बिहीबार, १४ श्रावण, २०८३

कनकासुन्दरीले ४६ लाख तिरेर दुई जना डाक्टर उत्पादन गर्दै, छात्रवृत्तिमा नाम निकाल्ने तीन जनालाई एकएक लाख प्रोत्साहन

प्रीस्ता हमालका लागि एमबीबीएसमा नाम निस्कनु एउटा सपना पूरा हुनु थियो। तर त्यही सफलताले अर्को ठूलो प्रश्न जन्मायो, महँगो मेडिकल शिक्षा कसरी पढ्ने? आर्थिक अभावले डाक्टर बन्ने सपना लगभग छोडिसकेकी उनलाई कनकासुन्दरी गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिले फेरि बाटो देखायो। उनीजस्तै दिनबन्धु हमाल पनि गाउँपालिकाको सहयोगमा एमबीबीएस पढिरहेका छन्। यो दुई विद्यार्थीको कथा मात्रै होइन; आफ्नै भूगोलका विद्यार्थीलाई डाक्टर बनाएर गाउँमै फर्काउने स्थानीय सरकारको एउटा प्रयोगको कथा पनि हो।

एमबीबीएस प्रवेश परीक्षामा नाम प्रीस्ता हमाल खुसी भएकी थिइन्। त्यो खुसी स्वाभाविक थियो। वर्षौंको मेहनतपछि उनले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएकी थिइन्। उनका लागि त्यो एउटा परीक्षाको परिणाम मात्र थिएन। त्यो उनको बाल्यकालदेखि मनभित्र हुर्किरहेको एउटा सपनाको पहिलो ठूलो सफलता थियो, डाक्टर बन्ने सपना।

तर त्यो खुसी धेरैबेर टिकेन। नाम निस्किएको थियो। तर पूर्ण छात्रवृत्ति आएको थिएन। अब अगाडि अर्को परीक्षा थियो, पैसाको। एमबीबीएस पढाइका लागि लाग्ने शुल्क, होस्टेल, किताब र अन्य खर्च जोड्दा रकम उनको परिवारको आर्थिक क्षमताभन्दा धेरै माथि थियो। प्रीस्ताका बुबा पूर्णप्रसाद हमालले छोरीलाई पढाउन चाहन्थे। तर चाहना र क्षमताबीच ठूलो दूरी थियो।

‘छोरी, हाम्रो आर्थिक अवस्थाले तिमीलाई एमबीबीएस पढाउन सकिँदैन,’ पूर्णप्रसादले त्यतिबेला भनेका थिए।

बुबाको त्यो वाक्यले प्रीस्ताको सपना एकाएक भारी बनाइदियो। उनले फेरि प्रयास गरिन्। दोस्रोपटक पनि एमबीबीएस प्रवेश परीक्षामा राम्रो गरिन्। तर पूर्ण छात्रवृत्तिमा नाम ननिस्कँदा समस्या उस्तै रह्यो।

प्रीस्ताले आफैसँग भनिन्, ‘अब म मेडिकल लाइन नै छोड्छु।’ त्यो निर्णय गर्न उनलाई सजिलो थिएन। डाक्टर बन्ने सपना देखेकी एउटी युवतीले अन्ततः पैसाका कारण आफ्नो सपना छोड्नुपर्ने अवस्था आएको थियो।

‘म पेमेन्ट गरेर पढ्न सक्ने अवस्थामा थिइनँ,’ प्रीस्ता सम्झिन्छिन्, ‘एमबीबीएस पढ्न त्यति ठूलो रकम लाग्छ। मेरो परिवारले फुल पेमेन्ट धान्न सक्दैन भन्ने मलाई थाहा थियो। त्यसैले एक समय त मेडिकल लाइन नै छोड्छु भन्ने सोचेकी थिएँ।’

तर त्यही बेला उनलाई एउटा कुरा सम्झना भयो। कनकासुन्दरी गाउँपालिकामा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने व्यवस्था रहेछ। त्यसपछि उनले एउटा आवेदन लेखिन्।

आवेदनमा उनले आफ्नो सपना मात्र राखिनन्। आफ्नो परिवारको आर्थिक अवस्था पनि राखिन्। आफूले एमबीबीएसमा नाम निकालेको तर पूर्ण शुल्क तिर्न नसक्ने अवस्था रहेको बताइन्।

त्यो आवेदनसँगै प्रीस्ताको डाक्टर बन्ने यात्रा फेरि अघि बढ्यो। आज उनी काठमाडौं विश्वविद्यालयअन्तर्गत नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा एमबीबीएस तेस्रो वर्षको छैटौँ सेमेस्टरमा अध्ययनरत छिन्। उनको सपनाले अहिले आकार लिइरहेको छ। तर उनी आफ्नो यात्राको त्यो कठिन मोड बिर्सेकी छैनन्।

‘गाउँपालिकाले ५० प्रतिशत सहयोग गरिदिएपछि मेरो लागि धेरै ठूलो राहत भयो,’ उनी भन्छिन्, ‘फुल पेमेन्टमा पढ्न सक्ने अवस्था थिएन। ५० प्रतिशत छात्रवृत्ति पनि मेरो लागि धेरै ठूलो कुरा हो। त्यसैले म गाउँपालिकाप्रति आभारी छु।’

प्रीस्ताका लागि गाउँपालिकाको छात्रवृत्ति कुनै सामान्य सरकारी कार्यक्रम होइन। यो उनको सपनालाई आर्थिक अभावले निल्न नदिएको एउटा सहारा हो।

नाम निस्कँदाको खुसी र पढ्न नसक्ने डर
प्रीस्ताको कथा बुझ्न उनको घरसम्म पुग्नुपर्छ। कनकासुन्दरी गाउँपालिका–५, लुड्कु। जुम्लाको विकट भूगोल। सीमित आर्थिक स्रोत। परिवारको आफ्नै संघर्ष।

यही परिवेशबाट हुर्किएकी प्रीस्ताले चिकित्सा शिक्षा पढ्ने सपना देखिन्। सपना ठूलो थियो। तर त्यसलाई पूरा गर्ने आर्थिक आधार कमजोर।

उनका बुबा पूर्णप्रसाद हमालका लागि छोरीको नाम एमबीबीएसमा निस्कनु गर्वको क्षण थियो। तर त्यो गर्वसँगै उनीमाथि एउटा गम्भीर जिम्मेवारी आइपुग्यो। छोरीलाई पढाउने कि आर्थिक अवस्थाका कारण सपना रोक्ने?

‘पहिलो पटक छोरीको नाम निस्कँदा हामी खुसी भयौँ,’ पूर्णप्रसाद भन्छन्, ‘तर छात्रवृत्ति नआएपछि समस्या भयो। मैले छोरीलाई भनेँ, हाम्रो आर्थिक अवस्थाले पेमेन्ट गरेर पढाउन सक्दैनौं।’

एमबीबीएस शिक्षा सामान्य परिवारका लागि किन यति महँगो छ भन्ने प्रश्नको उत्तर खोज्न कुनै ठूलो अनुसन्धान आवश्यक पर्दैन। वर्षौंसम्म चल्ने अध्ययन। महँगो शुल्क। होस्टेल। किताब। प्रयोगात्मक शिक्षा। इन्टर्नसिप। यी सबै खर्चले गर्दा ग्रामीण तथा न्यून आय भएका परिवारका लागि चिकित्सा शिक्षा अझै पनि पहुँचभन्दा टाढा छ।

तर प्रीस्ता त्यही कठिनाइलाई चिर्न चाहन्थिन्। उनले दोस्रोपटक प्रवेश परीक्षा दिइन्। फेरि राम्रो गरिन्। तर फेरि पनि पूर्ण छात्रवृत्ति पाइनन्। ‘मैले सोचेँ, अब त छोड्नुपर्छ,’ उनी भन्छिन्, ‘किनभने पैसा तिरेर पढ्न सक्ने अवस्था थिएन।’

त्यसपछि उनी गाउँपालिकाको छात्रवृत्तिको खोजीमा पुगिन्। ‘मलाई गाउँपालिकामा एमबीबीएस पढ्ने विद्यार्थीलाई सहयोग गर्ने व्यवस्था छ भन्ने थाहा थियो,’ उनी भन्छिन्, ‘त्यसपछि मैले आफ्नो समस्या बताएँ। आवेदन दिएँ। गाउँपालिकाले सहयोग गर्‍यो।’

त्यो सहयोगले उनको जीवनको दिशा बदल्यो। आज उनी मेडिकल कलेजमा छिन्। कहिल्यै आफूलाई ‘डाक्टर बन्न सक्दिनँ’ भन्ने अवस्थामा पुगेकी युवती अहिले चिकित्सा शिक्षाको तेस्रो वर्षमा छिन्।

छोरी पढ्छु भन्छे भने हामीले रोक्न मिलेन’
प्रीस्ताका बुबा पूर्णप्रसाद हमालको स्वरमा छोरीप्रतिको गर्व छ। तर त्यससँगै उनी आर्थिक संघर्ष पनि सम्झन्छन्। ‘छोरीले पढ्छु भनेपछि हामीले रोक्न सकेनौँ,’ उनी भन्छन्, ‘हाम्रो अवस्था कमजोर थियो। तर उसको पढाइ राम्रो थियो। उसले नाम निकालिसकेपछि हामीले सकेसम्म साथ दिनुपर्छ भन्ने भयो।’

अभिभावकका लागि सन्तानको सपना ठूलो हुन्छ। तर आर्थिक सीमाले कहिलेकाहीँ त्यो सपना रोकिदिन्छ। पूर्णप्रसादका लागि गाउँपालिकाको छात्रवृत्ति त्यही रोकावट हटाउने माध्यम बन्यो। ‘गाउँपालिकाले ५० प्रतिशत सहयोग नगरेको भए गाह्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘हाम्रो परिवारको आर्थिक अवस्थाले एमबीबीएसको सम्पूर्ण शुल्क धान्न सम्भव थिएन।’

उनी स्थानीय सरकारको यो प्रयासलाई जेहेन्दार विद्यार्थीको भविष्यसँग जोड्छन्। ‘जेहेन्दार विद्यार्थीले आर्थिक अवस्थाका कारण पढ्न नपाउने अवस्था आउनु हुँदैन,’ उनी भन्छन्, ‘गाउँपालिकाले गरेको सहयोगले विद्यार्थीलाई ठूलो हौसला मिल्छ।’

प्रीस्ता अहिले पढाइमा व्यस्त छिन्। तेस्रो वर्षको अध्ययन पार गर्दै उनी भविष्यको चिकित्सकीय जीवनतर्फ अघि बढिरहेकी छन्। उनको अगाडि अझै लामो यात्रा छ। तर त्यो यात्रा अब असम्भव छैन।

प्रीस्ता एक्ली होइनन्
कनकासुन्दरी गाउँपालिकाको छात्रवृत्तिको कथा प्रीस्तामा मात्र टुंगिँदैन। कनकासुन्दरी–८ का दिनबन्धु हमाल पनि अहिले नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा एमबीबीएस अध्ययनरत छन्। उनका बुबा गणेशबहादुर हमाल र आमा सरिता हमाल हुन्। दिनबन्धुको परिवारका लागि पनि छोराको डाक्टर बन्ने सपना सजिलो थिएन।

तर गाउँपालिकाको सहयोगले उनको अध्ययनलाई आर्थिक आधार दिएको छ। गाउँपालिकाको विवरणअनुसार दिनबन्धुको अध्ययनका लागि पहिलो वर्ष १० लाख रुपैयाँ सहयोग गरिएको छ। प्रीस्ता र दिनबन्धुको कथा फरक परिवारबाट आएको भए पनि उनीहरूको सपना एउटै छ। डाक्टर बन्ने। र, उनीहरूको यात्रामा एउटा अर्को समानता पनि छ।

दुवैको पढाइमा गाउँपालिकाको सहयोग जोडिएको छ। गणेशबहादुर हमालका लागि यो सहयोग केवल छोराको पढाइमा भएको आर्थिक योगदान होइन। उनी यसलाई गाउँको भविष्यमा गरिएको लगानीका रूपमा हेर्छन्।

‘हामी गाउँपालिकाप्रति एकदमै आभारी छौँ,’ गणेशबहादुर भन्छन्, ‘एमबीबीएस पढ्ने विद्यार्थीका लागि सहयोग गर्नु ठूलो कुरा हो।’

उनलाई कनकासुन्दरीको स्वास्थ्य अवस्थाबारे पनि थाहा छ। ‘हाम्रो क्षेत्र अलि पछाडिको हो,’ उनी भन्छन्, ‘कनकासुन्दरीमा धेरै डाक्टरहरू छैनन्। आफ्नै ठाउँका विद्यार्थी डाक्टर बनेर फर्किए भने गाउँलाई धेरै फाइदा हुन्छ।’

उनका लागि गाउँपालिकाको छात्रवृत्तिको सबैभन्दा ठूलो उपलब्धि त्यही हो। गाउँबाट डाक्टर उत्पादन हुनु। र, ती डाक्टर गाउँमै फर्किनु।

स्थानीय सरकारको नयाँ प्रश्न : बजेट खर्च गर्ने कि मानव पुँजी बनाउने?
कनकासुन्दरी गाउँपालिकाले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको विषयलाई शैक्षिक कार्यक्रमका रूपमा हेर्न मिल्दैन। यो स्थानीय सरकारको विकास अवधारणासँग जोडिएको विषय पनि हो। स्थानीय तहका बजेट प्रायः सडक, भवन, खानेपानी, सिँचाइ, कृषि, शिक्षा र स्वास्थ्यका भौतिक पूर्वाधारमा खर्च हुन्छन्।

तर मानिसमाथिको लगानीलाई पनि विकासकै महत्वपूर्ण आधार मानिन्छ। कनकासुन्दरीले एमबीबीएस छात्रवृत्तिमार्फत त्यही बाटो रोजेको छ। गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यका अनुसार आर्थिक अभावका कारण योग्य विद्यार्थीले चिकित्सा शिक्षा पढ्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो।

‘हाम्रो उद्देश्य भनेको नाम निकालेर पनि आर्थिक अवस्थाका कारण पढ्न नपाउने विद्यार्थीलाई सहयोग गर्नु हो,’ आचार्य भन्छन्, ‘घरको आर्थिक अवस्थाले गर्दा विद्यार्थीले अवसर गुमाउन नपरोस् भनेर हामीले हाफ छात्रवृत्तिको व्यवस्था गरेका छौँ।’

गाउँपालिकाको कार्यविधिअनुसार सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था छ। पूर्ण छात्रवृत्ति नपाए पनि एमबीबीएस अध्ययनका लागि छनोट भएका विद्यार्थीलाई भने आर्थिक अवस्थाका आधारमा आंशिक सहयोग गर्ने गरिएको छ।

यसरी हेर्दा गाउँपालिकाको नीति दुईवटा तहमा देखिन्छ। पहिलो, प्रतिभालाई सम्मान। दोस्रो, अवसरबाट वञ्चित हुन लागेकालाई सहारा। अध्यक्ष आचार्यका अनुसार महिला, दलितलगायतका समूहका विद्यार्थीलाई कार्यविधिअनुसार प्राथमिकता दिने व्यवस्था पनि गरिएको छ।

‘छनोट प्रक्रिया कार्यविधिअनुसार हुन्छ,’ उनी भन्छन्, ‘योग्यता, प्राप्त अंक र सम्बन्धित समूहका आधारमा विद्यार्थी छनोट गर्ने व्यवस्था छ।’

एक लाखको प्रोत्साहनदेखि ५० प्रतिशत शुल्कसम्म
कनकासुन्दरीको एमबीबीएस छात्रवृत्ति कार्यक्रमको एउटा महत्वपूर्ण पक्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई दिने प्रोत्साहन रकम हो। गाउँपालिकाका अनुसार नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई एक–एक लाख रुपैयाँसम्म सम्मान तथा प्रोत्साहन दिने गरिएको छ।

यसरी प्रोत्साहन पाउने विद्यार्थीमा विभिन्न परिवारका विद्यार्थी छन्। गाउँपालिकाका प्रतिनिधिका अनुसार केही विद्यार्थीले सरकारी छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस अध्ययन गरिरहेका छन्। उनीहरूका लागि गाउँपालिकाको रकम अध्ययन शुल्क तिर्न होइन, प्रोत्साहनका रूपमा हो।

तर प्रीस्ता र दिनबन्धुजस्ता विद्यार्थीका लागि अवस्था फरक छ। उनीहरूलाई अध्ययन खर्चमा प्रत्यक्ष आर्थिक सहयोग आवश्यक छ। त्यसैले गाउँपालिकाले ५० प्रतिशतसम्म छात्रवृत्ति दिने व्यवस्था गरेको छ। प्रीस्ताको अध्ययन शुल्क ४६ लाख रुपैयाँको हाराहारीमा रहेको विवरण छ। उपलब्ध अभिलेखअनुसार उनको अध्ययनका लागि २०८० मा १० लाख, २०८१ मा १० लाख र २०८३ मा ३ लाख रुपैयाँ सहयोग गरिएको छ।

कुल रकमको हिसाब गर्दा यो ठूलो सार्वजनिक लगानी हो। तर यसको मूल्यांकन केवल ‘कति रुपैयाँ खर्च भयो’ भनेर मात्र गर्न सकिँदैन। किनकि त्यसको प्रतिफल सम्भवतः केही वर्षपछि देखिनेछ। जब प्रीस्ता डाक्टर बन्छिन्। जब दिनबन्धु डाक्टर बन्छन्। र जब उनीहरू आफ्नै गाउँमा फर्केर सेवा गर्छन्।

छात्रवृत्तिको बदलामा सेवा
कनकासुन्दरीको एमबीबीएस छात्रवृत्ति कार्यक्रमको सबैभन्दा महत्वपूर्ण शर्त हो, अध्ययनपछि गाउँमा सेवा। दिनबन्धु हमालले गाउँपालिकासँग गरेको कबुलियतनामामा अध्ययन पूरा भएपछि कम्तीमा दुई वर्ष कनकासुन्दरी गाउँपालिकामा रही अनिवार्य सेवा गर्ने प्रतिबद्धता जनाएका कनकासुन्दरी गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए।

उनका अनुसार अध्ययन पूरा नगरी बीचमै छोड्न नहुने, छात्रवृत्ति कार्यविधिको पालना गर्नुपर्ने र गाउँपालिकाले तोकेको स्थानमा सेवा गर्नुपर्ने दायित्व पनि सम्झौतामा राखिएको छ।

छात्रवृत्तिको रकम लिएर अध्ययन पूरा गरेपछि गाउँमा सेवा नगरेमा वा कार्यविधिविपरीत काम गरेको प्रमाणित भएमा गाउँपालिकाले लगानी गरेको रकम तथा निर्धारित ब्याजसमेत असुल गर्न सकिने प्रावधान कबुलियतनामामा उल्लेख गरिएको कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए।

उनका अनुसार यसले छात्रवृत्तिलाई ‘एकतर्फी सहयोग’ नभई ‘दायित्वसहितको सार्वजनिक लगानी’ बनाएको छ।तर यहाँ एउटा महत्वपूर्ण प्रश्न पनि उठ्छ। के दुई वर्षको सेवा पर्याप्त हुन्छ?

दुर्गम क्षेत्रमा चिकित्सकको आवश्यकता हेर्दा सम्भवतः दुई वर्ष निकै छोटो अवधि हो। एक जना चिकित्सकलाई गाउँमा ल्याउन, सेवा प्रणालीसँग जोड्न र समुदायसँग सम्बन्ध बनाउन समय लाग्छ। त्यसैले गाउँपालिकाले विद्यार्थीलाई कम्तीमा दुई वर्षभन्दा लामो समयसम्म गाउँमै सेवा गर्न आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने देखिन्छ।

अध्यक्ष आचार्य भने छात्रवृत्ति पाएका विद्यार्थीलाई आफ्नै गाउँमा दीर्घकालीन रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने पक्षमा छन्। ‘हामीले बनाउँदै गरेको १५ शैयाको अस्पतालमा पनि उहाँहरूलाई काम गर्ने अवसर हुन्छ,’ उनी भन्छन्, ‘पढेर आएपछि आफ्नै ठाउँमा सेवा गर्नुपर्छ। हामी उहाँहरूलाई आवश्यक अवसर र वातावरण दिने सोचमा छौँ।’

कनकासुन्दरीमा निर्माणाधीन स्वास्थ्य पूर्वाधारसँग छात्रवृत्ति कार्यक्रम जोडिएको छ। अर्थात्, गाउँपालिकाले एउटा चक्र बनाउन खोजेको छ, स्थानीय विद्यालय, एमबीबीएस शिक्षा, डाक्टर उत्पादन र गाउँमा सेवा। यदि यो चक्र सफल भयो भने यसको प्रभाव एउटा पुस्ताभन्दा धेरै परसम्म पुग्न सक्छ।

लगानीसँगै उत्तरदायित्व पनि
स्थानीय सरकारको सार्वजनिक स्रोतबाट गरिएको लगानी भएकाले छात्रवृत्ति कार्यक्रम पारदर्शी र उत्तरदायी हुनु आवश्यक छ। कनकासुन्दरीले यसका लागि कार्यविधि बनाएको छ। विद्यार्थीले एमबीबीएस अध्ययनमा नाम निकालेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित मेडिकल कलेजमा अध्ययन गरिरहेको प्रमाण आवश्यक हुन्छ। गाउँपालिकाले छात्रवृत्तिको रकम विद्यार्थीको व्यक्तिगत खातामा नभई सम्बन्धित कलेजको खातामा भुक्तानी गर्ने गरेको कनकासुन्दरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख जीवन रोकायाले बताए।

उनका अनुसार यो व्यवस्थाले सार्वजनिक रकमको दुरुपयोग रोक्ने उद्देश्य राख्छ। छात्रवृत्ति वितरण निश्चित प्रक्रियामार्फत गरिन्छ। विद्यार्थीले सम्बन्धित शिक्षण संस्थाबाट आफ्नो अध्ययनको प्रमाण ल्याउनुपर्छ। त्यसपछि कार्यविधिअनुसार प्रक्रिया अघि बढाइन्छ। यो अभ्यास महत्वपूर्ण छ।

‘किनकि महँगो मेडिकल शिक्षा अध्ययनका लागि स्थानीय सरकारले लाखौँ रुपैयाँ लगानी गर्दा त्यसको प्रत्येक चरण पारदर्शी हुनुपर्छ। कसले पायो? किन पायो? कति रकम पायो? कुन वर्ष कति भुक्तानी भयो? विद्यार्थीको अध्ययन कुन अवस्थामा छ? पढाइ पूरा भएपछि सेवा गर्‍यो कि गरेन? यी प्रश्नको सार्वजनिक अभिलेख राख्न सकिएमा कार्यक्रम अझ विश्वसनीय बन्न सक्छ,’ उनले भने।

विद्यार्थी होइन, भविष्य पढाइरहेको कनकासुन्दरी

कनकासुन्दरीको यो कार्यक्रमलाई एउटा वाक्यमा परिभाषित गर्नुपर्दा भन्न सकिन्छ, यो विद्यार्थी पढाउने कार्यक्रमभन्दा पनि भविष्य निर्माण गर्ने प्रयास हो।

प्रीस्ता र दिनबन्धु अहिले मेडिकल विद्यार्थी हुन्। तर केही वर्षपछि उनीहरू चिकित्सक हुनेछन्। उनीहरूको ज्ञान गाउँमा पुग्नेछ। उनीहरूको सीप गाउँका बिरामीका लागि उपयोगी हुनेछ। उनीहरूले आफ्नै गाउँका विद्यार्थीलाई पनि प्रेरित गर्नेछन्।

सायद कुनै दिन कनकासुन्दरीको कुनै विद्यालयमा पढिरहेको अर्को विद्यार्थीले प्रीस्ता वा दिनबन्धुलाई देखेर भन्नेछ, ‘म पनि डाक्टर बन्छु।’

त्यो सपना अहिलेको छात्रवृत्तिको सबैभन्दा ठूलो सम्भावित प्रतिफल हुन सक्छ। मानव पुँजी निर्माणले पनि विकासको आधार तयार गर्छ र एउटा सक्षम चिकित्सक तयार भयो भने उनले हजारौँ मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्।

त्यसैले कनकासुन्दरीको छात्रवृत्ति कार्यक्रमको मूल्यांकन बजेटको आकारबाट होइन, भविष्यमा यसले उत्पादन गर्ने स्वास्थ्य सेवाको प्रभावबाट हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भण्डारीको बुझाई छ।

‘विद्यार्थीलाई मेडिकल कलेजसम्म पुर्‍याउनु पहिलो चरण हो। उनीहरूलाई गाउँ फर्काउनु दोस्रो र गाउँमै टिकाउनु तेस्रो। यी तीनै चरण सफल भए मात्र छात्रवृत्तिको वास्तविक उद्देश्य पूरा हुनेछ,’ भण्डारी भन्छन्, ‘हामीले छात्रवृत्ति दिएका विद्यार्थीहरू डाक्टर बनेर गाउँ फर्किँदा उनीहरूलाई आधुनिक चिकित्सा अभ्यासका लागि आवश्यक पूर्वाधार चाहिन्छ।’

उनका अनुसार पूर्वाधारको रुपमा अस्पताल बन्दैछ। प्रयोगशाला, औषधि र उपकरणको व्यवस्था गरिनेछ। आवश्यक सहकर्मी स्वास्थ्यकर्मीको व्यवस्थासँगै उनीहरूको व्यावसायिक भविष्यप्रतिको भरोसा पनि निर्माण गरिनेछ।

‘कनकासुन्दरीको अबको जिम्मेवारी केवल छात्रवृत्ति वितरण गर्नु होइन। उनीहरूले उत्पादन गर्न लागेको चिकित्सकलाई स्वागत गर्ने स्वास्थ्य प्रणाली तयार गर्नु पनि हो,’ भण्डारीले थपे।

कनकासुन्दरीले विद्यार्थीहरूलाई एउटा अवसर दिएको छ। अब उनीहरूको जिम्मेवारी त्यो अवसरलाई सफलतामा बदल्नु हो। र गाउँपालिकाको जिम्मेवारी उनीहरूको सफलतालाई गाउँको स्वास्थ्य सेवासँग जोड्नु हो।

यस अर्थमा कनकासुन्दरीको एमबीबीएस छात्रवृत्ति कार्यक्रमको कथा अहिले अधुरो छ। यसको अन्तिम अध्याय केही वर्षपछि लेखिनेछ। सायद कुनै दिन प्रीस्ता हमाल आफ्नो गाउँको अस्पतालमा सेतो कोट लगाएर उभिएकी हुनेछिन्।

कुनै बिरामीको नाडी छामिरहेकी हुनेछिन्। कुनै आमालाई उनको बच्चाको स्वास्थ्यबारे सम्झाइरहेकी हुनेछिन्। कुनै वृद्धलाई औषधि दिइरहेकी हुनेछिन्। र त्यही बेला उनका बुबा पूर्णप्रसाद हमालले छोरीलाई हेरेर सम्झनेछन्, त्यो दिन, जब उनले छोरीलाई भनेका थिए, ‘हाम्रो आर्थिक अवस्थाले तिमीलाई पढाउन सकिँदैन।’

सायद त्यही दिन पनि सम्झना हुनेछ, जब छोरीले हार मान्न लागेकी थिइन्। र त्यो दिन पनि, जब कनकासुन्दरी गाउँपालिकाले उनको आवेदन स्वीकार गरेर भन्यो, ‘तिमी पढ। हामी सहयोग गर्छौँ।’ त्यही सहयोगले आज एउटी छोरी मेडिकल कलेजमा छिन्। एउटा परिवारको सपना जीवित छ र एउटा गाउँले भविष्यमा आफ्नै डाक्टर पाउने आशा गरेको छ।

कनकासुन्दरीबाट सुरु भएको प्रीस्ताको यात्रा अहिले कोहलपुरको मेडिकल कलेजसम्म पुगेको छ। दिनबन्धुको यात्रा पनि त्यही बाटोमा छ। भोलि उनीहरू फर्किए भने त्यो केवल दुई विद्यार्थीको घरफिर्ती हुनेछैन। त्यो एउटा स्थानीय सरकारको लगानीको प्रतिफल हुनेछ। त्यो अभिभावकको त्यागको परिणाम हुनेछ। त्यो विद्यार्थीको परिश्रमको उपलब्धि हुनेछ र त्यो एउटा दुर्गम गाउँको स्वास्थ्य भविष्यतर्फको महत्वपूर्ण पाइला हुनेछ।

तर त्यस दिनसम्म उनीहरूले अझै पढ्नुछ। परीक्षा दिनुछ। प्रशिक्षण लिनुछ। डाक्टर बन्नुछ र त्यसपछि फर्किनुछ। आफ्नै गाउँमा। सायद यही हो कनकासुन्दरीको छात्रवृत्ति कार्यक्रमको सबैभन्दा ठूलो सपना, गाउँलेले आफ्नो छोराछोरीलाई पढाएर शहर पठाओस्, तर उनीहरू ज्ञान लिएर फेरि गाउँमै फर्किऊन्।

किनकि कुनै पनि गाउँको भविष्य केवल सडक, पुल र भवनले बन्दैन। गाउँको भविष्य त्यतिबेला बदलिन्छ, जब त्यही गाउँको एउटा विद्यार्थीले ठूलो सपना देख्छ। जब उसले त्यो सपना पूरा गर्ने अवसर पाउँछ र जब उसले सफलताको शिखरमा पुगेर फेरि आफ्नै माटोतर्फ फर्किने निर्णय गर्छ।

कनकासुन्दरीले अहिले त्यही चक्र सुरु गर्न खोजेको छ। सपनाबाट छात्रवृत्तिसम्म। छात्रवृत्तिबाट शिक्षासम्म। शिक्षाबाट चिकित्सकसम्म। र अन्ततः चिकित्सकबाट गाउँको सेवासम्म। प्रीस्ता र दिनबन्धु अहिले त्यो यात्राको बीचमा छन्। उनीहरूका अगाडि अझै केही वर्षको अध्ययन छ।

तर पछाडि फर्केर हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, आर्थिक अभावले रोक्न लागेको दुईवटा सपना अहिले फेरि दौडिरहेका छन्। कनकासुन्दरीको लगानीले ती सपनालाई गति दिएको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बुढाले बताइन्।

उनले भनिन्, ‘उनीहरु पढेर फर्किए भने, त्यो दिन कनकासुन्दरीको एउटा सानो छात्रवृत्ति कार्यक्रमको कथा ठूलो सामाजिक परिवर्तनको कथामा बदलिनेछ र कुनै दिन, जुम्लाको विकट क्षेत्रमा बिरामीको उपचार गरिरहेकी हुनेछन्।’

अहिले विद्यार्थीले पाएको छात्रवृत्ति र डाक्टर बनेर सेवा गरेको देखेपछि भविष्यमा धेरै विद्यार्थीलाई ‘पैसा नभएर सपना रोकिँदैन। अवसरको बाटो छ। कसैले न कसैले तिम्रो सपनालाई भरोसा गरि सहयोग गर्नेछ।’ भन्ने खालको आशा जाग्ने प्रमुख प्रशासकीय अधिकृत भण्डारीको दाबी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार