भ्रष्टाचार विरुद्धको सशक्त अभियानलाई संगठित ढंगले अगाडि बढाउने उद्देश्यसहित ‘जेनजी’ समूहको जिल्ला समिति कालिकोटमा गठन गरिएको छ।
“भ्रष्टाचार मुक्त समाज” निर्माणको अठोटका साथ अघि बढिरहेको यस अभियानले युवालाई नेतृत्वमा ल्याउँदै सामाजिक रूपान्तरणको मार्ग तयार गरिरहेको छ।
जिल्ला संयोजकको भूमिकामा पदम बुढालाई चयन गरिएको छ भने, ११ सदस्यीय जिल्ला समिति र ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ।
समावेशी नेतृत्वका साथ अगाडि बढिरहेको यस अभियानले “भ्रष्टाचार अन्त्य – न्यायपूर्ण समाजको सुरुवात”, “इमान्दारिता हाम्रो शक्ति – भ्रष्टाचार हाम्रो दुश्मन”, र “भ्रष्टाचार रहित सम्मान हाम्रो अभियान” जस्ता नाराहरूलाई अभियानको मूल मर्म बनाएको छ।
जेनजी कालिकोटले सातवटै मुख्य मागहरू सार्वजनिक गर्दै, ती मागहरूको कार्यान्वयनबाट मात्र सुशासन र समृद्धिको मार्ग खुल्ने विश्वास व्यक्त गरेको छ।
समूहका मागहरूमा पहिलो प्राथमिकता भ्रष्टाचारको अन्त्य र इमानदारीपूर्ण सामाजिक व्यवहारलाई स्थापना गर्नु रहेको छ। इमानदार नागरिकमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सकिने विश्वास समूहले राखेको छ।
त्यस्तै, सुशासन र न्याय प्रणालीको पूर्ण कार्यान्वयन, गुणस्तरीय शिक्षा र सीपमूलक अवसरको सुनिश्चितता, तथा सबै युवालाई प्रविधि र नवप्रवर्तनमा पहुँच पुर्याउनुपर्ने माग पनि समूहले अघि सारेको संयोजक बुढाले बताए।
उनका अनुसार रोजगारी तथा उद्यमशीलताको ग्यारेन्टीमार्फत युवालाई स्वावलम्बी बनाउने र आजैबाट भ्रष्टाचारविरुद्धको अभियान सुरु गर्न सबै नागरिकलाई आह्वान गर्ने विषयसमेत समूहको एजेण्डामा छ।
समूहले आगामी दिनहरूमा जनचेतनामूलक कार्यक्रम, नीति संवाद, र युवामैत्री पहलहरूमार्फत स्थानीय तथा राष्ट्रिय तहमा दबाब सिर्जना गर्दै जाने योजना सार्वजनिक गरेको छ।
संयोजक बुढाका अनुसार, जेनजी समूह कुनै पार्टीगत प्रभावभन्दा बाहिर रहेर सम्पूर्ण नागरिक समाजको हितमा काम गर्ने युवा आन्दोलनको रूपमा स्थापित हुँदैछ।















