शनिबार, १० आश्विन, २०८३

जुम्लामा विश्व फार्मासिस्ट दिवस मनाइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयको आयोजना तथा कर्णाली प्राविधिक शिक्षालयको सहकार्यमा विश्व फार्मासिस्ट दिवस २०२६ विविध कार्यक्रमसहित जुम्लामा सम्पन्न भएको छ।

फार्मेसी महाविद्यालयका विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा दुवै संस्थामा फार्मेसी अध्ययनरत विद्यार्थी, प्राध्यापक, अस्पतालमा कार्यरत फार्मासिस्ट तथा सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा फार्मेसी महाविद्यालयका उपप्राध्यापक रमेशराज पाध्याय प्रमुख अतिथि तथा कर्णाली प्राविधिक शिक्षालयका निबन्ध चौलागाईं विशिष्ट अतिथि थिए।

कार्यक्रममा फार्मेसी शिक्षा, औषधिको सुरक्षित प्रयोग, अनुसन्धान, गुणस्तर सुनिश्चितता तथा जनस्वास्थ्यमा फार्मासिस्टको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो।

फार्मेसी औषधि बिक्रीमा मात्र सीमित विषय नभई औषधिको खोज, अनुसन्धान, विकास, उत्पादन, गुणस्तर, सुरक्षित वितरण र विवेकपूर्ण प्रयोगसँग जोडिएको स्वास्थ्य विज्ञान भएको बताएका उपप्राध्यापक पाध्यायले बताए।

कार्यक्रममा नेपालमा दर्ता भएका ८ हजार ५६३ फार्मासिस्ट र १७ हजार ६९२ फार्मेसी सहायक रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।

देशभर एक लाखभन्दा बढी फार्मेसी पसल रहेको सन्दर्भमा प्रत्येक फार्मेसीमा योग्य जनशक्तिको उपलब्धता सुनिश्चित गर्न ‘एक पसल, एक फार्मासिस्ट’ अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

‘फार्मेसी केवल पेशा होइन, मानव सेवाको माध्यम हो’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विद्यार्थीमा पेशागत जिम्मेवारी, सेवाभाव र जनस्वास्थ्यप्रतिको उत्तरदायित्व अभिवृद्धि गर्ने अपेक्षा गरिएको डा. निबन्ध चौलागाईंले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार