एक छाकको चामल काटेर,
अक्षता बनाइसके पछि
टीकाको अघिल्लो साँझ,
हुम्लाबाट बगेको हो सयपत्री
सयपत्री भित्र दिदीको प्रेम, संघर्ष,
बलिदान र सपना थियो
बग्दाबग्दै बाजुरा, कालीकोट हुँदै
कर्णालीसम्म पुग्नु पर्नेमा
थानकोटको उकालो चढाइयो
सहअस्तित्वलाई निशामा कैद गर्नेहरु
आतुर छन् सयपत्रीको पर्खाइमा
शासन भक्ति रक्तकुण्डमा पुग्यो भने,
आफू बनाउनेछन् माला सयपत्रीको
र लगाउनेछन् आफैं
आफ्नै सपना फलाउनेछन् उनीहरु,
घाँटीमा सयपत्री रोपेर,
त्यही घाँटी भन्दा तलको छाती भित्रको,
पत्थर मुस्कुराउनेछ !
यसरी कुण्डभित्र विचरण गर्नेछ समय पनि
यता जति अक्षताको पानी सुक्दै जानेछ,
त्यति भरिँदै जानेछ आँखामा
रातो रंगसँगै उडिजानेछ,
समय कठोर भविष्यतिर
दिदी फर्कनेछिन् आफ्नो घर र,
फुलाउनेछिन् अर्को सयपत्री,
भाइ कुर्दै बस्नेछन्,
अस्तित्वको आगमन चुपचाप
जब समय कौडा खेलेर आउनेछ
नयाँ साँझमा त्यसरी नै बग्नेछ,
सयपत्री र साथमा बग्नेछ अक्षता
तर त्यतिबेला !
आँखामा ज्वाला जलिरहोस्
हृदयमा ज्वाला जलिरोहोस्
डा. युवराज अधिकारी
वी.पी.कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान















