मंगलवार, ९ भाद्र, २०८३

कनकासुन्दरीका युवा–युवतीलाई विपद् प्रथम उद्धारसम्बन्धी तीन दिने तालिम सम्पन्न

कनकासुन्दरी गाउँपालिकाका युवा–युवतीलाई लक्षित गरी सञ्चालन गरिएको तीन दिने ‘विपद् प्रथम उद्धार’ सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम सम्पन्न भएको छ।

प्लान इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा पिस नेपाल जुम्ला र सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्लाको साझेदारीमा सञ्चालित ‘सशक्त बालिका सुरक्षित समुदाय परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो।

तालिममा कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्मका २१ जना युवा–युवतीको सहभागिता रहेको थियो। ग्रामीण तथा दुर्गम क्षेत्रमा हुने आगलागी, बाढीपहिरो, भूकम्पलगायत प्राकृतिक तथा गैरप्राकृतिक विपद्का समयमा स्थानीय स्तरमै तत्काल उद्धार तथा पूर्वतयारी गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिमका क्रममा सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले सहभागीलाई विपद् व्यवस्थापनका आधारभूत सिद्धान्त, प्राथमिक उपचार, घाइतेको सुरक्षित उद्धार तथा डोरी र घरेलु सामग्रीको प्रयोग गरी उद्धार गर्ने विधिबारे प्रशिक्षण दिएका थिए।

त्यस्तै, बस्तीमा आकस्मिक रूपमा हुने आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रक उपकरणको प्रयोग गर्ने तरिकाबारे प्रत्यक्ष प्रयोगात्मक अभ्याससमेत गराइएको थियो। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा जोड दिइएकाले सहभागीले विपद्का बेला तत्काल अपनाउनुपर्ने सुरक्षा तथा उद्धारका उपायबारे प्रत्यक्ष सिकाइ हासिल गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार