रसुवाको हाकु–जेबी–२१६ सुरुङमार्गमा फसेका नागरिकको उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधिको अभाव रहेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र (बालेन) शाहको ध्यानाकर्षण गराएका छन्।
नेपाली सेना ज्यानको बाजी लगाएर उद्धार कार्यमा खटिए पनि आधुनिक विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक पर्याप्त उपकरण र प्रविधि नभएको शाहीले बताएका छन्। उनका अनुसार तीन दिनदेखि नेपाली सेना सुरुङमार्गमा पटक–पटक उद्धारका लागि पुगे पनि सुरुङभित्र प्रवेश गर्न आवश्यक पर्ने सामान्य हेडलाइटसमेत पर्याप्त नभएको अवस्था छ।
उचित रेस्क्यु उपकरण, अत्याधुनिक प्रविधि तथा विशेष उद्धार क्षमताको अभावका कारण सुरुङभित्र फसेका नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न कठिन भइरहेको शाहीको भनाइ छ।
शाहीले प्रधानमन्त्री शाहलाई नेपाली सेनाका लागि तत्काल आधुनिक रेस्क्यु उपकरण, विपद् व्यवस्थापनका अत्याधुनिक सामग्री तथा आवश्यक प्रविधि खरिद गरी उपलब्ध गराउन विशेष अपिल गरेका छन्।
‘सेनासँग साहस र इच्छाशक्ति छ, तर उद्धारका लागि आवश्यक आधुनिक साधन पनि हुनुपर्छ,’ शाहीले भनेका छन्।
उनले अहिलेको विपद्मा मात्रै नभई आगामी दिनमा आउन सक्ने बाढी, पहिरो, भूकम्प, सुरुङ दुर्घटनालगायतका विपद्मा हजारौँ नेपालीको जीवन बचाउन सक्ने गरी नेपाली सेनालाई स्रोत, साधन र आधुनिक प्रविधिसहित सक्षम बनाउन सरकारसँग आग्रह गरेका छन्।















