्छ भने बैंक त को नै हो र? बैंकले आफ्नै हर्कतले जनताको विश्वास गुमायो अनि जनताले बैंकसँग ऋण माग्नै छोडे। जनताले ऋण नलिनेबित्तिकै बैंकको आम्दानी खुम्चिँदै गयो र अहिले संकटमा परिसकेको छ।

बैंकले जनताको पैसा जनतालाई नै ऋणमा दिएर कमाउँदै आएको थियो। एउटा नागरिकलाई सस्तो ब्याज दिएर पैसा लिने, अर्को नागरिकलाई चाहिँ त्यही पैसा चर्को ब्याजमा लगाउने। बैंकको आफ्नो लगानी चाहिँ केही छैन, बीचमा बसेर पैसाको कारोबार गरी कमाउने। सोझासाझा जनताले बैंकलाई विश्वास गरेर आफूले जीवनभर कमाएको पैसा राखे, ऋण लिए। तर, बैंकका कर्मचारी, सञ्चालक, अध्यक्षहरूले जनताको पैसामा आँखा गाडे।

सर्वसाधारणले बैंकमा राखेको पैसा हिनामिना वा चोरीसमेत गरे त ऋणीलाई चाहिँ लुट्नु लुटे। अहिले त्यसैको परिमाणस्वरूप बैंकमा ऋण माग्न जाने त ठप्प भइसके, अब छिट्टै पैसा जम्मा गर्न पनि सर्वसाधारणले छोड्ने छन्। यता, दलाल, भूमाफियाहरूले घरजग्गा, गाडी र सेयरको मूल्य कृत्रिम रूपमा बढाए।

रोपनीको दश हजारमा नबिक्ने जमिनलाई उनीहरूले डोजर चलाइ टुक्रा–टुक्रा पारेर आनाकै लाखौँदेखि करोडौँ पुर्‍याए। एक रोपनीमा १६ आना हुन्छ। २०४७ सालमा भक्तपुरको राधेराधेमा रोपनीको ३० हजारमा जग्गा बिक्री हुन्थ्यो भन्नेहरू अझै भेटिन्छन्। पाँच–सात वर्षअघि राधेराधेमा एक आना जग्गाकै मूल्य ६० लाखदेखि करोडौँ थियो। तर, अहिले यहाँ सित्तैमा जग्गा दिन्छु भन्दा समेत नलिने अवस्था छ।

एकातिर राधेराधेको सबै जग्गा सार्वजनिक, गुठी, ऐलानी, अर्कोतिर वर्षायाममा थोरै पानी पर्नेबित्तिकै डुबानमा परिहाल्ने भएकाले यहाँ जग्गा किन्ने कोही छैनन्। यो त एउटा उदाहरण मात्रै हो। भूमाफिया, दलालहरूले देशभरका जग्गा यसरी नै खण्डीकरण गरेर करोडौँ मूल्य पुर्‍याए। उनीहरूले सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी बढी, वनजंगल, तालपोखरी, खोला नदीको जग्गासमेत छोडेनन्।

जग्गा राम्रो देखेपछि मानिसहरूले दलालीहरूले भनेजति मूल्य हालेर किने। तर, अहिले उनीहरूले थाहा पाएका छन् कि त्यो जग्गा सरकारी हो। उनीहरू नराम्ररी फसेका छन्। एकातिर करोडौँ हालेर जग्गा किनिएको छ, अर्कोतिर सरकारले जुनसुकै बेला हटाउन सक्छ। यसरी दलालीको लहैलहैमा लागेर धेरै फसेका छन्। गाडी छिमेक भारत र चीनबाट ल्याइन्छ।

त्यहाँ ५० हजारदेखि दस लाखमा पाइने सवारीसाधन यहाँका अटो शोरूमले पाँच लाखदेखि करोडौँमा बेचेका छन्। सेयर बैंक, वित्तीय संस्था, जलविद्युत कम्पनीहरूले निष्काशन गर्ने गर्छन्। प्रतिकित्ता एक सयमा निष्काशन गरिएको सेयर दलालीहरूले मूल्य बढाएर ३५ सयसम्म पुर्‍याए। अहिले सेयरको मूल्य लगातार घटिरहेको छ। यसले यो तीन क्षेत्रमा लगानी गर्नेहरू चुलुम्मै भएका छन्।

यही क्षेत्रमा लगानी गर्दा सहकारी, लघुवित्त र फाइनान्स डुबे, अब बैंकको पालो आइसकेको छ। ठग्ने, लुट्ने पनि सीमा हुन्छ। समय हुन्छ। जबसम्म जनतामा चेतना आउँदैन, तबसम्म दलालहरूले ठग्न, लुट्न पाउने हो। अहिले जनतामा चेतना आइसकेको छ। केमा लगानी गर्नुहुन्छ र केमा गर्नुहुन्न? बैंकबाट ऋण लिनुहुन्छ कि हुँदैन? भनेर जनतामा सचेतना जागिसकेको छ। जसले गर्दा सबैको भागाभाग सुरु भइसकेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार