शनिबार, ९ जेष्ठ, २०८३

कर्णालीका मान्छेको धड्कन सुनाउने नाटक ‘अछेता’

कर्णालीलाई भौगोलिक सिमा र नक्सामा मात्रै होइन, त्यहाँका मान्छेको धड्कन समेत बुझ्ने हो सके धित मरुन्जेल नसेक कम्तीमा एक पटक ‘अछेता’ हेर्नैपर्छ।

काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा यतिबेला कर्णाली आफै पुगेको छ। निर्देशक गोविन्द सुनारले धूलो, पसिना, आँसु, मागल, देउडा, आरनको टनटनाहट र नवजात शिशुको रुवाइलाई काठमाडौंलाई देखाइरहेका छन्।

निर्देशक सुनारको सिर्जनामा तयार भएको यो नाटक रंगमञ्चीय प्रस्तुति मात्र नभई राज्यको उपेक्षामा परेका समुदायहरूको सामूहिक पीडाको सशक्त अभिव्यक्ति हो। ‘यो मेरो कथा हो, मैले जिएको स्मृति हो,’ उनले भने, ‘मैले भोगेको यथार्थलाई मञ्चमा राखेको हुँ। बाँकी महसुस गर्ने जिम्मा दर्शकको हो।’

कला घरको प्रस्तुति रहेको ‘अछेता’ जेठ २५ गतेसम्म हरेक साँझ ५:१५ बजे मञ्चन भइरहेको छ। शनिबार दिउँसो विशेष शो समेत राखिएको छ। नाटकको शीर्षक नै यसको प्रतीक हो। अछेता अर्थात् पूजा र शुभकार्यमा प्रयोग हुने चामल, जुन कसैका लागि फलिफाप हो, कसैका लागि अभिसाप।

नाटकको केन्द्रमा छन् दलबहादुर कामी र उनकी पत्नी गीता। दले आरनमा फलाम पिट्छन्, मूर्ति बनाउँछन्, समाजका लागि श्रम गर्छन्। तर त्यही समाजले उनलाई मन्दिरको देउता छुन दिँदैन। श्रीमती गीता आफ्ना तीन सन्तानमध्ये दुई गुमाइसकेकी छिन्। तेस्रो नवजात शिशु पनि ज्वरोले छटपटाइरहेको छ।

‘जसरी पनि छोरोलाई अस्पताल लैजानुपर्छ,’ गीता श्रीमानसँग आग्रह गर्छिन्। तर गरिबी, अस्पतालको अभाव, दूरी र अन्धविश्वासले उनीहरूलाई घेरिरहेको हुन्छ। दले उपचारभन्दा धामीको अछेतामा भरोसा गर्छन्। अन्ततः उपचार नपाएर शिशुको मृत्यु हुन्छ।

दलितको श्रम र सीप चाहिन्छ तर उसको स्वामित्व गुमेसँगै छुन पाउँदैन। नाटकले कर्णालीको सामाजिक संरचनाको गहिरो विरोधाभास उजागर गर्छ। दलेले बनाएको मूर्ति मन्दिरभित्र प्रतिष्ठापित हुन्छ, तर मूर्ति बनाउने हातलाई मन्दिरभित्र पस्न निषेध गरिन्छ।

कथित माथिल्लो जातका पात्रलाई धामीले सम्मानपूर्वक अछेता दिन्छन्, तर दलेलाई छुट्टै र अपमानजनक ढंगले केही गेडा चामल फ्याँकिन्छ। यही सानो दृश्यले समाजको ठूलो असमानता उजागर गर्छ।

नाटक हेरिसके पछि कवि तथा लेखक मिम बहादुर परियार भन्छन्, ‘नाटक अछेता, खस सभ्यता तथा मष्टो परम्पराको जिवन्त गाथा हो। जो कर्नालीको कथा हो। यसभित्र रहेका प्रत्येक दृश्य र संवादले मन छुन्छन्।’

उनका अनुसार नाटक हेर्दा घरि हाँसोले मन प्रफुल्ल हन्छ। दल र गीताको अर्गानिक प्रेम कथाले एकछिन मन पाटनतिर लैजान्छ। अझ भनौं सकुन् प्राप्त हुन्छ। घरि कुसंस्कारले भरिएको जात व्यवस्था मन अमिलो बनाउँछ।

‘अछेता’को अर्को सशक्त पक्ष भनेको यसको सांस्कृतिक प्रस्तुति हो। मागल, देउडा, असारे भाका, बालो नाच, ठाडी भाका र स्थानीय बोलीले दर्शकलाई काठमाडौँबाट सीधै कर्णाली पुर्‍याउँछन्।

कवि देव व्रतका अनुसार नाटक सुन्दर र शानदार बनेको छ। जसलाई शब्दमा वर्णन गर्न सम्भव छैन। उनी भन्छन्, ‘यो अनुभूति गर्ने कुरा हो। तपाईं कर्नाली-सुदूरपश्चिमको हुनुहुन्छ भने यो नाटक नछुटाउनुस्। कर्नाली-सुदूरपश्चिमबाहेक अन्य क्षेत्रको हुनुहुन्छ भने त झन् नछुटाउनुस्।’

‘कर्णालीका सुइना हाम्मा सुइना भन्ने वाक्य सुन्दा पहाडको चिसो हावामा न्यानो घाम लागेजस्तो अनुभूति हुन्छ,’ नाटक टोलीले प्रचार सामग्रीमा लेखेको छ। मञ्च सजावटमा कमेरोले लिपेको घर, आरन, ध्वजा, देउताको थान र गाग्रीले कर्णालीको रैथाने जीवनलाई जस्ताको तस्तै उतारेका छन्।

नाटकमा दिपेश खत्री, दानराज न्यौपाने, झकेन बी.सी., सुस्मिता कुँवर, सुवाश खत्री, केशव रोकाया, जमुना शाही, जुनमाया परियार, गोमा खत्री, आरती बुढा, अप्सरा के.सी., कल्पना मल्ल र बाल कलाकार शिवानी परियारको अभिनय रहेको छ।

निर्देशक सुनारले भने, ‘धेरै कलाकारहरू पहिलो पटक मञ्चमा उभिएका हुन्। तर उनीहरूले आफ्नै जीवनको कथा खेलेका छन्, त्यसैले अभिनयमा कृत्रिमता छैन।’

रंगकर्मी सनिल पोखरेलले नाटक हेरेपछि अछेता हेर्दा कर्णाली भूगोल मात्र होइन, एउटा जीवित अनुभव हो भन्ने महसुस हुन्छ भनी बोले।

फेसबुकमा सुशीला तामाङ निर्देशक सुनारको प्रसंशा गर्दै लेख्छिन्, ”निर्देशकले नाटक ‘अछेता’ मार्फत कर्णालीलाई बोकेर राजधानीमा लगेका छन्। त्यसकारण यो केवल नाटकमै मात्र सीमित छैन। यो त कर्णालीको यथार्थता र कर्णालीबासीको भोगाइ हो।’

निर्देशका सुनार आफै पनि नाटकलाई समुदायको स्वरको गुञ्जन मान्छन्। उनका अनुसार इतिहासका आधिकारिक पानामा नलेखिएपछि सिमान्त मान्छेले आफ्नो इतिहास आफै लेख्ने गरेको प्रयास हो।

‘अछेता’ले जातीय विभेदको मात्र कथा भन्दैन। यसले राज्यको बेवास्ता, स्वास्थ्य सेवाको अभाव, गरिबी, पितृसत्ता र अन्धविश्वासलाई पनि एकैसाथ प्रश्न गरेको सहनिर्देशक धनराज सुनारले बताए।

‘देउताका लागि मूर्ति बनाउन सकिन्छ, अछेता चढाउन सकिन्छ, तर बच्चा बचाउन अस्पताल पुग्न सकिँदैन,’ उनले भने, ‘हामीले भोगेको यही हो। नाटकको यही कटु यथार्थ बोल्छ।’

नाटकको अन्त्यमा मृत शिशुसँगै देउताको ध्वजा, घण्टी र अछेता गाडिन्छ। यो दृश्यलाई शोक नभई अन्धविश्वासमाथिको मौन विद्रोह मान्छिन्, नेकपा एमालेकी नेतृ वृन्दा पाण्डे।

‘नाटकले कर्णालीका मान्छेले यतिसम्मको पीडा भोगेका रहेछन् भन्ने देखाउँछ,’ उनी भन्छिन्, ‘काठमाडौं बसेर कर्णालीलाई दुर्गम मात्रै देख्ने हामीलाई यसले यो विद्रोह हो भन्ने सन्देश दिएको छ।’

‘अछेता’ कर्णालीको आवाजको प्रतिबिम्ब भएको गायक रतन देवकोटाको भनाइ छ। उनका अनुसार समाजको यथार्थ चित्रण गर्ने शक्तिशाली नाटक हो।

‘नाटकले कर्णालीको माटो, भाषा, संस्कार र संघर्षलाई जस्ताको तस्तै राजधानीमा ल्याएको छ। यहाँ मनोरञ्जनभन्दा बढी आत्ममन्थन छ, आँसु छ, प्रश्न छ र परिवर्तनको आह्वान छ,’ उनले भने।

कर्णालीलाई भौगोलिक सिमा र नक्सामा मात्रै होइन, त्यहाँका मान्छेको धड्कन समेत बुझ्ने हो सके धित मरुन्जेल नसेक कम्तीमा एक पटक ‘अछेता’ हेर्नैपर्छ। नाटकले केही समयका लागि मञ्चमा होइन, जीवनकै कठोर यथार्थभित्र पुर्‍याउनेछ।

हेर्‍या है मान्ठौ!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार